+
+

मृत्युको धराप बन्दै साहसिक पर्यटकीय गतिविधि, नियमन न सुरक्षा

पछिल्लो समय नियमन र सुरक्षा मापदण्डविना नै खुलेका साहसिक पर्यटकीय गतिविधि मृत्युको धराप बन्दै गएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८० साउन १२ गते ९:४५

१२ साउन, काठमाडौं । बुधबार कास्कीमा क्यानोनिङ (झरना/छाँगोबाट झर्ने) खेल खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलस्थित झरनामा क्यानोनिङ गर्ने क्रममा लडेर घाइते भएकी पोखरा महानगरपालिकाकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको हो ।

नेपालमा साहसिक पर्यटकीय गतिविधि गर्दा मृत्यु हुने भण्डारीमात्रै होइनन् । पछिल्लो समय नियमन र सुरक्षा मापदण्डविना नै खुलेका साहसिक पर्यटकीय गतिविधि मृत्युको धराप बन्दै गएका छन् ।

२०७९ फागुनमा सुर्खेतको वीरेन्द्रनगरमा फनपार्क भित्र पिङ चुडिँदा एक महिलाको ज्यान गएको थियो । वीरेन्द्रनगर– ४ स्थित काँक्रेबिहार फनपार्क एण्ड रिसोर्टद्वारा सञ्चालित ट्री हाउस फनपार्कको पिङ चुडिँएर भएको दुर्घटनामा ५० वर्षिया एक महिलाको ज्यान गएको थियो । यस घटनामा थप दुई जना घाइते भएका थिए । गत वर्ष नै पोखरामा रोटेपिङ दुर्घटनामा पर्दा चार जना घाइते भएका थिए । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा यस्तो दुर्घटना भएको हो ।

फागुन, २०७७ मा धुलिखेल नगरपालिकास्थित अल्टिमेट हिमालय मोटरल्याण्डमा कार रेसिङको क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भयो । साहसिक र मनोरन्जनात्मक भनेर खेलाइएको कार दुर्घटनामा १६ वर्षीय एक किशोरको ज्यान गएको थियो ।

असोज २०७९ मा राष्ट्रिय खेलकुदका दौरान भएको पछिल्लो प्याराग्लाइडिङ दुर्घटनामा नेपाली सेनाका खेलाडी निमिस थापाको निधन भयो । त्यो दुर्घटना अगाडी नेपालमा भएका प्याराग्लाइडिङ दुर्घटनामा १६ जनाको मृत्यु भइसकेको थियो ।

नेपालमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरुवात भएको डेढ दशकको इतिहासमा १७ वटा ठूला दुर्घटना भइसकेका छन् । पोखरामा प्याराग्लाइडिङसँगै अल्ट्रालाइट समेत धेरै पटक दुर्घटनामा परिसकेको छ ।

२०७५ सालमा सुनसरीको चतरामा र्याफ्टिङ दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको थियो । सोही वर्ष कर्णाली नदीमा र्‍याफ्टिङ दुर्घटनामा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको थियो । त्यसअगाडि पनि नेपालका नदीहरुमा नियमित दुर्घटना भइरहेका थिए । त्यसयता नदीमा मृत्यु हुने गरी र्‍याफ्टिङ बोट दुर्घटनामा परेको छैन ।

असोज २०७९ मा विश्वचर्चित स्की खेलाडी ४९ वर्षिय हिलारी नेल्सनको मनास्लु हिमालमा स्की खेल्ने क्रममा मृत्यु भयो । उनी हिमाल आरोहण सम्पन्न गरी स्की गर्दै फर्कने क्रममा १० असोजमा बेपत्ता भएकी थिइन् । त्यसको दुई दिनपछि उनको शव भेटिएको थियो ।

पछिल्लो समय नेपालमा हिमाल आरोहण पनि धेरै नै जोखिमपूर्ण बनेको छ । यस वर्ष वसन्त ऋतुमा पर्वतारोहणका दौरान सगरमाथामा मात्र १७ जना विलय (मृत्यु/बेपत्ता) भए । यो वर्ष कुनै ठूलो प्राकृतिक विपत्तिबिना नै भएको यो ठूलो मानवीय क्षति हो । १३ चैतका दिन तीन जना आइसफल डाक्टरको मृत्यु भएयता अन्तिम पटक ११ जेठमा क्यानडाका पेनुस अल्बर्टिन स्वार्टको सगरमाथामा ज्यान गयो ।

यी प्रतिनिधिमूलक घटना हुन्, जसले नेपालमा साहसिक पर्यटकीय तथा मनोरन्जनात्मक गतिविधि असुरक्षित बन्दै गएको देखाउँछ । स्थानीय तथा संघीय सरकारको कमजोर नियमनको फाइदा उठाउँदै जथाभावी मापदण्डविपरीत साहसिक पर्यटकीय गतिविधि हुने स्थल बनाउने र त्यसमा पर्याप्त सुरक्षा प्रवन्ध गर्न नसक्दा यस्ता खाले दुर्घटना बढ्न थालेको सरोकारवाला बताउँछन् । यसले नेपालकै छविमा नकारात्मक प्रभाव पर्ने चिन्ता पनि उनीहरुको छ ।

