+
+

चन्द्रयान ३ : चन्द्रमामा के गर्दैछ भारत ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १०:४५

आगामी जुलाई १४ तारेखको दिउसो २ः३५ बजे चन्द्रयान ३ नामक अन्तरिक्षयानलाई चन्द्रमामा प्रक्षेपण गर्ने घोषणा भारतीय अन्तरिक्ष अनुसन्धान परिषद अर्थात् इसरोले गरेको छ ।

इसरोका सुरुवाती दुई अभियान पश्चात् यो तेस्रो प्रयास हाहे जसलार्य चन्द्रयान २ को फलोअप मिसनका रुप्मा पनि हेरिएको छ ।

यो मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङको प्रयास हुनेछ जुन सफलता अहिलेसम्म केवल रुस, अमेरिका र चीनले मात्र हासिल गर्न सकेका छन् ।

यसका साथै इसरोले आफ्नो पहिलो सूर्य अभियान आदित्य एल १ को पनि घोषणा गरेको छ । जसलाई आगामी अगष्ट महिनामा प्रक्षेपण गर्ने बताइएको छ । तर अहिलेका लागि सर्वाधिक चर्चाको विषय चाहिं चन्द्रयान ३ नै रहेको छ ।

कहिले प्रक्षेपण हुन्छ चन्द्रयान ३ ?

इसरोका प्रमुख एस सोमनाथले गत बुधबार अर्थात् जून २८ मै चन्द्रयान ३ प्रक्षेपणका लागि तयार रहेको बताएका थिए ।

उनले भनेका थिए – चन्द्रयान ३ अन्तरिक्षयानलाई पूर्णरुपमा जडान गरेर सबै परीक्षण गरिसकिएको छ ।

चन्द्रयान ३ लाई आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिनेछ । एलएमभी थ्री रकेटमा यसको प्रक्षेपण हुनेछ जसलाई पहिले जिएसएलभी मार्क थ्री को नामले चिनिन्थ्यो ।

चन्द्रयान ३ को उद्देश्य के हो ?

चन्द्रयान ३ मिसनको कूल बजेट करिब ६अर्ब १५ करोड भारु रहेको छ । इसरोले यो मिसनका तीनवटा अहम लक्ष्य बताएको छ ।

चन्द्रयान २ मा जस्तै चन्द्रयान ३ मा पनि एउटा ल्याण्डर (त्यो अन्तरिक्ष यान जुन चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिंग गर्नेछ) र एउटा रोभर (त्यो अन्तरिक्षयान जुन चन्द्रमाको सतहमा घुम्नेछ) रहनेछ ।

यो यान चन्द्रमाको सतहमा पुगेसँगै ल्याण्डर र रोभर समान रुपमा लूनर डे अर्थात् १४ दिनका लागि सक्रिय हुनेछन् ।

इसरोको चन्द्र अभियानको लक्ष्य चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिंग गराउनु हो ।

उसले गत सन् २०१९ को सेप्टेम्बरमा चन्द्रयान २ लाई चन्द्रमामा अवतरण गराउने प्रयास गरेको थियो तर त्यसबेला उसको विक्रम ल्याण्डर क्षतिग्रस्त भएको थियो ।

त्यसबेला इसरो प्रमुखले भनेका थिए, ‘अर्बिटरबाट प्राप्त तस्वीरबाट लाग्छ कि चन्द्रमाको सतहमा विक्रम ल्याण्डरको जोडसँग अवतरण भयो । चन्द्रमाको परिक्रमा गरिरहेको अर्बिटरले विक्रम ल्याण्डरको थर्मल तस्वीर लिएको छ ।’

कुनै पनि अन्तरिक्षयानको चन्द्रमामा हुने अवतरण २ प्रकारका हुन्छन् । एउटा सफ्ट ल्याण्डिंग र अर्को हार्ड ल्याण्डिंग । सफ्ट ल्याण्डिंगमा अन्तरिक्ष यानको गति कम हुन्छ र विस्तारै चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण हुन्छ भने हार्ड ल्याण्डिंगमा अन्तरिक्षयान चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटना हुन्छ ।

चन्द्रयान २ बाट प्राप्त शिक्षाको आधारमा इसरोले आफ्नो आगामी अभियानको डिजाइन र बनावटमा परिवर्तन गरेको छ ।

चन्द्रयान ३ मा पनि इसरोले ल्याण्डरको नाम विक्रम र रोभरको नाम प्रज्ञान राख्ने बताइएको छ ।
यो चन्द्र मिसनले चन्द्रमाको सतहमा रासायनिक तत्व तथा माटो, पानीका कणजस्ता प्राकृतिक स्रोतसाधनहरुको अध्ययन गर्नेछ । यसले चन्द्रमाको बनावटका विषयमा थप जानकारी संकलन गर्नेछ ।

वैज्ञानिक परीक्षणका लागि यो यानले विभिन्न उपकरणहरु पनि लिएर चन्द्रमामा जानेछ । जसमा सिस्मोमिटर पनि रहेको छ ताकि चन्द्रमामा आउने भूकम्प मापन गर्न सकियोस् । साथै चन्द्रमाको सतहको तापमान तथा त्यहाँको वातावरणका अन्य तत्वहरुको बारेमा पनि अनुसन्धान हुनेछ ।

चन्द्रयान ३ मा स्पेक्ट्रो पोलारिमेट्री अफ भिजेटेबल प्लानेट अर्थ अर्थात् एसएचएपीई नामक उपकरण पनि हुनेछ । यसले चन्द्रमाको कक्षका स साना ग्रहहरु हाम्रो सौर्यमण्डल बाहिर रहेका अन्य ग्रहहरुका बारेमा पनि जानकारी प्राप्त गर्न महत्वपूर्ण सावित हुनेछ ।

चन्द्रयान ३ किन महत्वपूर्ण छ ?

