+
+

केही नेपाल ऐन संशोधन विधेयक हुबहु पारित हुन्न : कानुनमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १८:२५

८ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा पार्टीलाई अप्ठेरो पर्ने विषय नराखिने बताएका छन् ।

सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कांग्रेस उपसभापति समेत रहेका गुरुङले संसदमा आफूले पेश गरेको विधेयक हुबहु पारित गर्ने पक्षमा आफू पनि नभएको बताए ।

‘केही नेपाल ऐन संशोधन विधेयकमा पार्टीलाई नै अप्ठेरो पर्ने ढंगका कुरा परेका छन् भने त्यसलाई राखिन्न, देश र जनतालाई अप्ठेरो पर्ने सिंगो नेपाली राजनीतिलाई अप्ठेरो पर्ने विषय परेका छन् भने त्यसलाई राखिन्न’, गुरुङले भने ।

उक्त विधेयकमा शान्तिपूर्ण राजनीतिमा आउने भनी सरकारसँग सम्झौता गरेका दल तथा समूहका व्यक्तिमाथि लागेका फौजदारी मुद्दा जुनसुकै तहमा रहे पनि फिर्ता लिन सक्ने प्रावधान राखिएको छ ।

विधेयकको उक्त व्यवस्था गलत रहेको भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा विरोध भएको थियो । केन्द्रीय सदस्य शेखर कोइरालाले संसदबाट उक्त विधेयक पारित भएमा दण्डहीनताले संस्थागत रुप लिने भन्दै तत्काल खारेज गर्नुपर्ने माग गरे ।

सोमबार नै बोलेका महामन्त्री गगनकुमार थापाले कांग्रेस सम्मिलत सरकारले नै ल्याएको भए पनि सो विधेयकको पक्षमा आफूले संसदमा बोल्न नसक्ने बताएका थिए ।

उपसभापति गुरुङले कानुनमन्त्रीको हैसियतमा आफूले विधेयक प्रतिनिधिसभामा दर्ता गरेको भन्दैमा त्यसमा भएका सबै विषयमा सहमति रहेको भन्न नमिल्ने बताए ।

‘म नेपाल सरकारको भरिया जस्तो भएर विधेयकको भारी बोकेर संसदमा राखिदिएँ, फुकालेर हेर्दा अलिअलि बियाँ पनि देखियो, भुस पनि देखियो’ उनले भने ।

उक्त विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएर विवादित विषय हटाउन सकिने पनि गुरुङले बताए । तर, आफू विवादित विषयसमेत समावेश गरेर कानुन पारित गर्ने पक्षमा नभएको उनको जिकिर छ ।

‘भात खाँदा गासमा ढुंगा पर्‍यो भने ढुंगासहितको गास सुलुक्क निलिहाल्छ भन्ने नठान्नुस्’ उनले भने, ‘मुखमा राखेको गासमा ढुंगा पर्‍यो भने निल्दैन गुरुङले, ओकलेर फाल्दिन्छ । यो विधेयकको सन्दर्भमा जे कुरा उठेको छ नि त्यही हो ठ्याक्कै ।’

गुरुङले कांग्रेसकै नेता कार्यकर्ताले अरु दलका नेताहरुको कुरा सुनेर आफ्नो आलोचना गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?