+
+

प्रचण्डको असल सल्लाहकार सीता

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८० असार २७ गते १९:४२
२०६४ सालमा बेगनास तालमा प्रचण्ड र सीता दाहाल । तस्वीर : सुदर्शन रञ्जित ।

२ असार २०६३ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला कास्कीको सिक्लेस पुगे । त्यहाँ थिए, माओवादी ‘सुप्रिमो’ प्रचण्ड दम्पती । सोही दिन प्रचण्ड दम्पती सहित माओवादी नेताहरू बालुवाटार उत्रिए ।

यो यात्रा र अवतरणको जग ७ मंसिर २०६२ मा सम्पन्न सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीचको १२ बुँदे समझदारीले निर्माण गरेको थियो ।

सिक्लेसबाट काठमाडौं उड्नुअघि माओवादी नेता कार्यकर्ता लाइनमा उभिएर प्रचण्ड लगायत माओवादी नेतृत्वलाई बिदाइ गर्दै थिए। सबैसँग हात मिलाउँदै बिदा भइरहँदा प्रचण्डले सेल्टरमा केही कुरा बिर्सिएछन् । ‘मैले एउटा सामान बिर्सिएछु, लिएर आउँछु है’ प्रचण्डले भनिरहँदा एक महिलाले भनिन्, ‘यो बिर्सने बानी कहिल्यै नजाने भयो है, यो बानीले दुःख पाउनुहुन्छ ।’

देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई यसरी ‘सचेत’ गराउने ती महिला थिइन्, सीता दाहाल । त्यसो त, पार्टीभित्र संकट चुलिएको बेला उनी पार्टीका शीर्ष नेताहरूलाई पार्टी विभाजन नगर्न चेतावनी दिन्थिन् ।

२०६१ भदौमा रोल्पामा सम्पन्न फुन्टिवाङ बैठक अघि सीता दाहाल उपचारको क्रममा भारतमा थिइन् । उक्त बैठकपछि माओवादी विवाद उत्कर्षमा पुग्दै विभाजन उन्मुख बन्यो ।

खबर पाउनासाथ उनी नेपाल फर्किइन्, प्रचण्ड र बाबुराम दुवैलाई सकेजति सम्झाइन् । ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ । तर तपाईंहरू झिनामसिना कुरामा अड्किएको जस्तो लाग्यो मलाई’ उनले भनेकी थिइन्, ‘तपाईं (बाबुराम) को पनि गल्ती छ । उहाँ (प्रचण्ड) ले पनि थोरै कमजोरी गर्नुभएको छ ।’

चुनवाङ बैठकमा पनि सहभागी उनले प्रचण्ड–बाबुरामलाई नै भनिन्, ‘यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् ।’

एक गृहिणीबाट भूमिगत राजनीतिमा सक्रिय सहभागी भएर पार्टी सदस्य हुँदै केन्द्रीय सदस्य र सल्लाहकारको भूमिकामा पुगेकी सीताले आवश्यक परेका बेला कुन तहको सल्लाह दिन्थिन् भन्ने बुझाउने यो एउटा उदाहरण हो । यस्तै भूमिकाले पार्टीभित्र उनलाई पहिलो पुस्तामा अधिकांशले भाउजु र दोस्रो–तेस्रो पुस्ताका नेताले आमा भनेर सम्बोधन गर्थे ।

पार्टी पंक्तिभित्र सीता आमाको पहिचान बनाएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको आज निधन भएको छ । चिकित्सकका अनुसार, पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल हृदयघातबाट बितिन् । बाहिरबाट हेर्दा उनी रोगले बितिन्, तर रोग जन्माउने विभिन्न घटनाको लामो र कष्टपूर्ण उनले बाँचेको जीवन अत्यासलाग्दो छ ।

पढेलेखेका दाहालसँग मागी विवाह

सीताको माइती दाहालको भन्दा सम्पन्न थियो । बिहेका लागि धेरै ठाउँबाट प्रस्ताव आइरहेका थिए, तर लेखपढ गरेको केटोसँग बिहे गरिदिए छोरीले सुख पाउली भनेर सीताका आफन्तले दाहालसँग बिहे गरिदिए ।

