+
+

काठमाडौं विमानस्थलबाट २ खर्बको वैदेशिक व्यापार, भैरहवाबाट मात्र पौने ३ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १९:२०

८ साउन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा झण्डै २ खर्बको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आर्थिक वर्ष (आव) २०७९/८० मा १ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ९.६० प्रतिशत हो । यस आवमा कुल वस्तु आयात १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको भएको छ ।

त्रिभुवन विमानस्थलबाट निर्यात भने ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरको भएको छ । यो कुल वस्तु निर्यातको २२.६२ प्रतिशत हिस्सा हो । यसरी एक वर्षमा यो भन्सार विन्दु हुँदै कुल १ खर्ब ९० अर्ब २३ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

गत आवबाटै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने एक वर्षमा पौने ३ करोड रुपैयाँको मात्र व्यापार भएको छ । यो विमानस्थलस्थित भन्सार विन्दुबाट २ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ३८ लाख ९० हजार रुपैयाँ मात्र निर्यात भएको छ । कुल वैदेशिक व्यापारको हिस्साको दृष्टिकोणबाट यो नगन्य हो । नेपालमा कार्गो उडान त्रिभुवन विमानस्थलमा अत्यधिक केन्द्रित छ । यहाँ जहाजहरुको अधिक भिडभाड पनि छ ।

तर, सरकारले काठमाडौंको व्यापारलाई भैरहवातर्फ आकर्षित गर्न सकेको छैन । सोहीकारण यो विमानस्थल अहिले पनि अन्तर्राष्ट्रियतर्फ ठप्प जस्तै रहेको छ । अर्को अन्तर्राष्ट्रिय विमानस्थल पोखराबाट भने अहिलेसम्म कुनै पनि वैदेशिक व्यापार सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?