+
+

पर्वतमा पहिराले ६ घर विस्थापित

रासस रासस
२०८० साउन ९ गते १५:०७

९ साउन, पर्वत । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।

पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए ।

स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला-२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।

‘पहिराको कमेरे माटो बस्तीमाथिको जङ्गलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ’, उनले भने, ‘आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुन्छ ।’

पहिराले जलजला-२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए ।

‘यसअघि जङ्गल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षात्पछि पूर्णगाउँको तालसम्म पुगेको छ’, उनले भने, ‘बराहताल परिसरमा रहेका दुईवटा मन्दिर पनि जोखिममा परेका छन् । पौवाभित्र बाढी पसेको छ ।’

स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ । मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए । ‘चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्’, उनले भने, ‘पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ ।’

मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए । २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो ।

यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए । पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्दै आउनुपरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?