 
																			८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि निरन्तर प्रयास गरिरहने बताएका छन् । यही कारण आफूलाई बाइपास गरे त्यस्ता निर्णयहरुको भारी नबोक्ने समेत प्रष्ट पारेका छन् ।
जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको सोमबार जवाफ दिएका महामन्त्री थापाले नेतृत्व परिवर्तन असहज बनाएकै कारण नेपालका दलहरु संकटमा परेको बताए । अन्यत्र जस्तो चुनाव हार्दा छाडेर जाने जस्ता बहिर्गमन (एक्जिट) को व्यवस्था यहाँका दलहरुमा नभएकै कारण देशको शासन सत्ता वर्षौंदेखि ४/५ जनाको म्युजिकल चेयर जस्तो भएको बताए ।
त्यही कारण आफूले संसदीय दलको नेता परिवर्तनको प्रयास गरेको भन्दै थापाले भने, ‘सकिन, मैले मानें । मान्नैपर्छ ।’ यसको अर्थ फेरि प्रयास गर्नै मिल्दैन भन्ने नभएको र आफूलाई दलको नेता परिवर्तन गर्न आवश्यक छ भन्ने लागेको बताए ।
महामन्त्री थापा देउवालाई चुनावी सरकारको नेतृत्व गर्न दिएर २०८४ को चुनाव लड्न नसक्ने निष्कर्षमा पुगेका छन् । तर सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको भागबण्डाअनुसार प्रचण्ड २ वर्ष प्रधानमन्त्री हुनेछन् । त्यसपछि डेढ वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् भने अन्तिम डेढ वर्ष देउवा प्रधानमन्त्री हुनेछन् ।
कांग्रेसको विधानअनुसार १५औं महाधिवेशन २०८२ मै हुनुपर्ने थापाले अडान लिए । दुई पटक सभापति भइसकेका कारण देउवा १५ औं महाधिवेशनमा फेरि उम्मेदवार नै हुन पाउने छैनन् ।
त्यसैले समयमै महाधिवेशन हुने हो भने कांग्रेसले नयाँ नेतृत्व पाउँछ । तर २०८३ मा प्रधानमन्त्री हुने पालो पर्खिरहेका सभापति देउवाले समयमै महाधिवेशन गर्नेमा आशंका छ । छैटौं पटक प्रधानमन्त्री भएर रेकर्ड राख्ने चाहना बोकेका देउवाले एक वर्ष (६/६ महिना गरेर) कार्यकाल थप्न पाउने विधानकै व्यवस्थालाई टेकेर महाधिवेशन धकेल्न सक्ने नेताहरुको आशंका छ । समयमा महाधिवेशन गराउन पनि देउवालाई दलको नेताबाट परिवर्तन गर्नुपर्ने संस्थापन इतर समूहका नेताहरुको निष्कर्ष छ ।
७ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा देउवा ६४ मतका साथ निर्वाचित हुँदा गगनले २५ मत पाएका थिए । त्यो अंकगणितमा ठूलो हेरफेर नभएका कारण संसदीय दलको नेता परिवर्तन सहज नभएको थापा स्वीकार गर्छन् ।
फलको आश नगरी कर्म गर्ने भन्दै उनले भने, ‘मलाई थाहा छ, संसदहरुको मत पाउन गाह्रो छ । तर गाह्रो काम भनेर छोड्न हुन्छ त ? हुँदैन ।’
सभापति देउवा स्वयं नेता फेर्दै आएकाले आफूले गरेको कोसिसलाई सहज रुपमा लिएको भन्दै उनले वरिपरि भएका नेताहरुलाई धेरै चिन्ता नगर्न आग्रह गरे । सुशील कोइराला सभापति भएका बेला वरिष्ठ नेता रहेका देउवाले खेलेको भूमिका स्मरण गराउँदै महामन्त्री थापाले भने, ‘अनि साथीहरु धेरै किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो ।’
नेतृत्व परिवर्तनबारे धेरै बोलिरहनु पर्दैन भनेर नेताहरुले दिएको सुझावलाई मान्ने भन्दै थापाले अगाडि भने, ‘अब आज त लाइभ भइहाल्यो । सबैले थाहा पाइहाल्नुभयो, कसैले प्रश्न नसोध्नुहोला । म बदल्न लागिराख्छु, सक्ने भए बदल्छु, नसक्ने भए मान्छु, मानेकै छु ।’
