+
+

कटहरीको तरकारी बजार : विराटनगरका मेयरले जान दिएनन्, कटहरीका व्यापारी पनि जान मानेनन्

हरि अधिकारी हरि अधिकारी
२०८० साउन ४ गते ८:१७
कटहरीका व्यापारीहरू ।

४ साउन, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित गर्न भनेर निर्माण गरिएको फलफूल तथा तरकारी बजार अलपत्र परेको छ । विराटनगरको गुद्री बजार सार्नका लागि भन्दै झण्डै १४ करोड लागतमा कटहरी-१ मा फलफूल तथा तरकारी थोक बजार निर्माण भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ३ गते उदघाटन गरेको संरचना सञ्चालनको जिम्मा प्रदेश सरकार र विराटनगर महानगरपालिकाको थियो । तर तत्कालीन कांग्रेस नेता नागेश कोइराला -हालका मेयर) ले विराटनगरको गुद्री बजारलाई बसपार्क पश्चिम आफ्नो निजी जग्गामा सारे ।

नागेश कोइरालाले आफ्नै जग्गामा बजार सारेपछि प्रदेश सरकारले गुद्रीलाई संरचना निर्माण भएको स्थानमा लैजान सकेनन् । प्रदेश सरकारले २०७७ सालमा विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालनको जिम्मेवारी दियो । तर संघले पनि बजार सञ्चालन गर्न नसक्ने जनाएको छ ।

त्यसपछि अलपत्र अवस्थामा रहेको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हाट सार्ने निर्णय गरेको थियो । रंगेली रोड नजिकै सिंघिया खोला किनारमा आइतबार र बुधबार लाग्ने साप्ताहिक हाट सार्ने निर्णय भए पनि व्यापारीले सर्न मानेनन् । व्यापारीले अस्वीकार गरेपछि बुधबार बिहान कटहरीको बजार क्षेत्रमा तनाब भएको थियो । बजार लगाउन प्रहरीले रोकेपछि व्यापारीले आन्दोलन गरेका थिए । आन्दोलन गर्ने स्थानीय ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए । ६ जना पक्राउ परेपछि बजारको अवस्था सामान्य रहेको उनले बताए ।

‘गुद्री नगएपछि हामीलाई लैजान खोजिँदैछ’
कटहरी बजारका स्थानीय व्यापारीले विराटनगरको गुद्रीका व्यापारी जान नमानेको स्थानमा आफूहरु पनि नजाने बताएका छन् । ‘त्यहाँ अहिले पनि बजार लागिरहेको छ, तर त्यहाँ व्यापार भएको छैन, यहाँ चलिरहेको बजारलाई सार्न मेयर (कटहरी गाउँपालिका अध्यक्ष)ले जबरजस्ती गर्दैछन्,’ स्थानीय व्यापारी रञ्जित साहलेे भने, ‘त्यो बजार गुद्रीका ब्यापारीका लागि बनेको थियो, उनीहरुलाई ल्याउन सकेनन्, हामीमाथि यहाँ दमन गरे ।’

स्थानीय ब्यापारी किस्नी साहले पालिका अध्यक्षले जबरजस्ती गरेको बताइन् । पालिका अध्यक्षले गरिखान नदिन खोजेको उनको गुनासो छ । पालिकाले सार्न खोजेको स्थानमा ब्यापार नहुने भएका कारण जान नमानेको उनले बताइन् । ‘गुद्रीका व्यापारी जान नमानेपछि हामीलाई लैजान खोजियो,’ उनले भनिन्, ‘त्यहाँ हामी जाँदैनौं, त्यहाँ व्यापार हुँदैन ।’

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सडक छेउको अव्यवस्थित बजारलाई व्यवस्थित गर्नका लागि बजार नयाँ संरचनामा सार्ने निर्णय गरेका थिए ।

गाउँपालिका अध्यक्ष चौधरीले बजार सञ्चालनका लागि उद्योग कृषि तथा सहकारी मन्त्रालयले पालिकालाई जिम्मा दिएको बताए । ‘अहिले सञ्चालन भइरहेको बजार बद्री कोइरालाको जग्गामा पर्छ, त्यसको भाडा तिर्नुपर्छ,’ उनले भने, ‘पालिकामा नै सुविधा सम्पन्न संरचना भएपछि कार्यपालिका बैठकबाट बजार सार्ने निर्णय भयो ।’ उनले सुविधायुक्त संरचनामा बजार सार्ने बताए ।

पाँच वर्षसम्म चलेन बजार

विराटनगर महानगरपालिकाको गुद्री बजार अव्यवस्थित छ । बजारलाई सार्नका लागि भन्दै व्यावसायिक कृषि तथा व्यापार आयोजनाले १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँ -भ्याट बाहेक) लागतमा तरकारी बजार निर्माण गरेको थियो । बजार निर्माणपछि तत्कालीन मेयर भीम पराजुलीले गुद्री सार्नका लागि भन्दै विराटनगरको गुद्री बन्द गराएका थिए ।

आधुनिक कृषि बजारमा जानका लागि भन्दै व्यापारीका लागि स्टल बुकिङका लागि विज्ञापन पनि खोलियो । तर नागेश कोइरालाले आफ्नो जग्गामा बजार सारेपछि गुद्री लैजाने योजना असफल भयो ।

त्यसबेला गुद्री सार्न नदिएका नागेश कोइराला अहिले विराटनगरको मेयर छन् । उनी महानगरपालिकामा नभएको संरचना सञ्चालनको जिम्मेवारी आफ्नो नभएको बताउँछन् । ‘गुद्री सार्ने भएपछि उहाँ -व्यापारी)ले रिक्वेष्ट गर्नुभयो, समग्र विराटनगरका लागि हो, मेरो व्यक्तिगतका लागि होइन भनेर जग्गा दिएँ,’ केही दिनअघि कोइरालाले भनेका थिए, ‘त्यो -कटहरीको कृषि बजार) विराटनगर भित्र पर्दैन, त्यसका बारेमा टिप्पणी गर्दिनँ ।’

कटहरी गाउँपालिका १ को जनपि्रय माध्यमिक विद्यालयको ४ विघा २ कठ्ठा २ धुर र पालिकाको १८ कठ्ठा जग्गामा निर्माण भएको बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, क्लिनिक, बैंक, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायतका पूर्वाधार निर्माण गरिएको छ । तर प्रयोग नहुँदा सबै संरचना जिर्ण भएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?