+
+
पात्र र समाज :

डुक्पा, एक डुलिहिंड्ने मन

सञ्जीत फलाना सञ्जीत फलाना
२०८० साउन १३ गते ७:३०

अहिलेसम्म लगभग अढाई सय उपन्यासका हजारौं पात्रहरुसँग भेट भयो । चिनजान भयो । विश्वप्रसिद्ध आमा उपन्यासको क्रान्तिकारी पाभेल पेत्रोभिच होस् या सिद्धार्थको आध्यात्मिक सिद्धार्थ । द गुड अर्थको किसान वाङलुङ होस् या लभ इन द टाइम अफ कोलेराको प्यासनेट प्रेमी फ्रलोरेन्टिना अरिजा । स्थापत्यमाथि संशय गरिरहने बुबा र छोराको बाजारेभ होस् या द प्रोफेटको गुरु । घामका पाइलाहरुको पवन होस् या कर्णाली ब्लुजका बुद्धि । राधाको राधा होस् या सुम्निमाको सोमदत्त । काल्पनिकता र यथार्थको धरातलमा निर्मित ती पात्रहरुले कुनै न कुनै रुपमा मलाई प्रभाव पारेको छ । धर्म, प्रेम, संघर्ष र क्रान्तिको कुरा सिकाएको छ ।

आफू जस्तै लाग्ने जिन्दगी समीपका पात्रहरु भेट्दा हुने खुसीको वर्णन गरी साध्य छैन । अन्य पात्रहरु भेट्दा पनि धेरथोर रोमाञ्च जरुर हुन्छ । कति पात्रहरु उपन्यास सकिनेबित्तिकै मानसपटलबाट हराएर गए । कति अझैसम्म रहिरहेको छ, सम्झनामा सुरक्षित भएर । जो मन मस्तिष्कमा बसेर घरीघरी मलाई बोलाइरहन्छन्, चिहाइरहन्छन् । म पनि उनीहरुलाई खुब सम्झिरहन्छु । खुसीमा होस् या दु:खमा । उनीहरुलाई दुख्दा मलाई दुख्छ । उनीहरु रमाँउदा मलाई खुसी मिल्छ । ती पात्रहरुमध्ये यस्तै मेरो प्रिय पात्र हो महाभाराको डुक्पा ।

डुक्पा, एक डुलिहिंड्ने मन । गाउँघर हुँदै मेलापातभरि निस्फिक्री नाचिहिंड्ने मन । विद्यालय हुँदै बजारहरुभरि रमाइलो गरिहिंड्ने मन । साथीहरुमाझ प्रिय । सोल्टिनी र तरुनीहरुमाझ झनै प्रिय । आफ्नो उपस्थितिको जबरजस्त छाप छोड्न सफल उसको विन्दासपनाको कुनै गुन्जायस छैन । दु:ख, पीर र खुसीहरुलाई ऊ मज्जाले सेलिब्रेट गर्छ । सायद डुक्पा पछिल्लो दशकका औपन्यासिक पात्रहरुमध्ये सबैभन्दा रोमान्टिक पात्र हुन् ।

सम्झिन्छु, कसरी शून्य हुन्छ महाभारा डुक्पाको उपस्थितिबिना । उसको अस्तित्वबिना…..।

थाहा छैन डुक्पालाई किन भुल्न सक्दिन ? किन बिर्सन सक्दिन ? थााहा छैन किन मेरो मानसपटल र हृदयमा गहिरो छाप छोडेको बसेको छ ऊ ? जब म उसलाई सम्झिन खोज्छु, नोस्टाल्जिक भइहाल्छु ।

सम्झिन्छु डुक्पालाई पहिलोपटक कहिले भेटें ? कहिले देखें ? जब आठ वर्षको हुँदा सशस्त्र माओवादी द्वन्द्व चपेटामा परेर पुरानो गाउँ छाडी लारुम्बा बसाइँ सर्‍यौं । सायद त्यस दिनदेखि देखेको हुँला उसलाई । म जन्मिनुभन्दा दश पन्ध्र वर्षअघि जन्मिएको हुँदो हो ऊ महाभाराको कुनै पहाडमा । यहींको जुन घाम हेर्दै । हुर्किएको हुँदो हो, यहींका उकालीओरालीहरुसँग पौंठेजोरी खेल्दै । नदीनाला र वनजंगलसँग लुकामारी खेल्दै । सिकेको हुँदो हो बाँच्न यहींका देवीदेउरालीहरुसँग विश्वास भाक्दै । चञ्चल, विन्दास र हक्की उसको स्वभाव । महाभाराको पहाडभरि फुलिरहने गुराँसजस्तै । स्वच्छ र निर्मल उसको मन । महाभाराबाट बगिरहने नदीजस्तै ।

