+
+

मिटरब्याजप्रति किन मौन छन् मधेशकेन्द्रित दल ?

जसपा र जनमत पार्टीका सांसद तथा नेताकै संलग्नताले देखाउँछ मधेशमा मिटरब्याजको धन्दा सञ्चालनमा बलियो राजनीतिक आड छ । यो प्रदेशमा मात्रै १८ हजारभन्दा बढी मिटरब्याज पीडितले जाँचबुझ आयोगसमक्ष उजुरी दर्ता गरेका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असार ३१ गते १८:२३

३१ असार, जनकपुरधाम । गएको सोमबार १० बजे मोहम्मद मोस्तकिम मियाँ श्रीमती समिता खातुन सहित जिल्ला प्रशासन कार्यालय, सिरहा पुगे । मिटरब्याज सम्बन्धी छलफलका लागि औरही गाउँपालिका–४ का पीडित मोस्तकिम र साहु शिवजी यादवलाई बोलाइएको थियो । तर साहु शिवजी गएनन् । तीन घण्टा कुरेर मोस्तकिम र समिता घर फर्के ।

‘यसअघि पनि दुई दिन प्रशासनले छलफलका लागि बोलाएको थियो । हामी पुग्यौं तर साहु आएनन् । आज तेस्रो दिन पनि यस्तै भयो । शिवजीले प्रशासनलाई टेर्दैनन्’, समिताले गुनासो पोखिन् ।

साहु शिवजी औरही गउँपालिका अध्यक्ष पनि हुन् र उनले जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव जितेका हुन् । शिवजीसँग मोस्तकिमले २०७४ सालमा मोटरसाइकल खरिद गर्न सयकडा मासिक ३ रुपैयाँ ब्याजदरमा २ लाख २० हजार रुपैयाँ ऋण लिएका थिए ।

शिवजीले त्यसको तीन गुणा जोडेर ६ लाख ६० हजारको कपाली तमसुक गराए । मोस्तकिमले शिवजीलाई चार कट्ठा जग्गा समेत दृष्टिबन्धक (पास) गरिदिए ।

ऋणको पैसाबाट मोस्तकिमले यामाहाको फाइजर मोटरसाइकल किने । एक महिनापछि शिवजीले केही दिनको लागि भनेर मोटरसाइकल चढ्न मागे । तर ६ महिनासम्म पनि फर्काएनन् । त्यसपछि शिवजीले मोटरसाइकलको ऋणमै मिनाहा गरिदिने आश्वासन दिए । तर, कपाली तमसुक र जग्गा भने फिर्ता गरेनन् ।

त्यसयता शिवजीलाई ऋणको सावाँ–ब्याज सहित २४ लाख ७५ हजार रुपैयाँ तिरिसकेको समिता बताउँछिन् । तर, करिब १२ लाखको चारकट्ठा जग्गा र तमसुक शिवजीले अझै फिर्ता गरेका छैनन् । धितो राखेको चार कट्ठा जग्गा पनि शिवजीले बेचेको समिता बताउँछिन् ।

मोस्तकिम मासु व्यवसाय गर्छन् । दुई चुनावमा १३ लाखको मासु, मोटरसाइकल र तीनपटक नगद गरी झण्डै २५ लाख रुपैयाँ तिरेको उनी दाबी गर्छन् ।

‘झण्डै २५ लाख रुपैयाँ तिरिसकेको छु । तर शिवजी न त मेरो जग्गा फिर्ता दिइरहेका छन्, न कपाली तमसुक । अब त जग्गा पनि बेचिहाले । सारै अन्याय भयो हामीमाथि’ मोस्तकिम भन्छन्, ‘समाजमा पटक पटक छलफल भयो । तर राजनीतिक आडमा न समाजलाई मान्छन्, न प्रशासनलाई टेर्छन् । म न्यायको लागि भौंतारिइरहेको छु ।’

शिवजीले गरेको शोषणले आफ्नो घर नै भाँडिएको र तनावले श्रीमान् मोस्तकिमको बेलाबेलामा मानसिक सन्तुलन बिग्रिने गरेको श्रीमती समिताको गुनासो छ ।

