
काठमाडौं । फिल्म ‘कोतपर्व’को शीर्षमध्येको भूमिकामा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन् । निर्माता र अभिनेत्री हमालबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।
निर्देशक रिमेश अधिकारीले शीर्ष भूमिकामा बेनिशालाई लिइएको जानकारी दिए । तर उनले अभिनय गर्ने पात्रबारे खुलाइएको छैन । यसअघि पुरुष पात्रतर्फको प्रमुख भूमिकामा सौगात मल्ल र रमेश उप्रेती अनुबन्धित भइसकेका छन् ।
नेपाली राजनीतिमा जंगबहादुर राणाको उदय भएको मानिने घटना कोतपर्वको विषयवस्तुमा फिल्म निर्माण हुन लागेको हो । यो घटना १९०३ असोज २ गते भएको थियो ।
बेनिशा जोडिएसँगै फिल्ममा प्रमुख कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक अधिकारीले अन्य कलाकारलाई पनि अनुबन्धित गर्ने प्रक्रिया जारी रहने बताए । बेनिशाको प्रमुखमध्येको भूमिका रहेको फिल्म ‘छक्कापञ्जा ४’ घरेलु बक्स अफिसमा ब्लकबस्टर भएको थियो ।
‘कोतपर्व’को छायांकन चैतदेखि काठमाडौं र चितवनमा सुरु गर्ने तयारी छ । फिल्मलाई रिमेश अधिकारी फिल्म प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा छोटेलाल रौनियार र शारदा खड्का अर्यालले निर्माण गर्न लागेका हुन् ।
राजेन्द्र ढकाल र राजाराम सुवाल सहनिर्माता छन् । शिवचन्द्र कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा लेखन रहेको फिल्ममा श्रीदेव बीएल एसोसिएट निर्देशक र परिकल्पनाकार स्वयं निर्देशक अधिकारी हुन् । रिमेशले पछिल्लोपटक ऐतिहासिक कथावस्तुमा आधारित फिल्म ‘नालापानी’को निर्माण तथा निर्देशन गरेका थिए । फिल्मका प्रोडक्सन डिजाइनर पुष्कर लामा हुन् ।
प्रतिक्रिया 4