लगभग ५० को दशकबाट नेपालमा गाउँगाउँमा फिल्म हेर्ने चलन बढ्यो । बाँसमा एन्टेना ठड्याई टिभी हेर्ने चलन बढेपछि आम जनमानसमा फिल्मको भूत सवार भयो । हामीले पनि मीरा राई आन्टीको घरमा भेलिएर प्रतिव्यक्ति पैसा उठाएर खुबै फिल्म हेर्‍यौं । सबैको जिब्रोमा हिरो र हिरोइनको नाम झुण्डियो । फिल्म हेरेर रुमानी सपना नदेख्ने केटाकेटीहरु सायदै कोही थिए होलान् । राजेश हमाल र शिभ श्रेष्ठजस्तो फाइट हान्न नखोज्ने केटाकेटीहरु सायदै थिए होलान् । दिलीप रायमाझी र श्रीकृष्ण श्रेष्ठ जस्तो नाच्न नखोज्ने सायदै थिए होलान् । डुक्पा ती केटाकेटीहरुको प्रतिनिधि पात्र हुन् ।

ऊ फिल्म भनेपछि मरिमेट्छ । साथीभाइहरुलाई फिल्मको कहानी सुनाउनु उसलाई कसैले भ्याउँदैन । फिल्मको कुरा नगरी उसको दिन बित्दैन । डेनी डेन्जोङ्पालाई उसले फिल्मबाटै चिनेको हो । जसको ‘आगे आगे तोपैको गोला पछि पछि मेसिनगन बरर’ गीत गुन्गुनाइरहन्छ ऊ । उसले केही हर्कत र नखराहरु फिल्मबाटै सिकेको छ । साथीहरुलाई देखाउने स्टाइल र चालढालहरु फिल्म हेरेरै विकास गरेको छ । फिल्मको कहानी सुनाउँदै हुर्किएको उसले रुमानी सपनाहरु नदेख्ने कुरै भएन ।

किन हो, म डुक्पालाई आफ्नो हृदयको धेरै नजिक पाउँछु । एकअर्काबीच धेरै समानता भेट्छु । उसले बाँचेको भूगोल र मैले बाँचेको भूगोल फरक भए पनि, उसले र मैले बाँचेको समय फरक भए पनि युद्धले लेखिदिएको नियतिको कहानी र घटना समान पाउँछु ।

डुक्पा खासमा ड्राइभर बन्न चाहन्छ, ट्रक ड्राइभर । महाभाराको सडकभरि धुलो उडाउँदै हिंडिरहने ट्रक हेर्दै ऊ भविष्यमा तिनै पहाडहरुमा ट्रक कुदाउने सपना देख्छ । महाभाराबाट ट्रक कुदाएरै झापा झर्न चाहन्छ । महाभारा एक्सप्रेस र जय श्री हनुमानहरुको ड्राइभर देख्दा ऊ खुसीले गद्गद् हुन्छ । टाउकोमा रुमाल बाँधेर, सर्टको टाँक खुल्लै गरेर ठूलो ठूलो हर्न बजाउँदै ट्रक कुदाउने ड्राइभरहरु उसका आदर्शहरु । भर्खरै सडक बिस्तार हुँदै गरेको अवस्थामा पहाडहरुमा ड्राइभरको सान हिरो भन्दा कम हुँदैन । हरेक बस्ती र चोकहरुमा उनीहरुको सम्मान छुट्टै हुन्छ । उसले फिल्ममा पनि हिरोहरु ड्राइभर भएको देखेको छ । उसलाई पनि ड्राइभर भएर एउटी राम्री केटी विवाह गर्नुछ । घर बनाउन मन छ । परिवार बसाउन मन छ ।

