+
+

मिथ्या सूचनाले मलजल गरेको मणिपुरको हिंसा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १३:५२

११ साउन, काठमाडौं । मे महिनादेखि भारतको मणिपुरमा मेइती र कुकी समुदायबीच भड्किएको जातीय हिंसा अझै साम्य भएको छैन । हिंसा भड्किएसँगै सरकारले त्यहाँ इन्टरनेट कटौती गरेको थियो । तर विभिन्न माध्यमबाट मिथ्या सूचना अझै पनि फैलिरहेको छ । जसले मणिपुरको जातीय हिंसा थप भड्काउने काममा सहयोग पुर्‍याएको छ ।

मणिपुरको हिंसामा दुई महिलामाथि भीडले गरेको यौन दुर्व्यवहारबारे विश्वभर मुख्य समाचार बने । महिलालाई भएको दुर्व्यवहारको दृश्य निकै पुरानो भएको र हाल त्यसलाई नियोजित ढंगबाट फैलाइएको बीबीसीले जनाएको छ ।

३ मेमा हिंसा सुरु भएलगत्तै अधिकारीहरुले मिथ्या सूचना नफैलियोस् भन्नका निम्ति इन्टरनेट बन्द गरेका थिए । तर त्यसको भोलिपल्टै उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  त्यसैदिन मेइती समुदायकी नर्सलाई कुकी समुदायका मानिसहरुले बलात्कार गरी हत्या गरिएको भन्दै फोटो भाइरल भएको थियो । त्यसलाई ह्वाट्सएप ग्रुपहरुमा समेत पठाइएको थियो । फोटोबारे जाँच गर्दा उक्त फोटो २१ बर्षीय आयुषी चौधरीको थियो । जो दिल्लीमा मारिएकी थिइन् ।

यस्तै ५ मेमा मेइती समुदायका ३७ महिला र एक बच्चाको शव स्थानीय सिजा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको भन्दै ट्वीट भएको थियो । यो सूचना धेरैनै ट्वीट भएका थिए तर ती सबै खाता भने नयाँ थिए । योबारे जानकारी लिँदा सिजा अस्पताल निजी रहेको र निजी अस्पताललाई पोस्टमार्टमको अधिकार नरहेको तथ्य खुल्न आयो ।

इन्टरनेट बन्द भए पनि मोबाइलमा म्यासेज पठाएर मिथ्या सूचना प्रवाह हुने क्रम बढेको बीबीसीले जनाएको छ । मणिपुरमा महिलामाथि दुर्व्यवहार गरिएको भनेर प्रचार भएका दृश्य सबै म्यानमारका हुन् ।

गत जुनमा मणिपुरमा मेइती समुदायका हतियारधारी पुरुषले कुकी महिलाको ज्यान लिएको भन्दै भिडियो हालिएको थियो । तर उक्त भिडियो म्यानमारको थियो । महिलामाथि दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाहीको माग भारतमा बढ्दै गएको छ ।

मणिपुरको घटनामा लामो समय मौनता साधेँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महिलामाथि भएको दुर्व्यवहार सह्य नहुने भन्दै मुख खोले, ‘मणिपुरकी छोरीमाथिको दुर्व्यवहार सह्य हुनेछैन । दोषीलाई तत्कालै कारबाही गरिनेछ यसै छोडिनेछैन ।’

प्रधानमन्त्री मोदीले यो अभिव्यक्ति अघिल्लो साता दिएका थिए । मोदीले दोषीलाई कारबाही गर्ने बताएको केही दिनमै भाजपाका नेता तेजेन्द्र पाल सिंह बग्गाले यो घटनामा अब्दुल खान पक्राउ परेको भन्दै मिथ्या सूचना फैलाए ।

बग्गाको ट्वीटलाई लाखौँले हेरेका थिए । मणिपुर प्रहरीले यस घटनामा कोही पनि पक्राउ नपरेको जनाएको छ । समाचार संस्था एएनआईले गिरफ्तारीबारे गरेको समाचार सम्प्रेषण सच्याएको थियो । उसले ट्वीटको विश्वसनीयता जाँच्न त्रुटि भएको भन्दै समाचार सच्याएको हो ।

मणिपुर अझैपनि अशान्त नै छ । त्यहाँ भाजपा नेतृत्वको सरकार छ । भाजपाले मणिपुर शान्त पार्न कुनै पहल नगरेको र राज्यमा हिंसा भड्किदा समेत प्रधानमन्त्री मोदी मौन रहेको भन्दै प्रतिपक्षी गठबन्धन इन्डियाले मोदीविरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता गरेको  छ ।

यो प्रस्तावमा केही दिनभित्रै छलफल गराउने तयारी लोकसभाको छ। लोकसभाका सभामुखले राजनीतिक दलसँग परामर्श गरे छलफलको मिति घोषणा गर्ने तयारी गरेका छन्  । लोकसभाको नियमावली अनुसार अविश्वासको प्रस्ताव आएको १० दिनभित्र छलफलका लागि मिति तोक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?