+
+

अन्न निर्यात सम्झौता अन्त्य गर्ने रूसको घोषणा, अमेरिकाले भन्यो- क्रूर निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते ८:०२
Photo Credit : United Nations via Associated Press

२ साउन, मस्को । रूसले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । उक्त सम्झौताको समय सोमबार मध्यरातमा समाप्त भएको हो । तर, रूसले सोमबार दिउँसै त्यसको वास्तविक म्याद समाप्त भइसकेको बताएको छ ।

आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि मस्कोले स्पष्ट गरेको समाचार संस्था एएफपीले जनाएको छ । क्रेमलिनको उक्त घोषणा पछि मस्कोले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्याद विस्तारविरुद्धमा सूचना पठाएको रुसी समाचार माध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको उक्त सम्झौता राम्ररी कार्यान्वयन नभएको अरोप लगाउँदै क्रेमलिनले त्यसलाई पालना नगर्ने धम्की दिएको छ ।

‘ब्ल्याक सी सम्झौताको आज वास्तविक समाप्त भएको छ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् । रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै मस्को त्यसमा फर्किने उनले स्पष्ट गरेका छन् ।

अमेरिकाले भन्यो- क्रूर निर्णय

यसैबीच, अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रूर निर्णय भनेको छ । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाइन् ।

जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ । विश्वका निर्धन मानिस द्वन्द्वको सिकार हुनुहुँदैन भन्दै जर्मन सरकारका प्रवक्ता क्रिष्टिन होफमानले खाद्यान्नजस्तो संवेदनशील विषयमा क्रेमलिन संवेदनाविहीन हुन नहुनेमा जोड दिएकी छन् ।

विश्वभर असर पर्न सक्ने

अमेरिकाले रूसको यो निर्णयबाट खाद्यान्नको मूल्यवृद्धि हुने र विश्वका भोकग्रस्त मानिसहरू प्रभावित हुने बताएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले रुसको यो निर्णयको नतिजाले अति आवश्यक पर्ने ठाउँमा खाद्यान्न पठाउन गाह्रो हुने बताए ।

यसैबीच संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले ब्ल्याक सी अन्न निर्यात पहलमा आफ्नो सहभागिता समाप्त गर्ने रसियाको निर्णयप्रति प्रतिक्रिया दिएका छन् । उनले रूसी निर्णयले भोकमरी र खाद्यान्नको उच्च मूल्यबाट पीडित विश्वका करोडौं मानिस प्रभावित हुने बताएका हुन् ।

युक्रेनले ब्ल्याक सी हुँदै सूर्यमुखी, मकै, गहुँ र कोदो निर्यात गर्दै आएको छ । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्दै बन्दरगाहमा घेरा हालेपछि दुई करोड टन अन्न निर्यात हुन रोकिएको थियो ।

यसबाट विश्वभर खाद्यान्नको मूल्य वृद्धि भएको थियो । मध्यपूर्व र अफ्रिकाका धेरै देशहरुमा खाद्य संकट पैदा भएको थियो । किनभने यी देश युक्रेनमा उत्पादित अन्नमा निर्भर छन् ।

लामो प्रयास तथा टर्की र संयुक्त राष्ट्र संघको मध्यस्थताबाट गत वर्ष जुलाईमा लडाइँ जारी रहे पनि रुस र युक्रेनबीच अन्न निर्यात गर्न दिने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?