+
+

फिल्म ‘बार्बी’को क्रेज : संसारभर बार्बी लुगा र खेलौना किन्ने बढे

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १६:२१

काठमाडौं । म्याथ्यु किथले भत्ताबापतको पैसाले पहिलोपटक सन् १९७० मा बार्बी खेलौना किने । तर यो खेलौनामा पर्याप्त ‘मर्दाङ्गी’को स्वरुप नभएपछि उनले यसलाई बाबुआमाबाट लुकाउनुपर्‍यो ।

आज उनको लस एन्जलसस्थित घरमा २२ फिटको बुकसेल्फ बार्बीको संग्रहले भरिएको छ । जसको मूल्य लगभग २० हजार डलर हुन आउँछ । उनले चलाउने इन्स्टाग्राम अकाउन्ट ‘डल्स अन द ब्रेन’ जसलाई ७० हजार जनाले पछ्याएका छन् । गत साता मात्र उनलाई पछ्याउनेको संख्या १५ हजार नाघेको छ ।

पछिल्लो सप्ताहन्त फिल्म ‘बार्बी’ रिलिजसँगै दर्शकको उत्साह बढ्नुका साथै विज्ञापनसमेत बढेको छ । थ्रिफ्ट स्टोरमा पुरानो बार्बी पुतली खोज्दै जानेको संख्यामा वृद्धि भएको छ भने यस्तो बजारमा बार्बी खेलौनाको मूल्य बढेको छ । यस्ता पसलमा दिनहुँ हजारौंको फोन आइरहेको छ ।

५५ वर्षीय किथ यो उत्साहलाई स्वागत गर्छन् । ‘म खुसी र आशावादी छु कि यसले सबैलाई स्वीकृति दिएको जस्तो देखिन्छ,’ उनले एक अन्तर्वार्तामा भने, ‘अझै पनि धेरै साना केटाहरू छन् जसले खेलौनासँग खेल्न नपाएकोमा दबाब महसुस गरिरहेका छन् ।’

द इकोनोमिक टाइम्सका अनुसार गत शुक्रबार विश्वभर फिल्म ‘बार्बी’ रिलिज भएसँगै रिटेलर पसलको बिक्री ह्वात्तै बढेको छ । यस्ता पसलहरुले उल्लेखनीय मात्रामा बार्बी हुप, झुम्का, अत्तर, जम्पसुट र लुगाहरु बिक्री गरिरहेका छन् । धेरै उपभोक्ताले जीवनयापनको लागि कम खर्च गर्दा खुद्रा बिक्रेता पसल चाहिं थप महंगो वस्तुहरू बेच्न र पैसा कमाउने अवसरका उफ्रिरहेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित दिग्गज बार्बी खेलौनाका व्यापारी मार्ल डेभिडसनले हालैका महिनामा बार्बी खेलौन र वस्तुको मूल्इ लगभग २५ प्रतिशत वृद्धि भएको बताए । उनको साइट मार्लबीलाई दैनिक तीन हजारभन्दा बढी प्रयोगकर्ता भिजिट गरिरहेका छन् । यो हिट सामान्यभन्दा तीन गुणा बढी हो ।

‘मैले यस्तो चासो कहिल्यै देखेको थिइँन । यसले बार्बी संकलन गर्ने संसारमा धेरै नयाँ वयस्क उपभोक्तालाई पनि ल्याइरहेको छ,’ डेभिडसनले भने ।

सोमबार सुरु गरिएको जाराको बार्बी संकलनमा तातो-गुलाबी वान–पिस स्विमसुट, ब्याकप्याक र स्नीकरसहित १७ प्रकारका बालबालिकाका कपडा र सामानहरू उपलब्ध छन् । तर महिलालाई ८५ वस्तुसहितको प्रस्ताव गरिएको छ, जुन निकै धेरै हो । पुरुषले पनि फिल्ममा बार्बीको प्रेमी, केनको भूमिकामा रायन गोस्लिङले लगाएको शैलीसँग मिल्दोजुल्दो फुसिया सुट वा काउब्वाइ बुट र डेनिम सर्ट लगायत किन्न सक्छन् ।

एचएण्डएमदेखि प्रिमार्क, ग्याप, सुपरगा र क्रक्ससम्मका लुगा र जुत्ताका ब्राण्डले बार्बीको संकलन थालेका छन् । ‘सबै जना एक बार्बी वा केन हुन सक्छन्,’ जेम्स जाहन, ट्रेड म्यागजिन द टोय बुकका सम्पादक भन्छन्, ‘मलाई लाग्छ कि यसले ब्रान्डलाई ओभरस्याचुरेसन नगरी बढाउन मद्दत गरेको छ ।’

ग्रेटा गरविग निर्देशित कमेडी–फेन्टासी फिल्म ‘बार्बी’ले पहिलो सप्ताहन्त विश्व बक्स अफिसमा ३३७ मिलियन डलर ओपनिङ गरेको छ । मार्गरेट रोबी र रायन गोस्लिङ स्टारर यो फिल्मलाई समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन् । केही मुलुकका सरकार प्रमुखदेखि सेलिब्रिटीसम्मले फिल्म हेरेर प्रतिक्रिया दिएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफैंले टिकट काटेर श्रीमती र बच्चालाई यो फिल्म देखाएका छन् ।

नेपालमा पनि मिस नेपालहरुले फिल्मको च्यारिटी प्रदर्शन गरेर अनाथ बालबालिकाको शिक्षामा सघाउने कार्य थालेका छन् । महिला सशक्तीकरणको सन्देश दिने यो फिल्म नेपालमा समेत रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?