पार्टी सभापति स्वयंले एकाध महिनापछि ‘ल यार, ५ पटक भइसकें, छैटौं पटक किन हुने ? ल को हुने अगाडि आऊ भनिदिनुहुन्छ कि ?’ भन्ने ठट्टा समेत गरे ।
म नेविसंघको महामन्त्री होइन
दलको नेता परिर्वतन गर्न लागेकै कारण आफूलाई निर्णय प्रक्रियाहरुमा सहभागी नगराए त्यस्ता निर्णयको भारी नबोक्ने सन्देश समेत महामन्त्री सभापति देउवालाई दिएका छन् ।
२०७८ मंसिरमा भएको १४औं महाधिवेशनबाट सभापति र महामन्त्री चुनिएका देउवा–थापाबीच सुरुमा राम्रै सहकार्य भएको थियो । पार्टीमा मात्र होइन, सत्ता गठबन्धनको सत्ता गठबन्धनको बैठकहरुमा थापालाई सहभागी गराएका थिए ।
जब संसदीय दलको नेतामा आफैंसँग प्रतिस्पर्धा गरे, देउवाले थापालाई स्पेस दिन छाडे । बरु सभापतिमा चुनाव लडेका डा. शेखर कोइरालालाई स्पेस दिन थाले । केन्द्रदेखि प्रदेशसम्म मन्त्री नियुक्तिमा समेत भाग दिए ।
जबकि १४औं महाधिवेशन भएको लामो समयसम्म उनले भेट समेत दिएका थिएनन् । त्यो बेला डा. शेखरलाई गरेको व्यवहार सभापति देउवाले अहिले महामन्त्री थापासँग गर्न थालेका छन् । सोमबार केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले आफूलाई नेविसंघको महामन्त्री नठान्न चेतावनी दिएका छन् ।
बैठकमा बाहिर बोल्दै हिँडेको भनेर आफ्नो आलोचना भएको भन्दै उनले भने, ‘मेरो ठाउँमा बसेर एक पटक सोचिदिनुस् त ! म नेपाली कांग्रेसको महामन्त्री । एकाबिहानै यसो फोनमा समाचार हेर्छु । फलानो–फलानो मन्त्री भएको, प्रदेशको सरकारबारे यो निर्णय भयो भनेर आउँछ । अनि मलाई पत्रकारले सोध्छन्, मैले पत्रिकामा थाहा पाएपछि उत्तर केमा दिन्छु ? पत्रिकामै दिन्छु ।’
आफू गठबन्धनको बैठक तथा छलफहरुमा पनि सहभागी नभएको र बहुसंख्यक कुराहरु पत्रपत्रिका पढेर थाहा पाएको महामन्त्री थापाले बताए । उनले अगाडि भने, ‘कहिले थाहा पाउँछु फलानालाई कैद माफी गर्ने निर्णय भयो । कसले गर्यो ? गठबन्धनले गर्यो । मैले पत्रिकामै थाहा पाएँ ।’
प्रतिनिधिसभामा विचाराधीन केही नेपाल ऐन संशोधन विधेयकमा राजनीतिक सहमतिका आधारमा मुद्दा फिर्ता लिने विषयमा आफूहरुसँग कुरा परामर्श नभएको भन्दै उनले पक्षमा उभिन नसक्ने प्रष्ट पारेका छन् । हिजो प्रतिपक्षमा बस्दै गर्दा यसकारण गलत हो भनेर बोल्दै आएको भन्दै उनले भने, ‘म कुनै पनि प्रक्रियामा सम्मिलित छैन । अनि भोलि संसदमा यसको पक्षमा बोल्छु ? बोल्दिनँ ।’
कांग्रेस महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा भने, ‘के म नेपाल विद्यार्थी संघको महामन्त्री हो ? नेपाली कांग्रेसको महामन्त्री हो नि, तपाईंहरुले जिम्मा दिएर पठाउनुभएको । कांग्रेसको हित वा अहितका सन्दर्भमा हुने छलफलहरुको निष्कर्ष पत्रपत्रिकामा आइसकेपछि त्यसको भारी मात्र बोकिदिनुपर्ने हो र ?’
छलफलमा भाग लिंदै गर्दा सधैं मैले भनेको जस्तो हुन्न, कहिलेकाहीं अप्ठ्याराहरु हुन्छन् भन्ने आफूले पनि बुझेको भन्दै उनले कहिले मेरो मत बुझाउने कोसिस गर्ने र कहिलेकाहीं चित्त नबुझेपछि निर्णयको बचाउ गर्ने बताए । त्यसका लागि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने भन्दै उनले भने, ‘त्यो प्रोसेसमा सहभागी हुने कुरामा खुला र उदार हुँदै जाउँ, थुप्रै कुराहरु सकिंदै जान्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4