म लारुम्बा पुग्दा डुक्पा ड्राइभर भइसकेको थियो । त्यसबखत इलाम सदरमुकाम र लारुम्बाको बाटो हुँदै ट्रक र ट्याक्टरहरुको लस्कर लाएर महाभारा मधेश झर्थ्यो । नागबेली बाटोहरुमा धुलोभित्र हराउँदै ट्रक हाँक्नेमध्ये सायद एक जना थियो डुक्पा । बाल्यकालको डुक्पाजस्तै म पनि स्कुल ओहोरदोहोर गर्दा साथीहरुसँग लारुम्बाको कच्ची बाटोहरुमा धुलो उडाउँदै हिंड्ने ट्रकहरु हेर्थें । चिनेका ड्राइभरहरुको गफ हान्थें । फरक यति थियो डुक्पा ड्राइभर बन्ने सपनाको लागि हेर्थ्यो । म रमाइलोका लागि हेर्थें । त्यो महाभाराको नागबेली बाटो हुँदै ट्रक कुदाउने डुक्पाको जिन्दगीमा आइपरेको संघर्ष र उतारचढावको नागबेलीहरुको धेरथोर साक्षी म पनि हुँ ।

ड्राइभर बन्न चाहने डुक्पा वास्तवमा डुल्न चाहन्छ । घुम्न चाहन्छ । निस्फिक्री । मस्त । ऊ आइपर्ने हरेक सुखद र दु:खद् परिस्थितिहरुलाई ओके छ त भनेर टारिदिन्छ । जिन्दगीप्रति उसको कुनै महत्वाकांक्षा छैन । कुनै मान्यता र धारणा पनि छैन । उसको बाँच्ने आफ्नै स्टाइल छ । ऊ यतिसम्म मनमौजी छ कि शिक्षकको एक सजायले विद्यालय जान छोडिदिन्छ । एकै कक्षामा तीनपटक फेल भए पनि पढाइमा अब्बल आफ्नो दाइ घ्याङ्सिङ भन्दा धेरै कुरा बुझ्छ । यही कारण ऊ बाउ बाबुछिरीको प्यारो छ । नजिक छ । गाउँघरको साथीहरुभन्दा ऊ गफ गर्न खप्पिस छ । मेलापात र बजारहरुमा ऊ डुक्पा डानस गरेर सबैलाई मुग्ध बनाउँछ । यहीं डानसले सोल्टिनीहरुको अघि प्रिय छ। परिआएमा ऊ फौदारी गर्न नि पछि पर्दैन । उसले सुनाउन नसक्ने फिल्मको कहानी छैन । सानैमा आमा गुमाएको उसले जस्तोसुकै अप्ठ्यारो परिस्थितिहरुलाई हाँसीहाँसी सामना गरेर बाँच्न सिकेको छ । उसले जे जति सिकेको छ अनुभवबाट सिकेको छ ।

ख्यालख्यालैमा जिन्दगी बाँचिहिंड्ने उसको जिन्दगीमा पनि ख्यालख्यालैमा धेरैथोक घट्छ । उसले फुङ्सेन मेलामा डानस गरेरै सुक्मति सोल्टिनीको मन जित्छ । प्रेममा पर्छ । तर विविध कारणवशस गाउँमा अडिन नसकेर फेरि सुक्मतिलाई खबर नगरी झापा झर्छ । ड्राइभर बन्छ । ट्रक कुदाउँदा कुदाउँदै मजदुर आन्दोलनसँग जोडिन्छ । जिन्दावाद र मुर्दावादको नारा घन्काउँदा घन्काउँदै माओवादीहरुसँग संगत बढ् छ। बिस्तारै पार्टीको सिद्धान्त र दर्शन बुझ्छ । देश र जनताको मुक्तिको बारे बुझ्छ । यसरी माओवादीहरुलाई सहयोग गर्दागर्दै नजानिंदो तरिकाले ऊ युद्धको छायामा लपेटिन्छ ।

देशमा एकदशक लामो सशस्त्र द्वन्द्व चल्यो । त्यो जनयुद्धमा लाखौं जनता प्रत्यक्ष र अप्रत्यक्ष रुपमा होमिए । हजारौंले बलिदानी दिए । कति जानेर बुझेरै होमिए त कति अन्जानैमा । कतिले आफ्नो लागि लडे त कतिले अर्काको लागि । यसरी डुक्पाजस्तो अन्जानैमा युद्धमा होमिन पुगेको हजारौं पात्रहरु छन् हाम्रो समाजमा । उनीहरुले युद्धलाई धेरैथोक दिए । रगत, पसिना, आँसु धेरैथोक सुम्पिए । यौवन सुम्पिए । तर बदलामा निराशा र पीडाबाहेक केही पाएनन् । व्यथा र घाउबाहेक । युद्धमा नहोमिए पनि कति नागरिकलाई युद्धको छिटाले नराम्रो असर पार्‍यो । कति घरबारबिहीन भएर बसाइँ सर्न बाध्य भए । कति सहाराबिहीन भए, कतिको सिउँदो पुछियो, कतिको भविष्य लुटियो ।

