
६ माघ, विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ ।
शनिबार बेलुका थापामाथि आक्रमण गरेलगतै पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका चालक र एक कर्मचारीविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा तीन दिन म्याद थप गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ परेकाहरुमाथि हिरासतमा राखेर अनुसन्धान गरिरहेका छन् ।
शनिबार बेलुका करिब साढे ६ बजे झापाको सुरुङ्गामा ओभरटेक गर्न खोजेपछि विद्युत प्राधिकरणको सवारी चालकले उनलाई थापामाथि मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारबाट उनको आँखामाथि निधारमा चोट लागेको छ । शनिबार विर्तासिटी अस्पतालमा उपचारपछि थापा घर फर्किएका थिए ।
प्रहरीका अनुसार विस्तारका लागि निर्माण सामग्री राखेका कारण पूर्वपश्चिम राजमार्ग साँघुरो छ ।
सुरुङ्गाको जुकेकल्भर्ट नजिकै रहेको डाइभर्सनमा पूर्वमुख्यमन्त्री थापा बा१झ ६५३ नम्बरको गाडीले प्राधिकरणको बा१झ १८७० नम्बरको गाडीलाई ओभरटेक गर्न खोज्यो । यो क्रममा गाडी झन्डै ठोक्किएको थियो । त्यसपछि प्राधिकरण र थापा सवार गाडीका चालकबीच भनाभन भएको थियो।
भनाभन भएपछि गाडीमा सवार थापा उत्रिएका थिए । विवाद मिलाउन जाँदा उनलाई प्राधिकरणका चालकले मुक्का प्रहार गरेका थिए। यो घटनामा थापाको पीएसओको कमजोरी भएको प्रहरीले प्रारम्भीक निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया 4