+
+

जोगवनीमा सामान किन्न कडाइ, १०० भन्दा बढीको किने भन्सार तिर्नुपर्ने

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १ गते २१:०७

१ साउन, विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ की गीता यादव सोमबार दिउँसो सीमावर्ती भारतीय बजार जोगवनी पुगेर २ किलो धनियाँ, सरफ र एउटा साडी लिएर घर फर्कदै गर्दा रानी नाकामा सशस्त्र प्रहरी बलले रोक्यो । झोला देखाएपछि प्रहरीले उनलाई भन्सार तिर्न भन्दै भन्सार कार्यालयको काउन्टरमा पठायो ।

भन्सार तिरेर सामान ल्याउन खोज्दा उनीसँग कर्मचारीले खाद्य क्वारेन्टाइन जाँचको कागज खोजे । कागजातका बारेमा अनविज्ञ उनले क्वारेन्टाइनको कागजात ल्याउन सक्ने अवस्था थिएन ।

कर तिरेर लैजान्छु भन्दा पनि भन्सारले कर लिन मानेन, वृद्ध महिलालाई सम्झाउँदै भन्सारका कर्मचारीले भने, ‘जहाँबाट किनेको हो त्यहीँ फर्काइदिनू, यो सामान ल्याउन मिल्दैन ।’

सुनसरीको बर्जु गाउँपालिका– ६ की उषा खवासले तीन वटा कुर्ता सुरुवाल लिएर आएकी थिइन् । सामान्य अवस्थामा भए उनले भन्सार तिर्न पर्दैन थियो । तर सोमबार नाकामा खटिएका सशस्त्र प्रहरी बलले लैजान दिएन, प्रहरीले भन्सारको काउन्टरमा पठाए । भन्सारका कर्मचारीले दुई सयका दरले ६०० रुपैयाँ भन्सार तोकिदिए । भन्सार कडाइबारे अनविज्ञ उनले भन्सार नतिरी सामान ल्याउन पाइनन् ।

भन्सार तिरेको रसिद देखाएपछि भने जोगवनीबाट किनमेल गरी फर्कनेलाई सशस्त्र प्रहरीले सामान लैजान दिएको थियो ।

रानी नाकामा खटिएका सशस्त्र प्रहरी अधिकारीहरुका अनुसार आइतबार राति ८ बजेसम्म जोगवनी जानेहरुको भिड थियो । नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरुवात अर्थात साउन १ गतेदेखि भारतबाट सामान आयातमा कडाइ गर्ने निर्णय भएको थाहा पाएका सर्वसाधारणले असार ३१ सम्म भारतीय बजारमा धेरै किनमेल गरे ।

‘आजबाट कडाइ गर्ने सूचना जारी भएपछि हिजोसम्म जोगवनी जानको भिड थियो’, नाकामा खटिएका एक प्रहरी अधिकृतले भने, ‘आजबाट नाका टाइट गर्न निर्देशन छ, आज भिडभाड पनि कम छ ।’

भन्सार कार्यालयले सोमबारदेखि नाकामा कडाइ गरेको जनाएको छ । जोगबनीमा किनमेल गर्नेहरुका कारण विराटनगरको बजार प्रभावित भएपछि विराटनगर महानगरपालिकाले भन्सार र सुरक्षा निकायसँग समन्वय गरेर साउन १ गतेबाट लागु हुनेगरी भन्सार नाकामा कडाइ गर्ने सहमति गरेको थियो । यो सहमतिको विराटनगरका निजी क्षेत्रले स्वागत गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालका अनुसार सोमबारदेखि एक सय रुपैयाँ भन्दा बढी शुल्कमा भारतबाट सामान ल्याए कर तिर्नुपर्नेछ । खाद्यान्न सामाग्रीको आयात गर्दा भने अनिवार्य रुपमा क्वारेन्टाइन परीक्षणको रिपोर्ट चाहिने उनले बताए ।

थोरै मात्रामा दैनिक उपभोग्य बस्तु ल्याउदा खाद्य क्वारेन्टाइन जाँच झण्झटिलो छ । खाद्य सामग्रीको आयातलाई निरुत्साहित गर्न क्वारेन्टाइन जाँचको रिपोर्ट अनिवार्य गरिएको उनले बताए ।

‘कुनै पनि खाद्य वस्तुहरु नेपालमा ल्याउनका लागि नेपालमा ती वस्तु खानयोग्य छ कि छैन भनेर यकिन गर्नुपर्छ’, उनले भने, ‘त्यसको यकिन गर्ने निकाय खाद्य क्वारेन्टाइन हो, क्वारेन्टाइनले खान योग्य छ भनेको वस्तुमात्रै ल्याउन पाइन्छ, अरु पाइदैन ।’

उनले उपभोक्तालाई खाद्यवस्तु आयतमा निरुत्साहित गर्नका लागि नाकामा कडाइ गरिएको बताए । चिनी, चामल, चियापत्ती, कफी, दुध, जिरा, धनियाँ, तोरी तेल, काजु, किसमिसलगायत उपभोग्य वस्तुमा क्वारेन्टाइन परीक्षण अनिवार्य गरिएको छ ।

स्वदेशी व्यवसाय र बजार विस्तारका लागि नाकामा कडाइ गरिएको उनले बताए । ‘सीमा वारपार गर्दा ल्याउन पाइने मालवस्तुको सीमा पहिले नै नेपाल सरकारले तोकेको छ, त्यो भन्दा बढी कसैले लिएर आउँछन् भने त्यसमा अनिवार्य लाग्ने राजस्व तिरेर मात्रै ल्याउन पाइन्छ’, उनले भने, ‘सीमा भन्दा (एक सय रुपैयाँ) बढी सामग्री ल्याउन पाइदैन ।’

भारतबाट आउनेले एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने उनको भनाइ छ । विराटनगर भन्सार नाकामा भएको कडाइले राजस्व पनि बढ्ने उनले बताए ।

सशस्त्र प्रहरी बल मोरङका प्रहरी उपरीक्षक तीर्थ थापाले जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलपछि सोमबारदेखि रानी भन्सार नाकामा कडाइ गरिएको बताए । मोरङको ६३ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ ।

जोगवनी बजारमा बढी चहलपहल भएका कारण उपभोक्तालाई जोगवनी जानका लागि निरुत्साहित गर्न सोमबारदेखि नाकामा कडाइ गरिएको उनले बताए । ‘अहिले हामीले फोकस गरेको जोगवनी, जोगवनीबाट धेरै ठूलो व्यापार हुन्छ’, उनले भने । नेपालमा नपाइने सामान ल्याउन भने व्यवहारिकता हेरेर दिइने उनको भनाइ छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?