+
+

सिनामंगलमा शंकास्पद वस्तु राख्नेको डेरामा प्रहरी छापा, तार र टेप बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १८:१६

३ साउन, काठमाडौं । सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलमा अगाडि बुधबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका व्यक्तिको कोठामा प्रहरीले छापा मारेको छ ।

प्रहरी वृत्त, गौशालाले शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानको सिनामंगलस्थित डेरामा छापा मारेको हो । त्यसक्रममा शंकास्पद वस्तु बनाउन प्रयोग भएको तार, टेप लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

पासवानले घटनामा आफ्नो संलग्नता समेत स्वीकारेका छन् । शंकास्पद वस्तु राखिएको सुनचाँदी पसल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा देखिएअनुसार उनले बिहान ७ बजेर ९ मिनेट जाँदा शंकास्पद वस्तु राखेर हिँडेका थिए ।
स्रोतका अनुसार, उनी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन् । उनले राखेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, डिस्पोज गरिएको वस्तुमा विष्फोटक पदार्थ थिएन । ‘तर्साउनलाई मात्र राखिएको रहेछ, डिस्पोज गरेर टोली फर्किएको छ’, भण्डारी भन्छन् ।

प्रहरीका अनुसार, पासवानले पसलका सञ्चालकलाई फोन गरेर ५ लाख रुपैयाँ माग गरेका थिए । नदिए उडाइदिने भन्दै शंकास्पद वस्तु राखेका थिए ।

घटनास्थलमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गरिएको पर्चा समेत बरामद भएको थियो । त्यसरी राखिएको पर्चामा ‘आरडीएकस बारुदको नाम राखिएको’ भनिएको थियो । पासवानको बयान उदृत गर्दै एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसरी लेख्दा मान्छेले पत्याउँछन् भनेर लेखेको थिएँ, अरु केही होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?