+
+
पुस्तक समीक्षा :

ब्राह्मणवाद विरुद्ध बुद्ध र अम्बेडकर

सञ्जीव कार्की सञ्जीव कार्की
२०८० साउन १३ गते १४:३४

मर्यादा र मानवअधिकार, आत्मसम्मान तथा जातीय छुवाछूत भेदभाव विरुद्ध सक्रिय सिर्जनशील अभियन्ता हुन्– कमला हेमचुरी।

उनको पुस्तक ‘ब्राह्मणवाद विरुद्ध बुद्ध र अम्बेडकर’ भित्र हिन्दु शासकहरूले ब्राह्मणवादी दर्शनको जगमा टेकेर गरेको शासनमा जात व्यवस्था गहिरो गरी जरा गाडेर बसेको तथ्य खोतलिएको छ। साथै, कथित छूतहरूले कथित अछूतहरूलाई इतिहासदेखि आजपर्यन्त हिंसा, अपमान, थिचोमिचो र अमानवीय व्यवहार गरेर दुःख दिएको निष्कर्ष निकालिएको एउटा पठनीय पुस्तक हो यो । बुद्ध दर्शनमा स्नातकोत्तर तहको शोधकार्य भएकोले पनि प्राज्ञिक र सैद्धान्तिक दृष्टिकोणले पुस्तक गहकिलो छ ।

पुस्तकमा ब्राह्मणवाद के हो ? हिन्दु धर्ममा जातीय विभेद र वर्ण व्यवस्था कस्तो छ ? नेपालमा जात व्यवस्थाको बीजारोपण र विकास के–कसरी भएको थियो ? कथित अछूतहरूको किरातकालदेखि आजसम्मको अवस्था कस्तो छ ? बुद्धले जातिवाद विरुद्ध के कस्तो कदम चाल्नुभयो ? बुद्धका उपदेश र विचार कसरी आएको छ ? ब्राह्मणवादले जातिवादको नाममा मानिस–मानिसलाई कसरी विभक्त गरेर विभेद गरेको छ ? लगायत प्रश्नको जवाफ दिने कोसिस गरिएको छ ।

ब्राह्मणवाद विरुद्ध लड्न बुद्धले चालेका कदमको विश्लेषण गर्दै पुस्तकभित्र बुद्ध र अम्बेडकरको जीवनीदेखि हिन्दु धर्ममा अभ्यास गरिएका दुर्बल पक्षको चिरफार गरिएको छ । जातीय विभेद विरुद्ध बुद्धको विचार र उपदेशको महत्व प्रकाश पारिएको छ । बुद्ध धर्मको भिक्षु संघ भित्र प्रवेश गरिसकेपछि सबैले आ–आफ्नो जात र गोत्र छोड्नुपर्छ। पुस्तकमा सङ्घलाई समताको सूचक अभ्यासको रूपमा चित्रण गर्दै समता र मर्यादाको उत्तम नमूनाको संज्ञा दिइएको छ।

भिक्षु संघको अभ्यास समतामूलक संसार र जातरहित विश्वको परिकल्पनामा आधारित भएकोले बुद्धवादले समता, मर्यादा र मानवजातिलाई न्याय दिन्छ भन्ने विश्वासले अम्बेडकर बुद्ध धर्मको अनुयायी बनेको प्रसंग पुस्तकमा उल्लेख गरिएको छ। मानवतावादको केन्द्रीय दर्शन नै बुद्ध धर्म भएको लेखक हेमचुरीको दाबी पुस्तकमा पाइन्छ ।

ब्राह्मणवाद एक व्यक्ति र उसको एक्लो जातको कर्तुत होइन। यो एक आम प्रवृत्ति हो र यसले प्रायः सबै समुदायसम्म पुगेर जरो गाडेर बसेको छ । यो एक रोगको अवस्थामा रहेकोले यसको कारण पत्ता लगाएर रोग निदानको लागि बौद्धिक, प्राज्ञिक र कानुनका डाक्टर अम्बेडकरले केही ‘औषधि’ सिफारिस गरेको सन्दर्भ पुस्तकमा यथेष्ट उल्लेख छ जसलाई लेखकले जातीय विभेद विरुद्ध रामवाण ठानेको देखिन्छ ।

भारतमा लोपोन्मुख अवस्थामा पुगेको बुद्ध धर्मलाई पुनर्जीवन दिएर डा. भीमराव अम्बेडकरले शोषित, पीडित आम मान्छेलाई उत्पीडनबाट बच्ने उत्तम मार्ग र विकल्पको रूपमा अगाडि सारे । दलित चेतनाको आलोकबाट निसृत पुस्तकमा मानवतावादको पृष्ठपोषण र अमानवीय वैचारिकी र धर्मको कठोर निन्दा गरिएको छ ।