उसो त क्रान्ति र युद्धको कुरा गर्दा महाभाराले धेरै रगत बगाएको छ । प्राण र विचारको आहुति दिएको छ । वीर सपुतहरु जन्माएको छ । नेपालको १७ सालको प्रजातान्त्रिक क्रान्तिमा आफ्नो जबरजस्त उपस्थितिको छाप छोड्ने भूविक्रम नेम्बाङ हुन् या कम्युनिष्ट आन्दोलनको क्रान्तिनायक रत्नकुमार बान्तवा, यही महाभाराले जन्माएका हुन् । पञ्चायतविरुद्ध लड्न भूविक्रम नेम्बाङको ठूलो योगदान रह्यो । बहुदलीय शासनको प्रादुर्भाव गर्न रत्नकुमार बान्तवाको भूमिका उत्तिकै अहम् । उनीहरुको योगदानले नै सायद आज महाभारा महाभारा भएर उभिएको छ ।

किन हो, म डुक्पालाई आफ्नो हृदयको धेरै नजिक पाउँछु । एकअर्काबीच धेरै समानता भेट्छु । उसले बाँचेको भूगोल र मैले बाँचेको भूगोल फरक भए पनि, उसले र मैले बाँचेको समय फरक भए पनि युद्धले लेखिदिएको नियतिको कहानी र घटना समान पाउँछु । माओवादी त्रास र युद्धको कारण गाउँ छोडेर विस्थापित हुनुपरेको पीडा मसँग पनि आलै छ । थातथलो हराएर लिम्बुवानभित्रको डायस्पोरिक लिम्बू हुनुको हीनताबोधले मलाई सधैं चिमोटिरहन्छ । आर्थिक र सांस्कृतिक विचलनको भूमरीले फनफनी घुमाइरहन्छ । सोच्छु त्यो युद्ध नहुँदो हो त डुक्पाको जिन्दगीमा पनि यावत परिवर्तनहरु आउने थिएनन् । समस्या र परिस्थितिहरु निम्तिने थिएनन् । सरल रेखामा हिंडिरहेको उसको जिन्दगीमा समयको बक्ररेखाहरु देखिने थिएनन् ।

पार्टीको नारा र पर्चाहरु लेख्न डुक्पा फेरि गाउँ फर्किन्छ । ऊ गाउँ पुग्दा बुबा बाबुछिरी बितिसकेको हुन्छ । पुराना साथीसंगीले गाउँ छाडिसकेका हुन्छन् । सुक्मति धर्मकर्ममा लीन भएर शान्ति खोज्दै लारुम्बा बसाइँ सरिसकेकी हुन्छिन् । जताततै युद्ध र का्रन्तिको बिगुल मात्रै घन्किरहेको हुन्छ । आफ्नै छाया शत्रुजसरी डुलिरहेको हुन्छ । हरेक प्रहर मृत्युको सन्त्रास बोकेर हिंडिरहेको हुन्छ । गाउँ उसले सोचेजस्तो हुँदैन । हुस्सु र कुहिरोको चहलपहल भइरहने महाभराभरि शाही नेपाली सेनाको चहलपहल बढ्न थालेको हुन्छ । गुराँस, चाप र सेक्मुरी फलिरहने महाभाराभरि बारुदको फूल फुल्न थालेको हुन्छ । ऊ सुक्मति खोज्दै लारुम्बा पुग्छ । तर लारुम्बामा अर्को झमेला आइपर्छ । लारुम्बाको काम्ब्राङ दस्ताको माओवादीसँग शत्रुता छ । काम्ब्राङको नेतृत्व गरिरहेको तान्छोहाङले सुक्मतिलाई प्रेम गर्छ र ऊ हरबखत सुक्मतिकै वरपर रहन्छ । यस्तो अवस्थामा सुक्मतिलाई भेट्नु जानजान शत्रुलाई जिस्काउनु समान हुन्छ । डुक्पा गाउँले दाइ ब्रिजहाङलाई सुक्मतिको निम्ति खबर छाडिकन गाउँ फर्किन्छ । उसले गाउँमा चरम रिक्तता महसुस गर्छ । शून्यता र नैराश्यता महसुस गर्छ । वास्तवमा ऊजस्ता भुईंमान्छेहरुलाई युद्धले प्रदान गर्ने भनेकै यस्तै पीडा र निराशा मात्रै हो ।