नियमन नै छैन

नेपालमा यस्ता साहसिक पर्यटकीय प्रडक्ट नियमनको यथाचित मापदन्ड छैन । पर्यटन ऐन २०३५ मा अनुमति नलिई यस्ता गतिविधि सञ्चालन गर्न नपाइने व्यवस्था छ । यस्तो सबै गतिविधिहरु पर्यटन विभागबाट अनुमतिमा सञ्चालनमा छैनन् । कतिपय गतिविधिहरु स्थानीय तहमा दर्ता भएर सञ्चालनमा छन् भने, कतिपय दर्ता नै नभई सञ्चालनमा छन् ।

यस्ता कतिपय गतिविधिहरुमा मापदण्ड पालना नगरी नै सञ्चालनमा रहेको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल बताउँछन् । नेपालका पर्यटकीय उत्पादनलाई सुरक्षित बनाउन अब स्थानीय सरकारहरुले बढी अपनत्व लिएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले केन्द्रबाट सबै स्थानमा गएर अनुगमन गर्न सम्भव छैन,’ उनले भने, ‘स्थानीय तहबाट अनुमति लिने, अनुगमन गर्ने र सुरक्षा सुनिश्चित गर्नुपर्छ ।’

पर्यटन विभागले सबै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखी गैरकानुनी र अनुमति नलिई सञ्चालनमा रहेका साहसिक पर्यटकीय प्रडक्टहरु बन्द गराउन आग्रह गरिएको उनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने दुर्घटना भवितब्य भए पनि यसले पर्यटकीय छवि नकारात्मक बन्न सक्नेतर्फ सचेत हुनुपर्ने बताउँछन् । ‘दुर्घटना कहिले पनि प्लानमा हुँदैन, अर्कोतर्फ एडभेन्चर गतिविधि अलि बढी जोखिम पनि हुन्छ’, उनले भने, तर, यसलाई दुर्घटनाविहीन क्षेत्र बनाउन सकिने उपाय छन्, आगामी दिनमा व्यवसायीले पाठ सिक्नु पर्छ ।’ केही घटनामा आधारित भएर सबै विजनेश असुरक्षित छ भन्ने भाष्य भने बनाइहाल्न नहुने उनको तर्क छ ।

विभागको ताकेता

अघिल्लो वर्ष फागुनमा पर्यटन विभागले एक सूचना जारी गर्दै पर्यटन ऐन २०३५ बमोजिम सबै प्रकारका साहसिक पर्यटकीय गतिविधि दर्ता गरी इजाजत लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको थियो । र्‍याफ्टिङ, ग्लाइडिङ, जंगल सवारी, क्याम्पिङ, हाइकिङ, स्किइङ तथा तोकिएका अन्य व्यवसायलाई अनिवार्य दर्ता प्रक्रियामा आउन भनिएको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयलाई समेत ताकेता गरिएको विभागका महानिर्देशक लुइँटेलले बताए ।

जलयात्रा, पदयात्रा, पर्वतारोहणसहितका गतिविधिमा समेत सकेसम्म दर्ता भएका एजेन्सीहरुबाटै गर्न सरकारले आह्वान गर्दै आएको उनले बताए । उनका अनुसार स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका कतिपय साहसिक पर्यटकीय प्रडक्टले विभागलाई पनि इन्जिनियरिङ डिजाइनसहितको विवरण बुझाउन विभागले निर्देशन दिएको उनले बताए ।

सोही क्रममा काठमाडौंमा हालै सञ्चालनमा आएको स्काई वाक टावरलाई समेत यस्तै निर्देशन दिइएको उनले जानकारी दिए । ‘यो स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएको साहसिक प्रडक्ट हो, उनले भने, ‘तर हामीले सुरक्षाको प्रत्याभूति गराउन सुरक्षा प्रत्याभूति र इन्जिनियरिङ डिजाइनहरु मागेका छौं ।’

हिमालमा हुने दुर्घटनालाई भने सरोकारवालाले अझै पनि केवल दुर्घटना र भवितव्य भन्दै छुट लिइरहेका छन् । मौसमी सूचना प्रभावकारी बनाउने, फेसन र विज्ञापनका लागि हुने आरोहणमा कडाई गरी दक्ष आरोहीहरुलाई मात्र हिमालमा अनुमति दिनु पर्ने माग लामो समय देखि उठिरहेको छ । तर, सरकारले रोयल्टीको लोभमा यस्तो आँट गर्न सकेको छैन ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?