
२ साउन, पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (बसन्त) ले शासन प्रणालीलाई दोष दिएर कोही पनि उम्किन नहुने बताएका छन् ।
उनले देश समृद्ध बनाउन राज्य संचालन गर्ने शासकहरुमा इमान्दारिता हुन जरुरी हुने बताए ।
मंगलबार पाल्पाको रिब्दीकोट गाउँपालिकाको १३ औं गाउँसभालाई सम्बोधन गर्दै सभामुख घर्तीले संघीय शासान प्रणालीमा जनप्रतिनिधिको संख्या मात्रै हेरेर व्यवस्थाप्रति प्रश्न गर्न नहुने बताए ।
उनले भने, ‘कुन प्रणाली चलाउँदा देश कंगाल हुन्छ? कुन प्रणालीले देश समृद्ध हुन्छ भन्ने शासान प्रणालीको कुरा मुख्य हुन्न्, त्यो देशका शासकहरु इमान्दार हुनुपर्छ ।’
उनले जनप्रतिनिधि धेरै देखिँदा उनीहरुको सेवा सुविधा महंगो देखिनु स्वभाविक भएको बताउँदै जनप्रतिनिधिले गाउँबस्तीमा पुगेर गरेका कार्यले नै संघीयताको मर्म पूरा गर्ने दाबी गरे । ‘संघीय शासन प्रणालीमा प्रदेशका ५५० जना सासंदको तलब र भत्ता हेर्नुभयो भने महंगो हुन्छ । तर तिनीहरुले बस्ती बस्तीमा पुगेर गरेका कामलाई मुल्यांकन गर्दा त्यसको उपलब्धी धेरै हुन्छ’, सभामुख घर्तीले बताए ।
संविधान अनुसार तीनै तहको राज्य सञ्चालन भएको र कोही कसैले विरोध गरेर व्यवस्था परिवर्तन नहुने उनले दाबी गरे ।
सभामुख घर्तीले पछिल्लो समय गाउँहरु रित्तिदै गएको सन्दर्भमा तीनै तहका सरकारले कृषि, पशुपालन र अन्य आर्य आर्जनका लागि विकल्प खोज्नुपर्ने बताए ।
प्रतिक्रिया 4