विवाहअगाडि सीताले दाहाललाई चिनेकी पनि थिइनन् । उनले ‘जनयुद्धका नायक’ पुस्तकमा दिएकाे एक अन्तर्वार्तामा विवाहबारे भनेकी छन्, ‘मलाई माग्न त धेरै ठाउँबाट आएका थिए । तर मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो ।’

अगाडि सीताले भनेकी छन्, ‘हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।’

विवाह हुँदा प्रचण्ड केवल १५ वर्षका थिए भने सीता पनि झण्डै ६ महिनाले जेठी । ‘बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केको जस्तो भयो । सानैमा विवाह भएकोले हामीहरू साथी र दिदीभाइ जस्तो थियौं ।’

बिहे हुँदा प्रचण्ड १० कक्षामा पढ्दै थिए । सीताले एक आमाले जसरी ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्न थालिन् । १५ वर्षको उमेरमा सीता दश–बाह्र जना सदस्य रहेको परिवारको बुहारी बनिन् ।

‘भाँडा माझ्ने काममा र चुल्होमा म एक्लै पर्दथें । जब सुत्ने बेला हुन्थ्यो, अनि म सोच्थें, म बिहान उठ्न सक्छु कि सक्दिनँ ? बिहान उठेर दैलो पोत्न सकिनँ भने के गर्ने ? असाध्यै कष्टसाध्य जीवन बाँचेर हुर्केर आएकी महिला हुँ म’, उनले अन्तर्वार्तामा भनेकी थिइन् ।

बिहेपछि प्रचण्ड अधिकांश समय परिवारसँग रहेनन् । सुरुमा काठमाडौं पढ्न गए । पछि गोरखाको आरुघाटमा अढाइ वर्ष जति पढाए । त्यतिबेलासम्म घरपरिवार राम्रै चलेको थियो । जब उनी पूर्णकालीन भए, परिवारको बोझ सीताको काँधमा थपियो । संयुक्त परिवारमा छुट्टाभिन्ना सुरु भयो ।

सीताका सुरुवाती पाँच वर्ष निकै सकसपूर्ण बिते । पञ्चायती प्रशासनले घर खानतलासी गरिरहन्थ्यो । आम्दानीको स्रोत थिएन, श्रीमान् पार्टीमा पूर्णकालीन भए, साना साना सन्तान हुर्काउँदै घरगृहस्थी चलाउनुपर्ने थियो ।

पितृसत्तात्मक समाजमा बुहारीले भोग्ने शारीरिक कष्ट त छँदैथियो, लगातार तीन छोरी जन्माएपछि ‘छोरा’ जन्माउन नसकेको ‘आमा’को भूमिकामा पनि उनले मानसिक रूपमा फरक व्यवहार भोगेकी थिइन् । २०३८ सालमा प्रकाश जन्मिए ।

प्रचण्ड भूमिगत हुँदा प्रकाश केवल पाँच महिनाका थिए । उनले माइतबाट एउटा भैंसी ल्याइन्, घरमा अंशबण्डा गर्दा दुइटा भैंसी पाइन् । बस्तुभाउसँगै उनले खेतीपाती र बालबच्चा सम्हालिन् ।

त्यतिबेला पार्टीका नेता थिए, मोहनविक्रम सिंह । ‘महिलालाई पनि अगाडि बढाउनुपर्छ, श्रीमान्–श्रीमती एकै रथका दुईपांग्रा हुन्’ भन्दै उनले आवाज उठाइन् । विस्तारै कम्युनिष्ट पार्टीभित्र महिला नेतृत्व अगाडि आउने वातावरण बन्न थाल्यो तर उनले प्रचण्डलाई सघाउन आफूलाई घरमै सीमित गरिन् ।

भूमिगत राजनीति

लामो संघर्षपछि २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भयो । पञ्चायती दमनका दिन सकिए । सीता दाहाल चार सन्तान सहित भरतपुरबाट काठमाडौं डेरा सरिन् ।

पार्टीभित्र सशस्त्र जनयुद्धको लागि परिस्थिति परिपक्व छ/छैन भनेर विवाद थियो । अन्ततः प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले जनयुद्ध घोषणा गर्‍यो । सीताको जीवनमा अर्को घुम्ती सुरु भयो ।

