+
+
एसियाली खेलकुद :

पुरुष भलिबलमा फेरिएको टिम, कठिन विपक्षी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० साउन १४ गते १९:०१

१४ साउन, काठमाडौं ।  नेपाली पुरुष राष्ट्रिय भलिबल टिम लगातार दोस्रो र समग्रमा पाँचौ पटक एसियन गेम्स खेल्ने तयारीमा छ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुने १९औं एसियन गेम्सका लागि मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोली प्रशिक्षणमा व्यस्त छ ।

व्यक्तिगत खेलमा समेत पदक जित्न कठिन भइरहेको एसियन गेम्समा सामूहिक खेलको सहभागिता नै ठूलो विषय हो ।

यस्तोमा यो पटक नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलमा महिला र पुरुष दुवै टिमले एसियन गेम्स खेल्दैछन् । एसियाका बलिया राष्ट्रहरुसँग खेल्दै अन्तर्राष्ट्रिय अनुभव लिने नेपालको योजना छ ।

कठिन समूह

बिहीबार भएको भलिबलको पुरुषतर्फको ड्र अनुसर नेपालले समूह चरणमै कठिन प्रतिद्वन्दी पाएको छ । पछिल्लो दुई संस्करणको एसियन गेम्समा स्वर्ण जितेको इरान र बहराइनसहित नेपाल समूह बी मा छ ।

इरानले २०१४ मा कोरिया र २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा भलिबलमा स्वर्ण जितेको थियो । त्यसैले इरानसँग खेल्न पाउनु नेपालको लागि अनुभव र एक्सपोजरको हिसाबले महत्वपूर्ण अवसर हुनेछ । विश्व वरीयतामा इरान १०औं स्थानमा छ ।

‘इरान विश्वकै टप टेन भित्र रहेको टिम हो र एसियाको नम्बर वान टिम हो । उनीहरुको स्तर धेरै माथि छ । इरानको खेलाडीहरुमा को राम्रो भनेर प्रतिस्पर्धा हुन्छ । त्यस्तो टिमसँग खेल्न पाउनु पनि हाम्रो लागि ठूलो अवसर हो,’  नेपाली भलिबलकै सफल प्रशिक्षक र २०१८ को एसियन गेम्समा पुरुष टिमको प्रशिक्षक रहेका जगदीश भट्टले भने ।

उनकै प्रशिक्षणमा नेपालको पुरुष टिमले २०१७ मा एभीसी सेन्ट्रल जोनमा तेस्रो हुँदै कास्य पदक जितेको थियो भने महिला टिमलाई दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाएका थिए ।

‘सकेसम्म जित्नकै लागि खेल्ने हो । नसके पनि हामीले ठूला टिमसँग खेल्दा धेरै कुरा सिक्ने अवसर पाउँछौं’, भट्टले थपे । नेपालको अर्को प्रतिद्वन्दी बहराइन ७६औं स्थानमा छ ।

पुरुष भलिबलमा १९ टिम सहभागी हुनेछन् । समूह चरणपछि पोजिसन छुट्याउनका लागि पनि प्लेअफ खेलहरु हुनेछ । जसको अर्थ नेपाल समूह चरणपछि पनि थप खेल खेल्न पाउँछ । ‘जति धेरै खेल्यो उति नै अनुभव र एक्सपोजर प्राप्त हुने भएकोले त्यसको सदुपयोग गर्नुपर्छ’, भट्टले भने । नेपालले गत एसियन गेम्स भन्दा यस पटक राम्रो प्रदर्शन गर्ने भट्टको विश्वास छ ।

नेपाली टिमका कप्तान मानबहादुर श्रेष्ठले पनि यस पटक पहिलाको भन्दा राम्रो प्रदर्शन गर्ने बताए । ‘हाम्रो लक्ष्य भनेको २०१८ को भन्दा पोजिसन ल्याउने हो । यस पटक राम्रो टिमहरुसँग खेल्दा हामीले धेरै अनुभव लिने मौका हुनेछ’, श्रेष्ठले थपे ।