गाउँपालिका अध्यक्ष शिवजी यादवले भने मोस्तकिमले भनेको कुरामा सत्यता नभएको दाबी गरे । ‘चारपटक म आफैं जिल्ला प्रशासनमा छलफलका लागि पुगें तर उनीहरू आएनन् । मैले प्रशासनलाई भनेको छु छलफल गराइदिनलाई’ शिवजी भन्छन्, ‘मोस्तकिमले भनेको कुरामा सत्यता छैन । उनले मेरो मात्र हैन, गाउँका धेरैको ऋण लिएका छन् ।’ उनले फोनमा थप कुरा गर्न मानेनन् ।

सप्तरीको बोदेवर्साइन नगरपालिका–१० खडकपुरका निर्मलकुमार यादवले घर व्यबहारको लागि ४ साउन २०६६ मा विष्णु गाउँपालिका–४ का सुरेन्द्रकुमार शर्मा (मधेशी) सँग २५ लाख रुपैयाँ ऋण लिएका थिए । सुरेन्द्रसँग उनले आमाको उपचार तथा बहिनीको विवाहको लागि सयकडा मासिक ३ रुपैयाँ ब्याजदरमा ऋण लिएका थिए ।

ऋण लिएपछि १७ पुस २०६६ सम्ममा निर्मलकुमारले आमा मञ्जु सिंह यादवको नाममा रहेको ४ बिघा ११ धुर सुरेन्द्रकी आमा लड्डु देवीको नाममा र बुबा शंकरकुमार यादवको नाममा रहेको ४ बिघा सुरेन्द्रका नाममा दृष्टिबन्धक पास गरिदिए । उनको परिवारको भएभरको सम्पत्ति नै त्यत्ति हो ।

निर्मलले २०६८ सालमा हिसाबकिताब चुक्ता गरे । २५ लाखको ब्याज सहित ४० लाख पुग्यो । जसमध्ये तत्कालै २२ लाख रुपैयाँ सुरेन्द्रलाई दिएको निर्मल बताउँछन् । पूरै चुक्ता गरिदिने र जग्गा फिर्ता गर्ने शर्त निर्मलले राखे ।

तर सुरेन्द्रले आफ्नो परिवारमा उक्त जग्गा २० माघमै अंशबण्डा भइसकेको सुनाएपछि निर्मल चकित भए । सुरेन्द्रले जग्गा र कपाली तमसुक फिर्ता गरिदिन पटक–पटक आश्वासन दिए । समय बित्दै गयो, ब्याज बढिरह्यो ।

२०७१ सालमा सुरेन्द्रका बुबा सत्यनारायण शर्मामाथि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्‍यो । उनका बुबा सगरमाथा अञ्चल अस्पतालमा स्टोरकिपर थिए । यसपछि सुरेन्द्रको सबै सम्पत्ति रोक्का भयो । निर्मल आपतमा परे ।

मुद्दा टुंगो लागेपछि जग्गा फिर्ता गरिदिने सुरेन्द्रले आश्वासन दिए । २०७७’७८ मा अख्तियारमा मुद्दा छिनोफानो भइसकेपछि रोक्का भएको सम्पत्ति फुकुवा भयो । हरहिसाब गरी जग्गा फिर्ता गर्न आग्रह गरेपछि सुरेन्द्रले नानाथरी कुरा गर्न थालेको निर्मल बताउँछन् ।

‘जग्गा फुकुवापछि हिसाबकिताब गर्न जाँदा सुरेन्द्रले सावाँ–ब्याज गरेर १३ करोड रुपैयाँ पुगिसकेको बताए । १३ करोडको त दृष्टिबन्धक परेको हाम्रो सम्पत्ति पनि छैन । कहाँबाट तिर्ने अब ? निर्मल भन्छन्, ‘सम्पत्ति बेइमानी गर्ने नियत देखेपछि कानुनी उपचारमा अगाडि बढे । तर अझैसम्म मैले न्याय पाएको छैन ।’

निर्मल पटक–पटक प्रहरी प्रशासनमा पुगे । तर सुरेन्द्रले वास्ता नै गरेनन् । उनले यसरी गाउँघरमा दर्जनौं व्यक्तिलाई ऋण लगानी गरी उठीबास गराएको निर्मलको भनाइ छ । सुरेन्द्र जनमत पार्टीका संस्थापक सदस्य हुन् ।

