+
+
कांग्रेस बैठक :

देउवालाई अभूतपूर्व समर्थन, अलमलमा शेखर समूह

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८० साउन ६ गते २०:०२

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो एक वर्षमा मुश्किलले एक दर्जन पटक पार्टी कार्यालय, सानेपा पुगे । २ साउन २०७९ मा केन्द्रीय कार्यसमिति बैठकबाट उठेका देउवा यो अवधिमा कार्यसम्पादन समिति बैठक, चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम जस्ता नगई नहुने कार्यक्रममा मात्र सानेपा गए । अरु बेला पार्टी कार्यालयमा समय बिताएको थाहा छैन ।

२ साउनदेखि भने देउवाको दिनचर्या फेरिएको छ । विहान ११ बज्दा नबज्दै कार्यालय पुग्छन् । कार्यकक्षमा पुगेपछि उपसभापति, महामन्त्री लगायतका पदाधिकारीलाई खोज्छन् । पदाधिकारीहरुको व्यस्तता, बैठक सञ्चालनको अवधिबारे सरसल्लाह गरेपछि बैठक हलमा जान्छन् र ढुक्कले केन्द्रीय सदस्यहरुको कुरा सुन्छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठक देउवा आफैंले सञ्चालन गरिरहेका छन् । बैठकमा एक जना केन्द्रीय सदस्यले बोल्न ६ मिनेट समय तोकिएको छ । समय सुरु भएको छैटौं मिनेटमा जनाउ घण्टी बन्छ, सातौं मिनेटमा माइक काटिन्छ । समय सकिएपछि पनि बोलिरहे देउवा हातले बस्न इसारा गर्छन्, अरु बेला कुरा सुनिरहन्छन् ।

नेताहरुका अनुसार विगतका बैठकहरुमा जस्तो आलोचना गर्नेहरु बोलिरहँदा देउवाले यसपटक तत्काल प्रतिक्रिया जनाएका छैनन् । आफूलाई घत पर्ने प्रसंग आउँदा चाहिँ अनुहारमा खुसी देखाउँछन्, बेलाबेला ठट्यौली शैलीमा प्रतिक्रिया जनाउँछन् ।

देउवाले दिएको सन्देश

दुई तिहाई भन्दा बढी केन्द्रीय सदस्य संस्थापन पक्षका भएकाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अंकगणितका हिसाबले देउवाको टाउको दुखाइको विषय भएन ।

तर राजनीति गणितले मात्र चल्दैन । यसलाई राम्ररी बुझेका देउवाले मंसिर २०७९ को चुनाव, १० पुसमा बनेको एमाले–माओवादीसहितको सत्ता समीकरण र राष्ट्रपति चुनाव कुनै पनि बेलामा बैठक बोलाएनन् । चुनावलगत्तै बैठक बोलाएको भए गठबन्धन गर्दा पनि अपेक्षाकृत परिणाम नआएको विषय उठ्न सक्थ्यो, जसले माओवादी केन्द्रलाई भड्काउन सक्थ्यो । देउवाले बैठक नै बोलाएनन् ।

माओवादीलाई फकाएर प्रधानमन्त्रीमा निरन्तर रहने, नभए एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाउने दाउमा रहेका देउवाको रणनीति त्यसबेला फेल आयो, जब १० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपासहितका ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए । सरकारको नेतृत्व गर्न चाहेका देउवा प्रतिपक्षमा पुगे, सातवटै प्रदेशमा कांग्रेस बाहेकका दलहरुको सरकार बन्यो । यस्तो बेला देउवाले बैठक बोलाउने कुरै भएन ।

त्यसपछि भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे । देउवा पत्नी आरजु देउवा राणाको नाम समेत जोडिएको अडियो सम्वाद सार्वजनिक भयो । तत्काल बैठक बसेर खाँणलाई निलम्बन गर्नुपर्ने माग कांग्रेसमा नउठेको होइन, तर देउवा मौन बसे ।

यी सबै प्रकरणहरु एक किसिमले थिग्रिएपछि देउवाले २७ असारमा केन्द्रीय कार्यसमिति बैठक बोलाए, प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि २ साउनलाई स¥यो । अघिल्लो दिन बोलाएको परामर्श बैठकमा सभापति देउवाले अर्को चतुर चाल चले, केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रशारण गर्ने ।

२ गतेयता जारी (आज शनिबार बाहेक) केन्द्रीय कार्यसमिति बैठकमा पहिलो दिन महामन्त्री गगनकुमार थापाले एक वर्षको कार्ययोजना पेश गरेपछि नेताहरुले निरन्तर धारणा राखिरहेका छन् । र, संस्थापन पक्षको दुई तिहाई भन्दा बढी उपस्थिति रहेको बैठकमा सभापति देउवा निकै सहज अवस्थामा देखिएका छन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति बैठक हरेक २/२ महिनामा बस्नुपर्ने हो । देउवाले एक वर्षसम्म बोलाएनन् । तर किन समयमा बैठक नबोलाएको भनेर प्रश्न गर्नेहरु निकै कम देखिएका छन् । बरु केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रशारण गरेकोमा धन्यवाद दिने नेताहरु धेरै देखिएका छन् ।

१० पुसमा गठबन्धन किन जोगाउन सकिएन भन्ने प्रश्न पनि उनले खासै सुन्न परेको छैन । किनकी १० पुसमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दा फेरि जोडिएको छ । संघमा कांग्रेससहितको सरकार छ, प्रदेशतर्फ चार वटामा मुख्यमन्त्री लिएको छ भने ३ वटा प्रदेशमा महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी छ ।