संसारमा चार वटा— धार्मिक, राजनीतिक, आर्थिक र ज्ञानको सत्ता रहेका छन्। यी कुनै सत्तामा पनि दलित समुदायको पहुँच र वर्चस्व नभएको कारण सधैं किनारमा रहनु परेको र दमन झेल्नु परेको व्याख्या पुस्तकमा छ। मुक्तिका लागि यी चार सत्तामा आफ्नो वर्चस्व बनाउनुपर्ने विचार लेखकले अगाडि सारेकी छन्। यद्दपि बुद्ध धर्मको अवलम्बनबाट मात्र यो सम्भव नहुने हुनाले यसमा व्यक्तिको आफ्नो आस्था र विश्वास मात्र भनेर बुझ्न सकिन्छ समग्र दलित मुक्तिको पक्षमा बुद्ध धर्मको अवलम्बन मात्र पर्याप्त नहोला कि ? हिन्दु धर्म त्याज्य रहेको निष्कर्ष मात्र प्रस्तुत गरिरहँदा हिन्दु धर्मको सबल पक्षको उन्नति र दुर्बल पक्षको त्याग गरेर त्यहीं सुधारको गुन्जायस नदेखिनुमा दुई कुराले काम गरेको देखिन्छ : लेखक दलित समुदायको हुनुको कारण जन्मेदेखि भोग्दै आएको उत्पीडन र अपमानले हिन्दु धर्ममा विरक्त पैदा हुनु, विश्वास नहुनु र अर्को प्रतिशोधको भावना रहनु ।

वैदिक कालमा समाजलाई चार भागमा विभाजन गरेर एउटा आदर्श समाज निर्माणको परिकल्पना गरिएको भए पनि यही व्यवस्था दक्षिण एशियाली राष्ट्रहरूमा जात व्यवस्थाको उत्पत्ति र विकासको मूल आधार बन्न पुग्यो र मानिस–मानिसका बीच गहिरा विभाजनका रेखाहरू कोरिए ।

कमला हेमचुरी लेखकीयमा लेख्नुहुन्छ : ‘मान्छेहरू मान्छे नभएर ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रको रूपमा विभक्त भए । ब्राह्मणलाई ज्ञान प्राप्त गर्ने र बाँड्ने अधिकार, सम्पत्ति माथिको अधिकार, क्षेत्रीको काँधमा बन्दुक क्षेत्री, वैश्य र शूद्रलाई दमन गर्ने अधिकार, शूद्रको सम्पत्ति र स्त्रीमाथिको अधिकार यस्ता सबै अधिकारहरू धर्मको नाममा सुनिश्चित गरिदिएको छ । क्षेत्रीलाई बन्दुकको भ्रम राज्य संचालन गर्ने अधिकार, वैश्यलाई व्यापार व्यवसाय गरेर खाने अधिकार दिएको छ तर शूद्रहरूलाई यी सब अधिकारहरूबाट वञ्चित गरेर केवल यी तीन वर्गको सेवा गरेर बस्ने दायित्व मात्र सुम्पेर दासत्व स्वीकार गरेर बस्न बाध्य बनाउने दर्शन भएको छ ब्राह्मणवाद ।’

झट्ट सुन्दा र देख्दा यी भनाइहरू वर्तमानमा अतिशयोक्तिपूर्ण लागे पनि विगतको जीवन्त चरित्र यही हो । आज केही ठाउँमा केही समय र केही क्षेत्रमा खुकुलो भए पनि कथित शूद्रलाई हेर्ने आम दृष्टिकोण यही हो । होइन भने आज पनि सार्वजनिक धारो र इनार छोएको निहुँमा मान्छे मारिन्छन् किन ? उपल्लो भनिएको जातसँग प्रेम र बिहे गर्दा मान्छे मारिने, बेपत्ता पारिने, मन्दिरमा वर्जित र अपमानित गरिने घटना किन हुन्छन् ? दलित समुदायको मान्छेलाई भान्छे र पुजारी बनाउन किन रोकिन्छ ?

यदि यस्ता घटना अपवाद हुन् भने यसको विरुद्ध सिङ्गो समाज र देश किन बोल्दैन ? त्यसैले आज पनि प्रकारान्तरले अछूत भनिएकाहरूप्रति हाम्रो समाज अनुदार छ । उपेक्षा गर्छ । अपमान गर्छ । र दलित समुदायको मान्छे मारिनुलाई उसको नियति भन्छ ।

त्यसैले कमला हेमचुरीको लेखकीय मन्तव्यमा व्यक्त यी धारणा अतिरन्जना होइनन्। यदि हो भने नवराज विक, अंगिरा पासी, लक्ष्मी परियार, सेते दमाई लगायत लगभग ४ दर्जन मान्छेको परिवारसँग सोध्न जाऔं, जो २०७२ को गणतान्त्रिक संविधान जारी भएपछि नै जातको कारण मारिए । घाउको पीडा घाउ भएर दुख्नेलाई थाहा हुन्छ, घाउ बनाउनेलाई होइन!