चन्द्रयान ३ को अभियान केवल भारतका लागि मात्र नभई पूरै विश्वका वैज्ञानिक समुदायका लागि महत्वपूर्ण छ ।

यो यानको ल्याण्डर चन्द्रमाको त्यस सतहमा जानेछ जसका बारेमा हालसमम कुनै पनि जानकारी उपलब्ध छैन । यसले केवल चन्द्रमाको बारेमा मात्र नभई अन्य ग्रहहरुका विषयमा पनि भविष्यको अन्तरिक्ष अनुसन्धानको क्षमता विकास गर्ने दाबी गरिएको छ ।

भारतका यसअघिका अन्तरिक्ष अभियानमा के भएको थियो ?

भारतको चन्द्र अभियान अन्तरगत चन्द्रयान ३ तेस्रो मिसन हो, यसलाई भारतीय चन्द्र अन्वेषण कार्यक्रम पनि भनेर चिनिन्छ ।

भारतले आफ्नो पहिाले चन्द्र अभियान सन् २००८ मा चन्द्रयान १ को नामबाट प्रक्षेपण गरेको थियो । त्यसमा एउटा अर्बिटर र इम्प्याक्ट प्रोब पनि थियो तर यो चन्द्रमाको शेकलटन क्रेटर नजिकै दुर्घटनाग्रस्त भयो । त्यो दुर्घटनास्थललाई जवाहर विन्दु को नाम दिइयो । चन्द्रयान १ सँगै भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको थियो । त्यसअघि अमेरिका, रुस र जापानले चन्द्रमामा आफ्नो यान पठाइसकेका थिए ।

प्रक्षेपण गरिएकेा ३१२ दिनपछि चन्द्रमामा रहेको यानसँग सम्पर्क विच्छेद भएकेा थियो । तर सम्पर्क विच्छेद हुनुअघि सो मिसनको ९५ प्रतिशत लक्ष्य पूरा भएको दाबी गरियो ।

वास्तवमा त्यसबेला प्राप्त मिश्रित सफलता भारतको अन्तरिक्ष कार्यक्रममा एक महत्वपूर्ण कदम थियो । त्यसपछि चन्द्रयान २ ले पनि चन्द्रमामा पानीका कण खोज्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

सन् २०१९ केा जुलाई २२ मा विक्रम ल्याण्डर र प्रज्ञान रोभरले युक्त चन्द्रयान २ भारतले प्रक्षेपण गरेको थियो । तर सेप्टेम्बर ६मा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिंगको कोसिस हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुट्यो । त्यसको ३ महिनापछि नासाको स्याटेलाइटले दुर्घटनाग्रस्त ल्याण्डरको भग्नावशेष फेला पारेर त्यसको तस्वीर सार्वजनिक गर्‍यो ।

चन्द्रयान २ को विक्रम ल्याण्डर असफल भएपनि अर्बिटरले भने चन्द्रमा र यसको वातावरणका बारेमा महत्वपूर्ण जानकारीहरु संकलन गरिरह्यो । र, अब चाहिं भारतले आफ्नो तेस्रो चन्द्र मिसनका रुपमा चन्द्रयान ३ प्रक्षेपण गर्दैछ ।

चन्द्र अभियानमा यतिधेरै खर्च किन ?

कतिपयले यसलाई नयाँ युगको अन्तरिक्ष दौड पनि भनिरहेका छन् र कतिपयले यसलाई आफ्नो प्राविधिक क्षमताको प्रदर्शन गर्ने होडबाजी र अवसर पनि भनेका छन् ।

जहाँसम्म भारतको सवाल छ, चीनसँगको यसको प्रतिस्पर्धालाई नकार्न सकिन्न । चीनले चांग इ ६, चांग इ ७ र चांग इ ८ मिसनलाई स्वीकृति प्रदान गरिसकेको छ । साथै रुससँग मिलेर चन्द्रमामा एउटा अनुसन्धान स्टेशन पनि बनाउने योजना चीनको छ ।

तर अन्तरिक्ष दौडका अलावा यस्ता सबै अभियान भविष्यको चन्द्र अभियानका लागि निकै महत्वपूर्ण छन् । यी अभियानहरुको मंगल मिसनका लागि समेत खास महत्व छ ।

पोर्टस्माउथ विश्वविद्यालयको अन्तरिक्ष परियोजनाका व्यवस्थापक डाक्टर लुसिन्डा किंग भन्छिन्, ‘पृथ्वीबाट टाढा अन्तरिक्षमा जानुको साटो यदि चन्द्रमाबाटै त्यहाँ जाने प्रयास भयो भने त्यसका लागि कम इन्धनले पुग्नेछ ।’

भविष्यमा केही अभियानहरुका क्रममा चन्द्रमामा यस्ता विभिन्न अत्यावश्यक चिजहरु पनि पठाइनेछ जसका कारण चन्द्रमामा पुग्ने मानिसहरु लामो समयसम्म त्यहाँ बस्न सकुन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?