गठबन्धन गरेर चुनावमा गएकै कारण कांग्रेस पहिलो पार्टी भएको र केन्द्रदेखि प्रदेश सरकारमा हुने अवस्था आएको संस्थापन समूहका नेताहरु दाबी गर्छन् ।

भुटानी शरणार्थी प्रकरणमा खाँण मुछिएकामा पनि देउवामाथि प्रश्न गर्नेहरु देखिएनन् । बरु खाँणलाई निलम्बन गर्न हुन्न भनेर खुलेर मत राख्नेहरु धेरै छन् । केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, जीतजंत बस्नेत लगायतले खाँण पक्राउ परेकै दिन गृहमन्त्रीलाई भेटेर बधाई दिएको भन्दै नेताहरुमाथि प्रश्न उठाए ।

खाँण २७ वैशाखमा पक्राउ परेका थिए । त्यही दिन मधु आचार्य, गुरु घिमिरे, गोविन्दराज पोखरेल लगायतका कांग्रेस नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका थिए । यो प्रकरणमा खाँण पुर्पक्षका लागि थुनामा गएपछि उनलाई निलम्बन गर्नुपर्ने माग महामन्त्री गगनकुमार थापा लगायतले गर्दै आएका छन् ।

यो विषयमा देउवा मौन थिए । केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षका नेताहरुले अदालतले फैसला गर्न बाँकी रहेको भन्दै किन निलम्बन गर्ने भनेर प्रश्न गरे ।

केन्द्रीय कार्यालयका अधिकारीहरुका अनुसार आइतबार केन्द्रीय सदस्यहरु बोल्ने क्रम सकिने सम्भावना छ । तर देउवा बाहिर जे भनिएपनि पार्टीमा आफूले गर्दै आएको कामकारबाहीमा अभूतपूर्व समर्थन छ भन्ने सन्देश दिन सफल भइसकेका छन् ।

बैठकमा सभापतिभन्दा महामन्त्रीमाथि बढी प्रश्न आएको भन्दै एक केन्द्रीय सदस्य भन्छन्, ‘कांग्रेसमा देउवा कमजोेर भए भन्ने बाहिर जुन इम्प्रेसन दिन खोजिएको थियो, त्यो गलत छ । कांग्रेसमा मलाई कुनै च्यालेन्ज छैन । अभूतपूर्व समर्थन छ भन्ने सन्देश दिन सफल हुनुभएको छ ।’

सहमहामन्त्री महेन्द्र यादव पनि सबैलाई समेटेर लैजान सक्ने नेता सभापति देउवा मात्र भएको बताउँछन् । यो बैठकमा पनि देउवामाथि प्रश्न नउठेको भन्दै उनले थपे, ‘बाहिर जति जे बोलेपनि शेरबहादुर मात्र यस्तो नेता हो, जसले कांग्रेसलाई अझ मजबुती र एकतावद्ध बनाएर अगाडि बढाउन सक्छ ।’

शेखरले गुमाएको अवसर

संस्थापन पक्षका नेताहरु सभापति देउवाको पक्षमा उभिँदा संस्थापन इतर पक्षका नेताहरु भने अलमलमा देखिएका छन् ।

एक नेताका अनुसार केन्द्रीय कार्यसमिति बैठकअघि नै समूहका नेता डा. शेखर कोइरालाले छलफल गर्ने अपेक्षा थियो । केही नेताले त्यसका लागि पहल गर्न आग्रहसमेत गरेका थिए । तर छलफल गर्छु समेत भनेका उनले बैठक राखेनन् ।

त्यसको प्रभाव केन्द्रीय कार्यसम्पादन समितिमा देखिएको छ । यसै पनि १५६ सदस्यीय केन्द्रीय समिति बैठकमा संस्थापन इतर समूहका नेताहरु २०/२२ जना मात्र छन् । त्यसमाथि नेतृत्वले एकमत बनाउने प्रयास नगरेका कारण विधानअनुसार पार्टी सञ्चालन नभएको, राष्ट्रिय मुद्दाहरुमा कांग्रेसको भूमिका नदेखिएको जस्ता विषयमा समेत यो समूहका नेताहरु प्रष्ट देखिएनन् ।

केन्द्रीय सदस्य अजयबाबु शिवकोटी बाहेक अरुले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई निलम्बन गर्नुपर्ने प्रष्ट मत राखेका छैनन् । प्रकाश स्नेहीले सभापतिले विधानअनुसार पार्टी सञ्चालन नगरेका कारण महामन्त्रीहरु ‘चरी जेलैमा’ भने जस्तो भएको बताए । संस्थापन इतर समूहका धेरै नेताहरुले चाहिँ बीचबीचमा बसेर बोल्ने गरेका छन् ।

यसले पार्टीसँग रिसाएका कांग्रेस समर्थन शुभेच्छुकलाई थप निराश बनाएको संस्थापन इतर समूहका एक केन्द्रीय सदस्य बताउँछन् ।

‘केन्द्रीय समितिमा सभापतिको बहुमत छ भन्ने पनि थाहा छ, उनीहरुले के बोल्छन् भन्ने पनि अनुमानै थियो’, ती नेता भन्छन्, ‘यदि हामीले बुलन्द धारणा राख्न सकेको भए निराश भएका समर्थन शुभेच्छुकमा थोरै भएपनि आश जगाउन सकिन्थ्यो ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?