+
+
कांग्रेस केन्द्रीय समिति बैठक :

महामन्त्रीले बोलाएको जिल्ला सभापति भेलामाथि उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १४:२४

३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको विषय केन्द्रीय समिति बैठकमा उठेको छ ।

केन्द्रीय सदस्य नैनसिंह महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको सुनाए । ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन’. महरले भने ।

केन्द्रीय सदस्यहरुलाई समेत भेलामा डाकिएको भए सबैले अपनत्व लिने अवस्था आउने भन्दै नेता महरले बैठकमा भने, ‘केन्द्रीय कार्यालय हामीभन्दा बाहिर होइन । हो भने जानकारी पाउँ ।’

लोकतन्त्रमा परिणाम मात्रै नभई प्रक्रियाको पनि महत्व हुने भन्दै उनले प्रक्रिया नपुर्‍याई गरिएका काम अवैधानिक हुने महरको भनाइ छ । महामन्त्रीद्वय थापा र शर्माले २१ र २२ असारमा ७७ जिल्लाका सभापतिलाई काठमाडौं डाकेर संगठन निर्माणका विषयमा छलफल गरेका थिए ।

सरकार, संसद् र पार्टीबीचको समन्वय हुन नसकेको विषयलाई पनि महरले बैठकमा उठाए । सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेको महरको धारणा थियो ।

‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार/प्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ । संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ’ महरले भने । सभापति, उपसभापति, महामन्त्री लगायत पदाधिकारीको धारणा फरक फरक आउँदा कांग्रेसप्रति जनतामा भ्रम सिर्जना भएको महरले बताए ।

प्रतिनिधि सभामा ८८ सिट, प्रदेश सांसद १७५, पालिका प्रमुख ३२९, २ हजार ६५८ वडा अध्यक्ष र १० हजार ७६ वडा सदस्य कांग्रेसबाट निर्वाचित भएकाले जिम्मेवारी पनि सबैभन्दा बढी रहेको उनले बैठकमा सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?