+
+

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

रासस रासस
२०८० साउन १४ गते १८:४०

१४ साउन, बेलबारी । मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर, खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ । अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् ।

प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन् । राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ । अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहैकै छन् । तिनै प्रतियोगिताबाट खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन् ।

खेल मैदान देखेर खेलाडी उत्साहित हुने गरेका भए पनि सामग्री अभावमा उनीहरु निराश हुनुपरिरहेको मोरङको बेलबारीका फुटबल प्रशिक्षक शङ्कर सुवेदी बताउँछन् । बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । ‘सङ्घीय सरकारले खेलकुदमा गर्ने लगानी बेलबारीसम्म पुग्दैन’, उनले भने, ‘स्थानीयस्तरमा सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गर्दैआएका छौँ ।’

मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजिन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन् । बेलबारीका विवेक पौडेल र अञ्जन राई पनि राष्ट्रिय टोलीमा छनोट भइसकेका खेलाडी हुन् ।

मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिता सञ्चालनका लागि समन्वय हुँदै आएको बताउँछन् ।

‘जिल्ला फुटबल सङ्घ आर्थिकरूपमा कमजोर भएकाले खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन सकिएको छैन’, उनले भने ।

भाउन्नेस्थित खेल मैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका मच्छिन्द्र, जाउलाखेल र च्यासल क्लबबाट फुटबल खेलेका विक्रम लिम्बूले भने, ‘खेल सामग्री पर्याप्तरुपमा पाउन सके दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन ।’ राजधानी केन्द्रित खेलकुदको बजेट मोफसलमा ल्याउन आवश्यक भएकामा उनले जोड दिए ।

मोरङको बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार बनाएर  डाँगीहाट युथ क्लब स्थापना भएको छ । भाउन्ने क्षेत्रलाई समेटेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब सक्रिय छ । राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ ।

स्रोतसाधनको अभावमा गोल्डकपको आयोजना गर्नु चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष विक्रम वान्तवा राई बताउँछन् । २०७० सालमा स्थापना भएको उक्त क्लबले हालसम्म लक्ष्मी माविको खेल मैदानमा पाँचवटा गोल्डकप भव्यरूपमा सम्पन्न गरिसकेको छ ।

अध्यक्ष राईले क्लब छैटौँ गोल्डकपको तयारीमा जुटेको जानकारी दिए ।  स्थानीय तथा विदेशमा छरिएर रहेका खेलप्रेमीको सहयोगमा निर्भर रहेको बेलबारी-११ लक्ष्मीमार्गस्थित खेल मैदान हेर्दै आकर्षक रहेको छ ।

प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन प्रतियोगिता र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेल मैदानमा सञ्चालन हुँदैआएका छन् ।

२०६६ सालमा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल भएको छ । क्लबले तीनवटा गोल्डकप प्रतियोगिता सम्पन्न गरिसकेको छ । एक दशकअघि यही खेल मैदानमा राष्ट्रिय टोलीविरूद्ध मोरङ-११ को खेल भएको थियो ।

१३ वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ । बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल गतिविधिलाई केन्द्र बनाइराख्ने अर्को क्लब हो बेलबारी फुटबल क्लब ।

त्यसैगरी उर्लाबारी स्थित उर्लाबारी फुटबल क्लब, सम्राट स्पोर्टिङ क्लब, युनाइटेड युथ क्लब, मोतीराम स्पोर्टिङ  क्लब, नव प्रगतिशील समाजसेवा क्लब जहदा, हरैँचा स्पोर्टिङ क्लब, चारतारे युवा क्लब लेटाङ र साइनो स्पोर्टिङ क्लब खेल गतिविधिमा सक्रिय रहेको प्रशिक्षक सुमन श्रेष्ठ बताउँछन् ।

‘खेलाडीले पर्याप्त खेल सामग्रीका साथै प्रशिक्षक पाउनसके खेलको स्तर पक्कै उकासिने छ’, उनले भने । मोरङमा रानी युवा क्लब, त्रिवेणी युवा क्लब, एम्रियो युवा क्लब र रमाइलो युवा परिवार पनि खेल गतिविधिका लागि परिचित छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?