‘जे गर्नु छ गर’ भनेपछि निर्मलले ५ भदौ २०७८ मा इलाका प्रहरी कार्यालय, कल्याणपुरमा सुरेन्द्रमाथि ठगी मुद्दा दर्ता गराए । सुरेन्द्र पक्राउ परे । केही दिनमा जिल्ला अदालत, सप्तरीमा पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे ।

दृष्टिबन्धक राखेको जग्गा अहिले निर्मलले नै जोतभोग गरिरहेका छन् । बेला–बेला सुरेन्द्रले जोतभोग नगर्न दबाब दिने गरेको निर्मल बताउँछन् । ‘जग्गा हाम्रो हो । हामी जोतभोग गरिनै रहेका छौं । अब बीच–बीचमा सुरेन्द्रले गुण्डा बोलाएर रोक्न खोज्छन्’ निर्मल भन्छन्, ‘पछि शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएदेखि रोक्न आएका छैनन् ।’

तर सुरेन्द्रले भने लेनदेनको कुरा आफूले नभई बुबा सत्यनारायणले गरेको तर्क गर्छन् । उनको बुबाको २०७८ जेठमा देहान्त भइसकेको छ । ‘बुबा रहुञ्जेल हरहिसाब गराउन आएनन् । बुबा बितिसकेपछि आए । पछि ममाथि ठगी मुद्दा दर्ता गराए । म अदालतबाट ५ लाख धरौटी बुझाएर छुटेको छु’, सुरेन्द्रले भने ।

आफू मिटरब्याजी नभएको तर्क गर्दै उनले २०६६ मा निर्मलको आठ बिघा जग्गा २५ हजार कट्ठाको दरले खरिद गरेको बताए । निर्मलका बुबाले शंकरले आफ्नो बुबासित लेनदेन गर्ने गरेको उनको जिकिर थियो ।

‘मेरो बुबासँग शंकरले लेनदेन गर्नुहुन्थ्यो । दुई छोरीको विवाह गर्न पैसा चाहियो भनेपछि मेरो बुबाले उनको ८ बिघा जग्गा लिनुभयो र ७० लाख जति रुपैयाँ दिनुभएको थियो । ऋणको २५ लाखको कपाली तमसुक आमाको नाममा छ । बुबा रहुञ्जेल हिसाब गर्न नआएको र पछि मिटरब्याजको हल्ला चलेपछि बखेडा झिकेर बदनाम गराउन खोजेको सुरेन्द्रको दाबी छ ।

सिरहाको गोलबजार नगरपालिका–८ का वीरेन्द्र यादवले गएको वैशाखमा जिल्ला प्रशासन कार्यालय, सिरहामा अर्नामा गाउँपालिका–३ का रामसेवक यादव विरुद्ध उजुरी दर्ता गराए । अहिलेसम्म उनको उजुरीमा छलफल हुनसकेको छैन । व्यावसायिक कामका लागि उनले २०६९ देखि २०७५ सम्म रामसेवकसँग ६५ लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋण लिंदा उनले झण्डै डेढ बिघा जग्गा दृष्टिबन्धक राखेर कपाली तमसुक समेत गरिदिएका छन् । पटक–पटक गरी ४ करोड रुपैयाँ सावाँ–ब्याज समेत चुक्ता गरिसकेको वीरेन्द्र बताउँछन् । जसको प्रमाण पनि उनीसँग छ । तर रामसेवकले ऋण अझै बाँकी रहेको भन्दै दृष्टिबन्धक राखेको ७ करोड रुपैयाँ मूल्य पर्ने जग्गा र कपाली तमसुक फिर्ता गर्न मानेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाउँदा उनी उपस्थित नहुने गरेको वीरेन्द्र गुनासो गर्छन् । शिक्षण पेशाबाट अवकाश पाएका रामसेवकले वीरेन्द्र जस्तै दर्जनौं व्यक्तिलाई मिटरब्याजमा ऋण लगानी गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा उनी विरुद्ध २३ वटा उजुरी परेको वीरेन्द्रको भनाइ छ ।