युद्धको नेतृत्वसँगै परिवारको व्यवस्थापन पनि चुनौतीपूर्ण नै थियो । दाहाल दम्पतीले दुई छोरीको विवाह एकसाथ भारतबाटै गरिदिए । जनयुद्धकालमा कहिले भारत, कहिले नेपालको बसाइ चलिरहेको थियो ।

१३ चैत २०६० मा तत्कालीन नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज मोहन वैद्य (किरण) भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार भएपछि प्रचण्डको परिवार पनि भारतबाट रोल्पा सर्‍यो ।

युद्धको जोखिमका बीच तत्कालीन माओवादीको आधार क्षेत्रमा उनीहरू एकसाथ रहे । त्यो समय हरेक दिन अप्रिय खबर सुन्नु त सामान्य जस्तै थियो ।

विभिन्न उतारचढाव पार गरेपछि युद्ध शान्तिपूर्ण राजनीतितिर अगाडि बढ्यो । दुईपटकसम्म पति प्रधानमन्त्री बन्दा पनि सीताले ‘लामो हात’ र ‘चर्को मुख’ गरेको आरोप खेप्नु परेन । बालुवाटार पुगेपछि हुर्कने राजसी ठाँटबाँट र घमण्डले उनलाई कहिल्यै शासन गर्न सकेन । प्रचण्डले पत्नीका कारण कुनै ठूला विवाद खेप्नुपरेन ।

देशमा भइरहेका राजनीतिक उथलपुथलको प्रतिबिम्ब पार्टीभित्र पर्थ्यो । नेताहरूबीच विवाद र हरेक राजनीतिक उथलपुथलको केन्द्रमा रहने राजनीति नियाल्ने अवसर पाइन् उनले ।

प्रधानमन्त्री–पत्नीका रूपमा उनी विश्वका शक्तिशाली राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने अवसर पाइन् । राष्ट्रिय राजनीतिका अनेकौं महत्वपूर्ण घटनाक्रमको साक्षी बनिन् । तर सीता आफूले देखेको/भोगेको राजनीतिका रोचक घटनाक्रमबारे संसारलाई बताउन नपाउँदै अस्ताएकी छिन् ।

युद्धको बेला भारत हुँदै रोल्पा–रुकुमका भूगोलमा सीताले प्रचण्डलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । सेल्टर नजिकै बमबारी हुँदा उनलाई लाग्थ्यो, ‘उहाँ (प्रचण्ड)को अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहुन्न ।’ तर आज सीता उनै प्रचण्डलाई नै टुहुरो बनाएर बिदा भएकी छिन् ।

वियोगपछि वियोगले लिएको परीक्षा

सन्तान वियोगबाट विक्षिप्त पत्नीको तन र मनको उपचार गर्न प्रचण्डले स्वदेश–विदेशका अस्पतालदेखि धार्मिक/आध्यात्मिक स्थलसम्म पुर्‍याए । कहिले प्रकृतिको काखसम्म पुर्‍याए त कहिले भगवानको शरणमा ।

विवाहको ५०औं वर्षगाँठमा प्रचण्ड दम्पतीले विवाह समारोह नै आयोजना गरे । पत्नीको स्वास्थ्य लाभका लागि प्रचण्डले सक्दो प्रयास गरे । तर अहँ, उनी सम्हालिन सकिनन् । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा त सीता थाहा नै पाउन नसक्ने गरी ओछ्यानमा ढलिसकेकी थिइन् ।

राजनीतिक उतारचढावका बीचमा उनको परिवार पनि अशान्त रह्यो । जेठी छोरी ज्ञानुको क्यान्सरबाट कष्टप्रद मृत्युले घाइते बन्दासम्म उनी सम्हालिएकी थिइन्, तर छोरा प्रकाशको प्रेम–विवाहको श्रृंखला हुँदै मृत्युसम्म आइपुग्दा उनी ओछ्यान नै परिन् । छोरीपछि छोरा गुमाउनुको पीडाले थलिएकी आमा अब कहिल्यै नउठ्ने गरी बिदा भएकी छिन् ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?