+
+

उपभोक्ता संस्थाहरुको नियमन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १९:२५

३ साउन, काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील संस्था उपभोक्ता जागरण अभियान नेपालले उपभोक्तासँग सम्बन्धित सबै उपभोक्ता संस्थाहरुको नियमन गर्न गृहमन्त्रीसँग माग गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ता अधिकारकर्मी र संस्थाको अनुगमन गरी सार्क मुलुकका उपभोक्ता संस्थाको अध्ययन गरी नेपालमा पनि एउटा मात्र संस्था बनाउन माग गरेको हो ।

जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा उपभोक्ताको सार्वभौम अधिकारको संरक्षणका लागि नीतिगत सुधार गरेर बजार नियन्त्रण गर्न र तरकारी तथा फलफूलको आयातमा विषादीको अवशेष परीक्षणमा सरकार कठोर हुन माग गरेको छ ।

ज्ञापनपत्रमा सबै स्थानीय तहले विषादीको अवशेष परीक्षण गर्ने ब्यवस्था अनिवार्य गर्न, उपभोक्ता शिक्षालाई प्राथमिकतामा राखेर जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता अभियान ७ सय ५३ वटै पालिकाका र ६ हजार ७४३ वडामा संचालन गर्न पनि माग गरिएको छ ।

त्यस्तै उपभोक्ताको गुनासो सम्बोधन गर्न ७५३ वटै पालिकामा संक्षिप्त कार्यविधि सहितको न्यायीक निकाय स्थापना गर्न, स्वच्छ बजारको आधार सुशासन भएकाले बिचौलियालाई निरुत्साहित गर्ने नीति अख्तियार गर्न र विधिसम्मत वस्तुगत नियमन गरेर बजारलाई स्वच्छ तुल्याउन केन्द्रीय, प्रदेश र स्थानीय बजार अनुगमन समितिको कार्यक्षेत्र किटान गर्न भनिएको छ ।

त्यस्तै मुख्यसचिवको संयोजकत्वमा गठित केन्द्रिय अनुगमन तथा मुल्याकंन समितिलाई सक्रिय बनाइ साधन, स्रोत र जनशक्ति सहितको उपभोक्ता संरक्षण बिभाग गठन गर्न पनि माग गरिएको छ । त्यस्तै निजी विद्यालयको फाराम शुल्क, भर्ना शुल्क, मासिरक तथा अन्य शुल्क अत्यधिक महंगो भएकोले यसलाई घटाई एकरुपता ल्याउन ज्ञापनपत्रमा भनिएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ज्ञापनपत्रमा अत्यन्तै महत्वपूर्ण कुराहरु उल्लेख भएको भन्दै यसको कार्यान्वयनका लागि आफू लाग्ने र सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?