लारुम्बा र माओवादी पक्षबीच द्वन्द्व चर्किएको होइन । शत्रुता नबढेको होइन । काम्राङ र माओवादीबीचको दोहोरो भिडन्तमा परेर कति घाइते भए, कतिको ज्यान गयो । मलाई लारुम्बा आक्रमण गर्न माओवादी छिर्दा पैदा भएको डर सम्झिंदा अझै पनि सिरिङ्ग सिरिङ्ग हुन्छ । मेरो काम्राङ मामा र बुबाहरु कति रात नसुती माओवादीको डिउटीमा तैनाथ बस्नुभएको छ । कति दिन खाँदाखाँदैको गाँस छोडेर माओवादीहरुसँग प्रत्यक्ष लड्नु भएको छ । माइखोलाको बगरमा माओवादीहरुले हत्या गरेको नालिफुङवाको छत्र सावदेन होस् या काम्राङ र सेना मिलेर २०५९ सालमा हत्या गरेको माओवादी कमाण्डर टेके येक्तेन होस् । आक्रमण दुवै पक्षबाट भएकै हो । सम्झिन्छु खासमा त्यो दुश्मनी कसले सिर्जना गरिदियो ? प्रतिरोध र प्रतिहिंसाको भावना कसले उत्पन्न गरिदियो ? लारुम्बाले माओवादीहरुको के नोक्सान पुर्‍याइदिएको थियो ? र, माओवादीहरुले लारुम्बाको के हानि गरिदिएको थियो ? के त्यो नेतृत्वमा रहेका दुवैतर्फका बुज्रुहरुको अहमको लडाइँ मात्रै थियो ? आखिरमा दु:ख त सर्वसाधारणले न पायो । ज्यान गुमाउने र पीडा भोग्ने त सर्वसाधारण न भयो ।

एकातिर सेनाको डर त अर्कोतर्फ काम्ब्राङसँगको मुडभेड । सम्झिन्छु डुक्पालाई नचाहँदा नचाहँदै कठिन परिस्थितिको चंगुलमा फसाउने परिस्थिति कसले निर्माण गर्‍यो ? आफ्नै घरमा पनि ऊ असुरक्षित महसुस गर्छ उसको जिन्दगी भागदौडमा सीमित हुन्छ । सेनाहरुले उसको साथीहरुको हत्या गर्छ । काम्राङले नियन्त्रण गरेर सेनाको जिम्मा लाउँछन् । पहिले रहरले आफूखुसी डुल्ने डुक्पा अब बाध्यताले डुलिहिंड्छ, आफ्नै छायासँग तर्सिंदै । बाल्यकालमा लुकिडुम खेलिहिंड्ने महाभाराको पहाडहरु कसरी ज्यान लुकाउने आश्रय बन्न पुग्छन् ? खेलिहिंड्ने बाटोहरु कसरी भागिहिंड्ने बहानाहरु बन्न पुग्छन् ? जवाफ सायद ऊ आफैंसँग छैन । तर उसको मनमा सुक्मतिप्रति अथाह प्रेम सुरक्षित रहन्छ । ऊ सुक्मतिलाई भेट्ने उत्कट अभिलाषाले द्रवीभूत भइरहन्छ । एउटा सच्चा प्रेमीले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो प्रेमलाई जोगाइरहन्छ भन्ने प्रमाण डुक्पा जत्तिको अरु कसले पेश गर्ला ? मलाई उसको प्रेम सम्झिंदा विश्वप्रसिद्ध कवि रोबर्ट बन्सको माइ लभ इज लाइक अ रेड रेड रोज भन्ने कविताको याद आउँछ । कविताको हजारौं माइल टाढा भए पनि आफ्नी प्रेमिका भेट्ने अभिलाषामा उद्धत प्रेमी र डुक्पामा म समानता पाउँछु ।

