+
+

‘कुटाइ खाएपछि काममा जान सकिनँ, माथा घुमिरहन्छ’

‘ड्युटी सकेर फर्कंदै थिएँ, म गाडीलाई कटाएर आफ्नो बाटो जाँदैथिएँ । कसरी मलाई हान्यो मैले थाहा नै पाइनँ, म त बेहोश भइहालेछु । होश आउँदा प्रहरीको भ्यानमा थिएँ ।’

हरि अधिकारी हरि अधिकारी
२०८० असार २६ गते २०:२०

२६ असार, विराटनगर । विपरीत दिशाबाट आउँदा अमानवीय कुटपिटको शिकार भएका विराटनगर-६ का २७ वर्षीय पवन साह आरती स्टील उद्योगका मजदुर हुन् । ६ महिनादेखि उद्योगमा काम गरिरहेका उनको सिफ्टको काम बेलुका ८ बजे सकिने गर्छ । उद्योगबाट उनको घर ६ किमी टाढा छ । उनी उद्योगमा सोही बाटो साइकलबाटै जाने गर्छन् ।

६ महिनायता एकैनास यो बाटो हिंडिरहेका साहमाथि २० असारमा यस्तो आक्रमण भयो । उपचारपछि घरमा आराम गरिरहेका उनी काममा जान सकिरहेका छैनन् ।

आफ्नै गतिमा साइकलमा आइरहेका उनलाई विपरीत दिशाबाट आउँदै गरेको कार रोकेर उत्रिएका आयुष भेटवालले अनुहारमा मुक्का प्रहार गरेका हुन् । मुक्का प्रहारबाट ढलेका उनलाई फेरि घिसारेर किनारामा फालेर आयुष भागेका थिए । उनलाई पवनको साइकल फाल्नका लागि कुशल भेटवालले सघाए । पवन बेहोश भएर लडेको केही समयपछि मात्रै प्रहरीलाई खबर पुग्यो । करिब ९ बजे प्रहरीले उठाएर उनलाई कोशी अस्पताल पुर्‍यायो ।

‘ड्युटी सकेपछि म घर फर्कंदै थिएँ, त्यहाँ आएपछि मलाई थाहा छैन’ पवनले भने, ‘होश आउँदा प्रहरीको भ्यानमा थिएँ ।’ आफूलाई किन र कसरी आक्रमण भयो उनले थाहा पाएका छैनन् । ‘त्यहाँबाट आउँदै गर्दा त्यो गाडी रोकियो, म गाडीलाई कटाएर आफ्नो बाटो जाँदैथिएँ’ उनले भने, ‘कसरी मलाई हान्यो मैले थाहा नै पाइनँ, म त बेहोश भइहालेछु ।’

गलत साइडमा भएकै कारण देखाएर भेटवालले प्रहार गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार गलत साइडबाट आउँदै गरेको देखेपछि किनारमा बा १५ च ३४४५ नम्बरको कार रोकेर त्यसमा सवार विराटनगर ४ कै १९ वर्षीय भेटवालले अमानवीय व्यवहार गरेका हुन् ।

आयुषले उत्रिएर कुटेपछि कारबाट १८ वर्षीय कुशल भेटवाल पनि ओर्लिएर आए । सडकमा ढलेका पवन साहको साइकल कुशलले किनारामा मिल्काइदिए । बेहोश भएका पवनलाई आयुषले घिसारेर सडक किनारामा छाडिदिए । कारमा सवार ३० वर्षीय रोशन कार्कीले यो सबै हेरिरहे ।

कुटपिट गर्ने भेटवाललाई घटनाको एक दिनपछि २१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

‘घटनापछि हामीलाई जानकारी आयो, तत्काल प्रहरीले मान्छेलाई अस्पताल पठाएर सिसी क्यामेरा फुटेज हेर्दा क्रूर घटना देखियो’ उनले भने, ‘भिडियो हेरेपछि रातिदेखि नै आक्रमणकारी खोज्न प्रहरी परिचालन भयो, २१ गते आयुष भेटिए ।’

प्रहरी स्रोतका अनुसार आयुषले मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको झोंकमा गलत साइडमा हिंडेको भन्दै कुटपिट गरेको स्वीकार गरेका छन् । आक्रमणको अवस्था हेर्दा मान्छेको मृत्यु भए जस्तै देखिएको प्रहरी स्रोत बताउँछ । ‘धन्न मान्छे बाँच्यो’, प्रहरी स्रोतले भन्यो ।

पक्राउ परेका भेटवाललाई ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी दाहालले बताए । फरार रहेका दुई जनाको खोजी भइरहेको पनि उनले बताए ।

घटनाका घाइते पवन घरमा आराम गरिरहेका छन् । उनलाई अझै पनि स्वास्थ्यमा समस्या भने छ । अहिले पनि आफ्नो टाउकोमा समस्या रहेको उनले बताए । ‘अहिले म काममा जान सकेको छैन, घरमा बसिरहेको छु’ उनले भने, ‘माथा (टाउको) घुमिरहन्छ, जीउ पनि दुख्छ ।’

डाक्टरले आफूलाई १० दिनको दबाई दिएको र आक्रमण गर्ने व्यक्तिको परिवारले उपचार गर्ने आश्वासन दिएको पनि उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?