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा मधेशको ठूलो समस्या मिटरब्याजमाथि दलहरूको मौनताले धेरै कुरा बताउने ठान्छन् । चर्को आवाज उठाउँदा दलहरूका नेता कार्यकर्ता आफैं फस्न सक्ने देखेपछि यसप्रति उनीहरू मौन रहेको झाको तर्क छ ।

रामसेवक जसपा मधेश प्रदेश उपाध्यक्ष हुन् । जसपा नेता तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादव उनका ज्वाइँ हुन् । रामसेवकले थोरै लगानी गरेको स्वीकार गरेका छन् । ‘म धेरै पहिला जग्गा बेचेर ऋण लगानी गर्थें तर अहिले गर्दिनँ’, उनले केही महिना अघि स्वीकार गरेका थिए । शहरमा धेरै पहिले जग्गा सस्तोमा किनेको र पछि आएर महँगो भएपछि बेचेर त्यसैबाट ऋण लगानी गरेको उनको भनाइ छ ।

उनी आफू मिटरब्याजी नभएको र बदनाम गर्ने प्रयासले आफूमाथि केही उजुरी जिल्ला प्रशासनमा परेको बताउँछन् ।

२०७९ चैत महिनामा सिरहाकी रामवती सिंह मिटरब्याजी विरुद्ध कारबाही र न्यायको माग गर्दै पैदल हिंडेर काठमाडौं पुगेकी थिइन् । एक अन्तर्वार्ताको क्रममा उनले आफू मिटरब्याजी त्रिभुवन साहसँग पीडित भएको बताएकी थिइन् ।

त्रिभुवन साह जनमत पार्टीको सिरहा ४ (क) बाट प्रदेश सदस्यमा निर्वाचित भएका छन् । अन्तर्वार्तामा जनमतका प्रदेश सांसद रहेको खुलेपछि रामवतीलाई जनमतका केही नेता कार्यकर्ताले पछ्याए र फकाई–फुलाई गरेर घर फर्काएका थिए ।

जसपा र जनमत पार्टीका सांसद तथा नेता समेतको संलग्नताले देखाउँछ मधेशमा मिटरब्याजको धन्दा सञ्चालनमा बलियो राजनीतिक आड छ । यो प्रदेशमा मात्रै १८ हजारभन्दा बढी मिटरब्याज पीडितले जाँचबुझ आयोगसमक्ष उजुरी दर्ता गरेका छन् ।

त्यसैले मधेशको विकराल समस्या मिटरब्याजका विषयमा मधेश केन्द्रित दल जसपा, लोसपा र जनमत पार्टी मौन छन् । जुन भूगोललाई केन्द्रविन्दु बनाएर उनीहरू राजनीति गरिरहेका छन्, जुन वर्गलाई भोट बैंक बनाएका छन् त्यही भूगोल र वर्गको ठूलो समस्यामाथि उनीहरू मौन छन् ।

मिटरब्याज धन्दामा ती दलका नेता कार्यकर्ता तथा समर्थक पनि संलग्न छन् भन्ने थाहा पाउन माथिका उदाहरण पर्याप्त छन् । त्यति मात्रै होइन, ती दल र अरू ठूलो दलहरूलाई चुनावमा आर्थिक सहयोग तिनै मिटरब्याजीले गर्छन् । त्यसैले अहिलेको मधेश राजनीतिका साना–ठूला कुनै पनि दलले मिटरब्याजको चर्को विरोध नगरेको राजनीतिक विश्लेषण हुने गरेको छ ।

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा मधेशको ठूलो समस्या मिटरब्याजमाथि दलहरूको मौनताले धेरै कुरा बताउने ठान्छन् । चर्को आवाज उठाउँदा दलहरूका नेता कार्यकर्ता आफैं फस्न सक्ने देखेपछि यसप्रति उनीहरू मौन रहेको झाको तर्क छ ।

उनी भन्छन्, ‘मिटरब्याजका दोषीमाथि कारबाही गर्ने हो भने दल र नेतालाई आर्थिक सहयोग गर्नेहरू समातिन्छन् । त्यसकारण उनीहरू यो मुद्दामा मौन छन् ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?