
३१ असार, काठमाडौं । नेपाल आयल निगमबाटै इन्धनको मूल्य घट्ने सूचना चुहिएपछि व्यापारीहरुले इन्धन आयात घटाएका छन् । आइतबार साँझ मूल्य घट्ने सूचनाका कारण पम्प व्यवसायीहरुले दैनिक खरिद परिमाण घटाउँदा बागमती प्रदेश भित्र मात्रै निगमको इन्धन बिक्रीमा सावा ४ लाख लिटरले कमी आएको छ । जसका कारण निगलाई झण्डै ६५ करोड रुपैयाँ हाराहारी क्षति पुग्ने अनुमान गरिएको छ ।
निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने सूचना चुहाएको थियो । निगमलाई हवाला दिंदै खाना पकाउने ग्याँसदेखि डिजेल, पेट्रोल र मटीतेलको मूल्य घट्ने समाचार आइतबार बिहानै बाहिरिए पछि त्यसको असर निगमकै बिक्रीमा परेको हो ।
आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटकाअनुसार आइतबार साबिकको तुलनामा डिजेल र पेट्रोलको बिक्री ४ लाख १६ हजार लिटरले घटेको छ । शनिबार र आइतबार दुई दिन डिपो खुल्ला राख्दा पनि जम्मा डिजेल र पेट्रोलको कुल बिक्री ११ लाख ७६ हजार मात्रै छ । गत साता आइतबार थानकोटको डिजेल र पेट्रोलको बिक्री १५ लाख ९२ हजार लिटर थियो ।
आज मध्यान्ह १२ बजेसम्म थानकोट डिपोले प्रदेशभरका लागि ४ लाख ६३ हजार लिटर डिजेल बिक्री गरेको छ । जुन अघिल्लो साताको तुलनामा २ लाख ३५ हजार लिटरले कम हो । गत साता आइतबारको डिजेलको बिक्री ६ लाख ९८ हजार लिटर थियो ।
यस्तै, आज मध्यन्हसम्म कुल ७ लाख १३ हजार लिटर पेट्रोल डिपोले बिक्री गरेको छ । जुन गत साताको आइतबारको बिक्रीको तुलनामा एक लाख ८१ हजार लिटरले कम हो । २४ गते आइतबार ८ लाख ९४ हजार लिटर पेट्रोल बिक्री भएको थियो । कम बिक्रीका कारण डिजेलमा निगमलाई ३४ करोड ६६ लाख र पेट्रोलमा ३० करोड ३१ लाख रुपैयाँ गरी ६४ करोड ९७ लाख नोक्सानी भएको छ ।
त्यसो त ठूलै मात्रामा मूल्य घट्ने सूचना पछि अड्कलेर मात्रै डिजेल पेट्रोल किनेको पम्पहरुले पनि स्वीकार गरेका छन् । दैनिक ६० हजार लिटर डिजेल पेट्रोल किन्ने पम्पले अड्कलेर आधा भन्दा कम मात्रै इन्धन किनेको बताएका छन् ।
‘डिजेलको मूल्य लिटरमा १० रुपैयाँसम्म घट्छ भन्ने सुनिएको छ,’ एक पम्प व्यवसायीले भने, ‘एक ट्यांकर मै २ लाख रुपैयाँ नोक्सान हुन्छ किन तेल किन्ने ?’ उनका अनुसार पम्पमा अभाव नहोस् र भएको स्टक बिक्री गर्न सकियोस् भनेर मात्रै आइतबारका लागि इन्धनको कारोबार गरिएको छ । तीन वर्ष अघि निगमले सुटुक्का लिटरमै १० रुपैयाँसम्मले मूल्य घटाउँदा पम्पहरुले १० लाख रुपैयाँसम्म क्षति व्यहोरोको ति व्यवसायीको भनाइ छ ।
३ असार आइतबार काठमाडौंमा १२ लाख ५३ हजार लिटर डिजेल बिक्री भएको थियो भने १० लाख ५८ हजार लिटर पेट्रोल बिक्री भएको थियो ।
१० गते आइतबार १२ लाख १३ हजार लिटर डिजेल बिक्री गरेको डिपोले ८ लाख ५४ जार लिटर पेट्रोल बिक्री गरेको थियो । १७ असारमा डिजेल ८ लाख ७२ हजार लिटर बिक्री हुँदा पेट्रोल ८ लाख ५४ हजार लिटर बिक्री गरेको डिपोले जनाएको छ ।
थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले भने मूल्य घट्ने सूचनाले नभई बर्खाका कारण डिजेल र पेट्रोलको बिक्री घटेको दाबी गरे । स्वचालित मूल्यबारे समाचारहरु सुनको तर, त्यसले मूल्य घट्छ कि बढ्छ भन्ने यकिन नभएको भुसालले बताए । ‘इन्धनको खपत नियामित घट्दै गएको छ, यसमा सूचना चुहिएर खरिद भएन भन्न हुन्न,’ उनले भने ।
यता आयल निगमले भने सूचना नचुहिएको दाबी गरेको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आइतबार मध्यन्हसम्म स्वाचालित मूल्य र यसका कारण मूल्य घट्नेबारे कुनै निर्णय नै नभएको बताए । ‘अनुमानका भरमा बजारमा खेलेको हुनसक्छ,’ थानीले भने, ‘निगम बोर्ड बैठक नै नबसी कसरी यसबारेको सूचना बजारमा गयो । हामी पनि आश्चार्य चकित छौं ।’
प्रतिक्रिया 4