
९ साउन, काठमाडौं । ट्राफिक जाम घटाउन काठमाडौंको नयाँबानेश्वर चोकमा एक लेन थप्ने काम सुरु भएको छ । चोकबाट दायाँ मोडिने सवारी साधानका लागि एक ‘टर्निङ लेन’ थप्ने काम भइरहेको हो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा चोक सुधारको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर अर्जुनजंग थापाले जानकारी दिए । ‘काठमाडौंका चोकहरुमा ट्राफिक समस्या समाधान गर्न लेन थप्ने र रोड लाइनिङका गर्ने काम सुरु भएको छ । ‘यो योजना बानेश्वर चोकमा सफल भए अन्य चोकहरुमा समेत विस्तार हुनेछ’, थापाले बताए ।
काठमाडौं महानगरपालिकाभित्रका ४४ वटा मुख्य–मुख्य चोकमा ‘टर्निङ लेन’ थप्ने तयारी भएको जानकारी उनले दिए । बढी व्यस्त हुने चोकहरुमा ट्राफिक जामको समस्या हटाउन मन्त्रालयले ‘टर्निङ लेन’ बनाउन लागेको हो ।
बानेश्वर चोकमा जाइकाले स्वच्छन्द निर्माण कम्पनीलाई ठेक्का दिएको छ । कम्पनीका प्राविधिक प्रबन्धक समीर वैद्यका अनुसार १८ असारदेखि काम सुरु भएर २९ भदौमा अर्थात ७५ दिनमा सकिने गरी काम सुरु भएको हो ।
‘बानेश्वर चोकमा अहिलेको बिरुवा रोपेको आइल्याण्डलाई सानो बनाएर एउटा लेन तीनकुनेबाट नयाँबानेश्वर चोक हुँदै पुरानो बानेश्वरतर्फ जाने र अर्को माइतीघरबाट नयाँबानेश्वर चोक हुँदै शङ्खमुल जाने तर्फ हुने काम सुरु भएको छ’, वैद्यले भने ।
चोक सुधार गर्दा फुटपाथको आकार नघटे पनि बिरुवा रोपेको दुई मिटरको आइल्यान्डको आकार भने सानो हुनेछ ।
‘बबरमहलतर्फबाट नयाँबानेश्वरतर्फ जाँदा दायाँ तर्फ र तीनकुनेबाट नयाँबानेश्वरतर्फ आउँदा पनि दायाँतर्फ अहिलेको रुख रोपिएको क्षेत्रलाई सम्याई अन्य लेनको चौडाइ पनि घटाएर नयाँ लेन निर्माण गरिनेछ,’ उनले भने ।
वैद्यका अनुसार त्यसरी थपिएको नयाँ लेनलाई होल्डिङ जोन बनाइने र ट्राफिक लाइटमा त्यहाँ रोकिएका सवारीसाधनले अन्यलाई अवरोध नगर्ने व्यवस्था मिलाउन लागिएको हो । ‘यसो गर्दा बायाँ तर्फका सवारी साधनहरु रोकिँदा दायाँ मोडिने सवारी साधन जाममा परी रोकिनुपर्दैन,’ उनले भने ।
पाइलट परियोजनाको रुपमा रहेको चोक सुधार योजनाको अन्य कामअन्तर्गत अव्यावहारिक रुपमा सडकमा रहेका पोल र आइल्याण्ड मिलाउने काम हुने निर्माण कम्पनीले जनाएको छ ।
‘हामीले लिएको योजनाले ट्राफिकलाई ‘स्मुथ’ बनाउने काम गर्छ, ट्राफिक लाइट पनि अहिलेको स्थानमा भन्दा अलि व्यवहारिक हुने ठाउँमा राखिनेछ,’ वैद्यले भने । जाइकाले बानेश्वरको चोक सुधारका लागि ५ करोड ६० लाख रुपैयाँमा स्वच्छन्दसँग निर्माण सम्झौता गरेको छ ।
काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका अनुसार जाइकाले मुख्य गरी ४४ वटा चोकमा चोक सुधारका लागि आवश्यक अध्ययन अनुसन्धान गरिसकेकोले बानेश्वर चोकपछि अन्य स्थानमा काम अगाडि बढाउने तयारी गरेको छ ।
‘हामीलाई सहजीकरण र समन्वय गर्न आएको कुराअनुसार बानेश्वर चोकपछि लैनचोरको चोकमा काम हुनेछ । ४४ वटा चोकमा काम हुने भन्ने जानकारी आएको छ,’ महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख राम थापाले भने । बानेश्वर चोकमा महानगरपालिकाले संरक्षण गरिरहेको रुख विरुवा निर्माण अवधिका लागि हटाएर नर्सरीमा राखिएको निर्माण कम्पनीले जनाएको छ ।
‘काम गर्दा सडकको बीचमा रोकिएको रुख, विरुवा हटाएर नर्सरीमा राखेका छौं । यसलाई निर्माण पश्चात फेरि ल्याएर रोप्छौं,’ निर्माण कम्पनीका वैद्यले भने । चोक निर्माण परियोजना अन्तर्गत पहिलो काम हरेक राति ८ बजेदेखि बिहान ६ बजेसम्म भइरहेको छ ।
तस्वीरहरू : आर्यन धिमाल
प्रतिक्रिया 4