डुक्पालाई मैले जति देखें जति चिनें बाल्यकालमा चिनें । एक अबोध आँखाले । उसको नोस्टाल्जियाले मलाई बहुत सताइरहन्थ्यो । त्यो नोस्टाल्जिया मेट्न मैले जानी नजानी इलाम सदरमुकाममा महाभारा नाटक नै खेलें । नाटकमार्फत फेरि पनि भेटें उसलाई । एक पात्रको रुपमा । यसपटक उसलाई नजिकबाट हेरें ।

युद्धले बेठेगान भएको डुक्पा बारम्बार भाग्न चाहन्छ आफ्नै जिन्दगीदेखि । तर उसको जिन्दगी अल्झिरहन्छ । स्मृति र पीडाहरुमा बल्झिरहन्छ । हतास ऊ चिन्तित हुन्छ । ऊ घरी महाभारा त घरी लारुम्बा घरी लारुम्बा त घरी झापा भागिरहन्छ । ऊ सुक्मतिलाई बिहे गरेर सामान्य रुपमा घरपरिवार चाहन्छ । तर जिन्दगीले यस्तो मोडमा पुर्‍याइदिन्छ कि ऊ सपना देख्न नि वर्जित हुने स्थितिमा पुग्छ । तर ऊसँग यति बलियो सपना छ । ताकि ऊ जस्तोसुकै परिस्थितिमा पनि त्यसलाई पूरा गर्ने सामर्थ्य र प्रतिज्ञा राख्छ ।

मलाई डुक्पा अथाह सागर लाग्छ प्रेमको, अनुरागको । प्रेमको भुक्तभोगी मान्छे सायद कोमल हुन्छ । नरम हुन्छ । डुक्पाको मन पनि कोमल छ । ऊ हरदम युद्धको विश्राम चाहन्छ । युद्धविराम चाहन्छ । लारुम्बेली काम्ब्राङसँगको मुठभेडमा पनि ऊ विचलित नबनी आपसी समझदारी र मित्रताको पक्षमा उत्रिन्छ । अझ तान्छोहाङसँग त घनिष्ट सम्बन्ध स्थापित गर्छ । तान्छोहाङमार्फत ऊ सुक्मतिको नजिक पुग्न चाहन्छ । सुक्मतिको प्रेम र विश्वासको नदी उसको मनमा हरदम बगिरहन्छ । सायद प्रेमको त्यही शक्तिले बचाइरहन्छ उसलाई युद्धको त्यस्तो भयानक सन्त्रासबीच पनि । संवेदना र प्रेम हराउँदै गरेको यो समयमा साँच्चै ऊजस्ता कैयौं डुक्पाहरु बाँच्नुपर्छ, बाँचिरहनुपर्छ र सुनाउनुपर्छ प्रेमको विजयको कथा ।

भगवान रामले लक्ष्मणलाई उपदेश दिंदा त्यसै भनेका हैनन्– जननी जन्मभूमिश्च स्वर्गदापि गरियसी । सायद स्वर्गको आभास केहीले दिलाउँदो हो भने आफू जन्मेहुर्केको भूगोल र परिवेशले दिलाउँदो हो । डुक्पाको लागि खुसी, आँसु, दु:ख र संघर्षको समुच्चय हो महाभारा । मिखाइल सोलोखोबको उपन्यासको दोन नदी जस्तै । महाभारामा लत्पतिएको रगत महाभाराले नै मेटिदिन्छ । महाभारामा खसेको आँसु महाभाराले नै पुछिदिन्छ । डुक्पा पनि त्यही महाभारामै बसेर अतीतको कहालीहरुमा सयर गर्छ । हिंड्न नचाहेको युद्धको डोबहरु पुर्न खोज्छ । बिर्सिन खोज्छ र जिन्दगीको नयाँ अध्याय सुरु गर्न खोज्छ ।

