+
+
एक क्विन्टल सुन बरामद प्रकरण :

सुन सहितको ‘ब्रेक शु’ ल्याउने कार्गोका दुई सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते २०:५९

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्विन्टल सुन बरामद प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको टोलीले सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।

आफ्नो कुरियरबाट आएको सामानमा सुन भेटिएको थाहा पाएपछि भट्ट आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका थिए । त्यसक्रममा त्यहीँबाट उनलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।

दुईवटा कुरियरबाट हङकङ मार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक शु नेपाल आएको थियो । स्रोतका अनुसार, हङकङमा रहेको क्लियरिङ एजेन्टले ‘अटो पार्ट्स’ भनेर सामान पठाएका थिए । क्याथे एयरलाइन्सले पनि ‘एयर विल’मा ती सामग्री ‘अटो पार्ट्स’ भएको उल्लेख गरेको छ ।

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार, सामान चिनियाँ नगारिकले पठाएको पाइएको छ । उनको वी च्याट नम्बर पनि विभागले प्राप्त गरेको छ । ‘अहिले त्यो वी च्याटको नम्बर नै बन्द आइरहेको छ, कार्गोका एजेन्टसँग कुरा गरेर पत्ता लगाउने कोसिस गरिरहेका छौं’, विभाग स्रोतले भन्यो ।

मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । बिहीबार थप दुई जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ८ पुगेको छ ।

पक्राउ परेपछि राजश्व अनुसन्धान विभागका अधिकारीहरुसँग बयान दिँदै भट्टले आफूहरुले ‘अटो पार्ट’का रुपमा मात्रै ती सामान ल्याएको बताएका छन् । ‘त्यसमा सुन थियो कि थिएन भन्ने हामीलाई थाहा हुने कुरा भएन, अटो पार्टस् छ भन्ने आधारमा त्यही अनुसारको शूल्क लिएर ल्याएका थियौं’, उनको बयान उदृत गर्दै स्रोतले भन्यो ।

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?