+
+

केशव बुढाथोकीलाई उद्धव थापाको जवाफ : हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १३:५९

४ साउन, काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले आफूलाई मुख्यमन्त्री मान्ने कि नमान्ने भनी प्रश्न गर्ने केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलाई बिहीबार जवाफ दिएका छन् । उनले एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै मुख्यमन्त्री मान्न बुढाथोकीलाई चुनौती दिए ।

बुधबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बुढाथोकीले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु गल्ती भएको भन्दै कांग्रेसका कोशी प्रदेश सभापति समेत रहेका थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने भनी प्रश्न गरेका थिए । बिहीबार केन्द्रीय समिति बैठकमा बोलेका थापाले बुढाथोकीलाई जवाफ दिँदै आफूलाई मुख्यमन्त्री नमाने पनि हुने बताए ।

‘एउटा पार्टीको केन्द्रीय सदस्यले आफ्नो सरकारको नेतृत्वलाई बचाउनुपर्ने ठाउँमा मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने जो उहाँले प्रश्न गर्नुभयो । म भन्न चाहन्छु, तपाईंले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, नेपाली कांग्रेसले निर्णय गरेको गठबन्धनको मुख्यमन्त्री उद्धव थापालाई मुख्यमन्त्री नमाने हुन्छ’ उनले भने ।

मुख्यमन्त्री थापाले कांग्रेसका नेताले नै कोशीमा सभामुखलाई विवादमा पार्ने काम भएको भन्दै बुढाथोकीको आलोचना गरे । ‘सभामुख भनेको एउटा सदस्य पनि हो प्रदेशसभाको । सदस्यको आफ्नो एउटा भूमिका हुन्छ, सभामुखको आफ्नो भूमिका हुन्छ’ उनले भने ।

सभामुखले सभाको अध्यक्षताका गरेको बेलामा मतदान गरेको भए गल्ती हुन सक्थ्यो भन्दै उनले बैठकको अध्यक्षता नगरेका बेला सरकार निर्माणमा परेको अप्ठेरो फुकाउन सहयोग गरेको बताए ।

‘हाम्रो कोशी प्रदेशको सरकार निर्माणको कुरा छ, हामीसँग ४६ मत छ, प्रतिपक्षमा ४६ मत छ । त्यसकारण एउटा सदस्यको नाताले सरकारलाई डेडलक हुनबाट उहाँले रोक्नुभयो । निर्णयलाई अघि बढाउन अभिमत जाहेर गर्नुभयो । मतदान गर्नुभएको छैन’, थापाले भने ।

कोशीमा थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर पनि प्रयोग गरेका थिए । सो विषयमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । सो मुद्दामा आफूले बुधबार लिखित जवाफ बुझाएको पनि थापाले बैठकमा सुनाए ।

कोशी सरकारविरुद्ध आफ्नै नेताले अभिव्यक्ति दिएकामा थापाले आपत्ति जनाएका छन् । ‘हाम्रो पार्टीले, हाम्रो नेताहरुले यो सरकारलाई स्थायीत्व दिन लाग्नुभएको छ भन्ने विश्वास छ । तर यही संगठनभित्र, हाम्रो पार्टीभित्र, हाम्रो नेतृत्वमा सरकार नबनोस् भन्ने, बनेको सरकारलाई पनि प्रश्न गर्ने, मान्ने कि नमान्ने भन्ने प्रश्न सुन्दा सिंगो कांग्रेस कार्यकर्ताको मनोबल घटाएको छ’, उनले भने ।

कोशीमा कांग्रेस नेतृत्वमा सरकार बन्दा कार्यकर्ताहरुमा ऊर्जा आएको र एउटा शक्ति निर्माण भएको भन्दै थापाले भने, ‘आज यो शक्तिलाई खुम्च्याउने काम पार्टीको नेतृत्व पंक्तिबाट हुँदा कांग्रेसको मन रोएको छ ।’

थापाले बुढाथोकीले गत ४ मंसिरको चुनावमा झापा २ मा कांग्रेस उम्मेदवार देउमान थेबेलाई हराउन कार्यकर्तालाई फोन र एसएमएस गरेको भन्दै कारबाही गर्न माग गरे ।

थापाले बुढाथोकी चुनावको मुखमा भागेर अष्ट्रेलिया गएको, चुनाव सकिएपछि मात्र नेपाल फर्किएको भन्दै चुनावका बेला कार्यकर्तालाई म्यासेज गरेर देउमान थेबेलाई भोट नहाल्न भनेको पनि आरोप लगाए ।

‘झापाका सभापति देउमान थेवेलाई भोट नदेऊ, हराऊ भनेर उहाँले फोन गरेको कांग्रेस कार्यकर्ताको मोवाइलमा रेकर्ड छ’ उनले भने, ‘कांग्रेसलाई संकट पर्दा भागेर जाने, अवसरमा आउने ठूलो कुरा गर्ने, नेताहरुलाई हप्काउने, काम गरेका कार्यकर्तालाई हप्काउने यस्तो नेतृत्वले नेपाली कांग्रेसको संगठनलाई कहाँ पुर्‍याउँछ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?