नेपालको तयारी

पछिल्लो पटक २०१८ मा भएको एसियन गेम्समा १५औं भएको नेपालले यस पटक त्यो भन्दा राम्रो स्थान ल्याउने अपेक्षा राखेको छ ।

नेपाली टिमलाई अहिले बेल्जियन प्रशिक्षक जान डी ब्रान्ट, जगदीश भट्ट र भरत यादवले प्रशिक्षण दिइरहेका छन् ।

एसियन गेम्सका लागि पुरुषतर्फ प्रशिक्षण टिममा हान अबिङ र भरत यादव छन् र तर हान सेप्टेम्बरमा मात्रै आउने भएकोले अहिले अन्य प्रशिक्षकले टिमलाई प्रशिक्षण दिइरहेका छन् ।

नेपालले गत महिना कीर्गिस्तानमा भएको काभा नेसन्स लिग भलिबल प्रतियोगिता खेलेको थियो । जहाँ नेपालले ६ खेल खेल्ने अवसर पाएको थियो । एक खेल पनि नजितेको नेपालले एसियन गेम्समा लागि भने अनुभव बटुल्ने मौका पायो ।

काभा नेसन्स लिगमा नेपालका प्रशिक्षक समेत रहेका भट्टले नेपालले सबै खेल हारे पनि त्यो प्रतियोगितामा राम्रो एक्सपोजर प्राप्त भएको बताए ।

‘हामी त्यहाँ खेलेको सबै टिमसँग कडा प्रतिस्पर्धा भएको थियो । हामीले त्यहाँ च्यालेन्ज र अपरच्युनिटीको बीचमा पनि खेल्यौं नर्भस र एक्साइटमेन्टको बीचमा पनि खेल्यौं,’ भट्टले भने, ‘अब बलियो टिमसँग खेल्दा हामी कसरी मानसिक रुपमा तयार भएर जान्छौं भन्ने एसियन गेम्सले देखाउँछ ।’

कीर्गिस्तानमा गरेको प्रदर्शनबाट काभाका अध्यक्ष र महासचिव समेत प्रभावित भएको भन्दै भट्टले नेपालले अझ मिहिनेत गरेर आगामी सेन्ट्रल जोन प्रतियोगितामा फाइनल पुग्ने लक्ष्य राखेको सुनाए ।

सुरुमा एक्साइटेट भएर खेल्ने र जित्ने जित्ने बेला पुग्दा नभर्स हुने नेपालको समस्या छ । नेपालले खेलमा अब यस्ता गल्ती सकेसम्म कम गर्नुपर्ने भट्टले बताए ।

‘हामी हार्दा पनि आफ्नै गल्तीले हारेको छौँ । विपक्षले अंक धेरै जोडेको भन्दा पनि हामीले धेरै गल्ती गर्दा उनीहरुलाई फाइदा पुगेको छ’, काभा नेसन्स लिगबाट पाठ सिकेर नेपालले सुधार गर्नुपर्ने उनले बताए ।

फेरिएको टिम

नेपालको पुरुष भलिबल टिम अहिले फेरिएको छ । पछिल्लो समय भलिबलमा नयाँ खेलाडी आउनु र पुराना खेलाडीहरु करिअरको अन्त्यतिर पुग्नुले पनि टिममा धेरै परिवर्तन देखिएको छ ।

पाँच वर्षअघि इन्डोनेसियामा एसियन गेम्स खेलेका १२ मध्ये अहिले दुई खेलाडी मात्रै टिममा छन् । त्यसबेला खेलेका मानबहादुर अहिलेको टिमको कप्तानको भूमिकामा छन् भने विशालबहादुर विक पनि टिममा छन् । बाँकी १० खेलाडीका लागि यो पहिलो एसियन गेम्स हुनेछ ।