यद्यपि, किताब समाजको विश्वदृष्टि मात्र नभएर एउटा व्यक्तिको परिकल्पना र रचना समेत हो। त्यसैले व्यक्तिको भोगाइ, आग्रह, प्रतिशोध, घृणा, लगाव, क्षमा, माफी, निन्दा, प्रशंसा, माया, सद्भाव आदि प्रशस्त मात्रामा आउँछ नै  यस किताबमा पनि व्यक्ति कमला हेमचुरीका सबल र दुर्बल पक्ष छन् । आलोचनात्मक विमर्श गर्दा पुस्तकमा व्यक्त विचार अलिकति आग्रह, अलिकति दुराग्रह, केही असत्य र थुप्रै सत्य, केही भ्रम केही यथार्थको मिश्रणको रूपमा मैले बुझेको छु ।

तथापि ब्राह्मणवादको कोपभाजनमा परेको समुदायलाई तिम्रो मुक्ति दाता तिमी नै हौ भनेर सङ्घर्ष गर्न बुद्धले देखाएको मार्ग आम उत्पीडनमा परेका मान्छेको लागि उत्प्रेरणाको विषय र स्रोत हो । मुक्तिको लागि मार्ग देखाउने अगुवा र मार्गमा हिंड्ने विधि र पद्धति निर्माणमा लेखकको भूमिका रहन्छ। त्यही भूमिका कमला हेमचुरीको किताबको आकर्षण हो ।

यो पुस्तक इतिहासको केही उत्खनन् हो भने केही भविष्यको मार्गदर्शन, सँगै अहिलेको नेपाली समाजको दस्तावेज पनि हो। यो किताबको सामाजिक र बौद्धिक मूल्यका लागि सञ्जीव उप्रेती, डीबी नेपाली ‘दमु’ धनकुमारी सुनार र डा. मित्र परियारको व्याकफ्लिपले पनि यथेष्ट योगदान दिएको छ । सुशील बिकेको भूमिकाले पनि सामाजिक मूल्यको आयतन बढाएको छ ।

आठ शीर्षक र अन्य थुप्रै उपशीर्षक र २०० पेजमा अनुबन्धित किताबमा जातप्रथाको बीजारोपण र विकासदेखि लुम्बिनी सांस्कृतिक नगरपालिकाका कथित अछूतहरूको जीवनमा बुद्ध धर्मको प्रभावसम्मको अध्ययनको दृष्टान्त प्रस्तुत गरिएको छ। साथै पुस्तकमा दलित मुक्तिका लागि बुद्ध धर्मको अनुकरण गर्नुपर्ने विकल्प प्रस्तुत गरिएको छ।

नेपाली भाषाको किताब भएर पनि थुप्रै भाषिक कमजोरी, व्याकरणगत त्रुटि, अशुद्ध लेखन, असंगठित पाठयोजना र उपर्युक्त संशक्तिको अभाव देखिन्छ ।

सोसाइटी बुक्स नेपालद्वारा प्रकाशित पुस्तक व्यक्तिगत ३०० र संस्थागत ५०० भौतिक मूल्य राखिएको किताबको सामाजिक मूल्य भने अङ्कमा उल्लेख गर्न सकिन्न । पाठक र समालोचकले दिने मूल्य यसको सामाजिक मूल्य रहनेछ ।

किताब प्रकाशनको लागि प्राप्त सहयोगको फेहरिस्तको पारदर्शिता र पुस्तक बिक्रीबाट प्राप्त हुने रकम समाज रूपान्तरणका लागि उपयोगी पुस्तकहरू प्रकाशनमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। लेखकले पुस्तक ‘करोडौं मानवहरू, जो धर्मको नाउँमा अमानवीय विभेद र हिंसा भोगिरहेका छन्, तर विद्रोह गर्ने सोच राख्दैनन् उनीहरूको निर्वाण र प्रेरणाका खातिर समर्पित’ गरेकी छन् ।

अघि नै जातको विनाश २०५४, अछूत को र कसरी २०७६ दुई किताबको अनुवाद गरिसकेकी हेमचुरीको तेस्रो किताब ‘ब्राह्मणवाद विरुद्ध बुद्ध र अम्बेडकर’ स्नातकोत्तर तहको शोध ग्रन्थ हो । जसमा प्राज्ञिक शोधको मर्यादा र सीमा पार गरेर भावनामा बहकिन मिल्दैन, तथ्य र स्रोत उल्लेख गर्नुपर्छ ।

लेखकको बारेमा
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?