+
+

देशैभर धान रोपाइँ आधा सकियो, गत वर्षभन्दा १२ प्रतिशत कम

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १९:४१

२९ असार, काठमाडौं । असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम हो । गत वर्ष यस अवधिमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

यस वर्ष २९ असारसम्म ७ लाख १८ हजार ५७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ ।

सो प्रदेशमा ८५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । यस्तै, सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । धान उत्पादनको भण्डार मानिने यस प्रदेशमा यस वर्ष २८ प्रतशित क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

कर्णाली प्रदेशमा ७० प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ४५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ हुँदा गण्डकी प्रदेशमा ४७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

देशैभर मनसुन उपयुक्त भएको र रोपाइँ जारी रहेका कारण यस वर्ष धान खेती हुने सबै क्षेत्रमा रोपाइँ हुने अनुमान मन्त्रालयको छ । रोपाइँ ढिलाइ हुनुमा मनसुन केही दिन ढिला सुरु हुनु नै प्रमुख कारण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?