एसियन गेम्सका लागि घोषित टोलीमा धिरोज बस्नेत, सम्राट भण्डारी र मनिष मानन्धर पहिलो पटक टिममा परेका हुन् । यस्तै हेमन्तबहादुर मल्ल, सफल विक र लोकेन्द्र गिरीले गत महिना भएको काभा नेसन्स लिगबाटै डेब्यु गरेका थिए ।

त्यसबाहेक दुर्गाबहादुर खड्का र टेकराज अवस्थीले २०१९ मा काठमाडौंमै भएको एभीसी सेन्ट्रल जोनमा डेब्यु गरेका थिए भने रविन चन्दले २०१९ को १३औं सागमा डेब्यु गरेका थिए ।

लिबेरो विशाल चन्दले २०२१ मा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा डेब्यु गरेका थिए ।

पुराना र नयाँ खेलाडीको मिश्रणले टिम राम्रो बनेको प्रशिक्षक भट्टले बताए । ‘नयाँ खेलाडीहरुको राम्रो छन् । उनीहरुको लागि पनि एसिएन गेम्समा अनुभव लिने अवसर हुनेछ । जसबाट एसियन गेम्सपछि खेल्ने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता सहयोग पुग्छ,’ भट्टले भने ।

डेब्यु गर्न बाँकी नयाँ खेलाडीहरुमा धेरै सम्भावना रहेको उनले बताए ।

कप्तान मानबहादुर श्रेष्ठले सिनियर र जुनियरको मिश्रण हुँदा टिम राम्रो बनेको बताए । ‘अहिलेको टिम राम्रो छ । युवा खेलाडीहरु पनि छन् । उमेर समूह र सिनियर टिमका लागि खेलिसकेका खेलाडीहरुको मिश्रण छ । जुनियर खेलाडीहरुले पनि उमेर समूहमा नेपालको जर्सी लगाएर खेलिसकेका छन् । त्यसैले हामी सबै जना उत्साही छौं’, श्रेष्ठले भने ।

एसियन गेम्समा पुरुष भलिबलको इतिहास

नेपालको पुरुष भलिबल टिमले अहिलेसम्म चार पटक एसियन गेम्समा सहभागिता जनाएको छ ।

सन् १९७८ मा पहिलो पटक नेपालले एसियन गेम्सको भलिबलमा सहभागिता जनाएको थियो । त्यो नै नेपाली पुरुष भलिबल टिमले खेलेको पहिलो आधिकारिक प्रतियोगिता थियो । त्यसअघि नेपालले १९७६ मा पाकिस्तानमा काइते अजाम प्रतियोगिता खेले पनि त्यो आधिकारिक प्रतियोगितामा थिएन । त्यसपछि नेपालले १९८२ र १९८६ मा गरी लगातार तीन पटक एसियन गेम्स खेल्यो । तर त्यसपछि एसियन गेम्समा पुनरागमन गर्न नेपाललाई ३२ वर्ष लाग्यो ।

पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा २० टिम मध्ये नेपाल १५औं भयो । समूह चरणमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग सोझो सेटमा पराजित भएको नेपालले १३-१८औं स्थानको लागि भएको क्वाटरफाइनलमा मंगोलियालाई हरायो । तर त्यसपछि श्रीलंकासँग पराजित हुँदा नेपालले १५औं स्थानको लागि कीर्गिस्तानसँग खेल्नुपर्‍यो । कीर्गिस्तान खेलमै सहभागी नहुँदा नेपाल १५औं भएको थियो ।

एसियन गेम्स खेल्ने खेलाडी

मानबहादुर श्रेष्ठ (कप्तान), टेकराज अवस्थी, धिरोज बस्नेत, रबिन चन्द, दुर्गाबहादुर खड्का, हेमन्तबहादुर मल्ल, बिशालबहादुर विक, बिनोद चन्द, सम्राट भण्डारी, मनिष मानन्धर, सफल बिक, लोकेन्द्र गिरी ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

 

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?