+
+

आयरल्याण्ड र स्कटल्याण्ड टी-२० विश्वकपमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते ७:४२

काठमाडौं । आयरल्याण्ड र स्कटल्याण्ड अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएका छन् । युरोपियन क्षेत्रको छनोटमा बिहीबार आफू अनुकूल नतिजा आएपछि दुवै टोलीले लिग चरणको अन्तिम खेल अगावै विश्वकपमा स्थान पक्का गरेका हुन् ।

बिहीबार जर्मनी विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि आयरल्याण्ड विश्वकपमा छनोट हुने १३औं टिम बन्यो । बिहीबारै भएको खेलमा स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै विश्वकप छनोट हुने १४औं टिम बनेको हो ।

७ टिम सहभागी युरोपियन छनोटमा स्कटल्याण्ड शतप्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । अर्को अपराजित टिम आयरल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र आयरल्याण्डबीच शुक्रबार हुने खेलले युरोपियन छनोटको विजेताको टुङ्गो लाग्नेछ ।

२०२४ मा हुने टी-२० विश्वकपमा कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ५ टिम रहेको चार समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सिधै छनोट हुँदा गत वर्षको टी-२० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् । यस्तै २०२२ नोभेम्बरको टी-२० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेश पनि सिधै छनोट भइसकेका छन् ।

बाँकी ८ स्थानका लागि टी-२० विश्वकपमा युरोप, एसिया र अफ्रिकाबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १-१ टिम छनोट हुने प्रावधान छ ।

एसिया क्षेत्रको अन्तिम चरणको छनोट आगामी नोभेम्बर पहिलो साता नेपालमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?