ऊ फकिर शैलीमा जिउँछ । जिन्दगिमा अल्झिने नाम लिंदैन । उसको बाँचेको दर्शन भनेकै यही गतिशीलता हो । सुक्मतिलाई सम्झाउँदै ऊ भन्छ- ‘यो युद्धलाई तिमीले ठीक भन्दैमा ठीक र बेठीक भन्दैमा बेठीक हुने होइन ।’ उसको स्वाभाव जजमेन्टल हवइन । ऊ वस्तुस्थितिलाई जस्तो छ त्यस्तै अवस्थामा बुझ्न चाहन्छ । ऊ हीनता र ग्लानिमा बाँच्न चाहँदैन । प्रतिरोध र प्रतिसोधमा बाँच्न चाहँदैन । मलाई डुक्पाको मनपर्ने कुरा नै यही हो बिन्दासपन । जहाँ आँसु भए पनि फुलिरहन्छ मुस्कानको फूल । पीडा भए पनि झाँगिरहन्छ खुसीको पालुवा । युद्धको जर्जर घाउले लपेटिए पनि फेरि संघर्षको नयाँ अध्याय कोर्दै आफ्नो जिन्दगीलाई डोहोर्‍याइरहनु डुक्पाको महानता हो । उसले जिन्दगीको धेरै कुरा सिकाउँछ ।

हो डुक्पा डुलिहिंडेको महाभारामा कैयौं पटक म पनि डुलेको छु । बताससँग जिस्किंदै, भुईंकुहिरोसँग बयलिंदै खुइय हालेको छु । ऊजस्तै फुङसेन डाँडामा बसेर सोल्टिनीलाई सम्झेको छु । विश्वास भाकेर देउरालीमा पाती चढाएको छु । ऊजस्तै व्यथाहरु त्यहींको हावामा उडाइपठाएको छु । पीडाहरु त्यहींका चराहरुलाई सुनाएको छु । त्यो बाटो भएर जतिपटक हिंडे पनि म डुक्पालाई सम्झिन्छु । याद गर्छु । नोस्टाल्जिक हुन्छु ।

डुक्पा को हो ? फेरि पनि उत्तर त डुक्पा नै हो । वास्तवमा ऊ धेरैथोक हो । ऊ जनयुद्धको छिटाहरुले प्रभावित भएका धेरै नेपालीको प्रतिनिधि पात्र हो । ऊमार्फत हामी ५० को दशकको सशस्त्र द्वन्द्वको संक्रमणकालीन समयलाई चिहाउन सक्छौं । एउटा सामान्य मानिसलाई युद्धले पारेको असर र त्यसबाट छुटकारा पाउन गर्ने संघर्षलाई बुझ्न सक्छौं ।

डुक्पालाई मैले जति देखें जति चिनें बाल्यकालमा चिनें । एक अबोध आँखाले । उसको नोस्टाल्जियाले मलाई बहुत सताइरहन्थ्यो । त्यो नोस्टाल्जिया मेट्न मैले जानी नजानी इलाम सदरमुकाममा महाभारा नाटक नै खेलें । नाटकमार्फत फेरि पनि भेटें उसलाई । एक पात्रको रुपमा । यसपटक उसलाई नजिकबाट हेरें । नजिकबाट बुझें । कमरेड सिक्साम्बाको आँखाबाट । ऊसँग महाभारा पहाडभरि सँगै रहेर यात्रा गरियो । क्रान्तिको कुरा गर्दै झुपडीहरुमा रात बिताइयो । गुन्द्रुक र ढिंडो खाइयो । एउटै बोतलबाट जरुवाको पानी पिइयो । कतिपटक भावुक भएर ग्वाम्लाङ्ग अंगालो हालियो । पात्रबाट भए पनि डुक्पालाई भेट्न पाउनु खुसीकै अनुभूति हुँदो हो ।

सम्झिन्छु, अहिले डुक्पा कत्रो भयो होला ? कहाँ होला ? के गर्दै होला ? महाभारामा उसको गीत सुसाउँछ कि सुसाउँदैन ? उसको सम्झनामा फुङसेन मेलामा सल्लेरी फूलहरु फुल्छन् फुल्दैनन् ? सुक्मति र उसलाई सम्झिंदै चारखोले र पाँचथरे बादलहरु महाभारा डाँडामा भेट्छन् भेट्दैनन् ?

डुक्पाजति नजिकबाट महाभारालाई कसले बुझेको छ र ? कसले चिनेको छ र ? लाग्छ डुक्पाले नै सिकाएको थियो महाभारालाई पालम गाउन, धान नाच्न, सपना देख्न । ऊ नहुँदा पक्कै पनि महाभारा न्यास्रो मान्दो हो, उदास हुँदो हो । ऊ जति बस्यो महाभारामा शानसँग बस्यो, जति बाँच्यो महाभारामा शानसँग बाँच्यो । उसले जति गुमायो महाभारामै गुमायो, जति पायो महाभारामै पायो ।

डुक्पा, एक डुलिहिंड्ने मन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?