+
+

पोखराको हरिचोक–याम्दी सडक खण्डमा दुर्घटना बढेको भन्दै स्थानीयको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १७:३३

३१ असार, पोखरा । पोखरा महानगरको वडा नं १ र २५ का बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा हरिचोकदेखि याम्दीसम्मको २ किलोमिटर सडक निर्माणमा ढिलासुस्ती र हेलचेक्य्राइँ भएको भन्दै विरोध जनाएका छन् ।

उनीहरुले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सुरक्षाको मापदण्ड नअपनाई सडक बनाउँदा अत्याधिक खाल्डाखुल्डी भएको र दुर्घटना बढेको बताए ।

पोखरा–२५ का वडाध्यक्ष मोती तिमिल्सिनाले सडक निर्माणमा ध्यान नदिँदा दैनिक दुर्घटना भइरहेको बताए । उनका अनुसार सडक चिप्लो हुँदा सबैभन्दा बढी महिला र विद्यार्थी दुर्घटनामा पर्ने गरेका छन् ।

‘यो बाटो बन्न लागेको एक वर्ष भइसक्यो । काममा पनि एकदम ढिलासुस्ती छ । त्यसमाथि सुरक्षाका न्यूनतम मापदण्ड पनि नअपनाउँदा दुर्घटना बढ्यो’, तिमिल्सिनाले भने, ‘हामीले यसबारे पटकपटक आयोजना र ठेकेदार कम्पनीलाई पनि जानकारी गरायौं । उहाँहरु आएर हेर्ने र फर्किनेमात्रै काम भयो ।’

मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त सडकखण्ड बनाउन मोतीदान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । २ वर्षभित्र सक्ने गरी ०७८ साउनमा आयोजनासँग निर्माण कम्पनीले ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीले ढिलासुस्ती र हेलचेक्य्राइँ गर्दा स्थानीयले दुख पाएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउँदै वडाध्यक्ष तिमिल्सिनाले बर्खामा हुने दुर्घटना न्यूनीकरण गर्न तत्काल ग्राभेल भरेर आउजाउ सहज बनाइदिन आग्रह गरे ।

हरिचोक–याम्दी सडकखण्ड निर्माणमा हालसम्म भौतिक प्रगति २५ प्रतिशत र २० प्रतिशत भौतिक प्रगति भएको पुष्पलाल मध्यपहाडी लाकमार्ग आयोजना योजना कार्यालय पर्वतका इन्जिनियर ठाकुर भण्डारीले जानकारी दिए ।

‘हिउँदमा सम्झौता बमोजिम नै निर्माण व्यवसायी साइटमा मोबिलाइज हुनुभएको थियो । तर, अहिले केही दिनयता परेको पानीले खाल्डाखुल्डीमा पानी भरिएको हो’, इन्जिनियर भण्डारीले भने, ‘त्यसमा पनि ग्राभेल भरेर बाटो सञ्चालन गरिरहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आयोजनालाई समयमै काम सक्न र बर्खा अवधिका लागि ग्राभेल भरेर सडक सुरक्षित बनाउन निर्देशन दिएका छन् । ‘बाटो निर्माणमा ध्यान दिन यसभन्दा अगाडि पनि निर्माण व्यवसायीलाई चेतावनी दिइसकेको छु । यो पोखराको बाटोमात्रै होइन, पर्वत बागलुङ, म्याग्दी, मुस्ताङ सबैको स्ट्राटेजिक बाटो पनि हो,’ उनले भने, ‘सवारी आवागनमा कसैलाई पनि बाधा पुग्नु भएन ।’

प्रजिअ घिमिरेले बर्षायाममा सडक दुर्घटनालाई न्यूनीकरण गर्न तत्काल ठेकेदार कम्पनी झिकाई सडक ग्राभेल गरेर ग्रेडिङ गर्न आयोजना प्रतिनिधिलाई निर्देशन दिए ।

‘यसमा सिरियसली काम गरिदिनुस् । जम्मा २ किलोमिटरको बाटोमा अल्झिएर बस्नुभएन’, उनले भने, ‘होइन भने ठेकेदार कम्पनीलाई कारवाही गर्ने अख्तियार तपाईंहरुसँग छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?