+
+

आइसल्याण्डमा कामसँगै एसियाली खेलकुदको तयारीमा छन् गणेश

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० साउन १५ गते १४:००

१५ साउन, काठमाडौं ।  चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाली खेलकुदको र्‍याफ्टिङ एण्ड क्यानोइङमा गणेश गुरुङले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

यो विधाका उनी एक्लो खेलाडी हुन् ।  एसियाली खेलकुदमा नेपालले भाग लिने खेलको सूचीमा सुरुमा क्यानोइङ थिएन । तर पछि राष्ट्रिय खेलकुद परिषदले सम्बन्धित संघको रिपोर्ट र सिफारिसका आधारमा थपिएका ६ खेलमा क्यानोइङ पनि पर्‍यो ।

यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा निमबहादुर मगरले क्यानोइङमा सहभागिता जनाएका थिए ।

आइसल्याण्डमा काम गर्दै तयारी

गणेशले क्यानोइङ स्लालोममा प्रतिस्पर्धा गर्नेछन् । गत फेब्रुअरीमा भएको नेसनल र्‍याफ्टिङ च्याम्पियनसिपमा विजेता भएका आधारमा गणेश एसियन गेम्सका लागि छनोट भएका हुन् ।

राष्ट्रिय प्रतियोगिता हुँदा नेपालमा आएर प्रतिस्पर्धा गर्ने गणेश गुरुङ रोजगारीका लागि आइसल्याण्डमा छन् । राम्रो कमाइ हुने भएकोले नेपाली र्‍याफ्टिङ खेलाडीले विदेशमा नै काम गर्दै आएका छन् ।

आइसल्याण्डमा कामसँगै व्यक्तिगत रुपमा प्रशिक्षण पनि गरिरहेको गणेशले बताएका छन् ।

अनलाइनखबरसँगको इमेल सम्पर्कमा उनले लेखेका छन्, ‘आफै प्रशिक्षण गरिरहेको छु । शारीरिक रुपमा हप्ताको ५ दिन ७-८ किमी दौडन्छु । हरेक दिन स्ट्रेचिङ र वर्कआउट गर्छु,’

काम गर्दै प्रशिक्षण गर्न कठिन हुने भए पनि आफूले सक्दो मिहिनेत गरिरहेको उनले बताए । ‘एउटै समयमा काम गर्न र ट्रेनिङ गर्न चुनौती हुन्छ । तर पनि म मेरो देशको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गर्नका लागि एकदमै मिहिनेत गरिरहेको छु । देशको लागि राम्रो प्रदर्शन गर्ने लक्ष्य छ’, उनले भने ।

र्‍याप्टिङलाई प्रमोसन गर्ने अवसर

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले क्यानोइङ नेपालको लागि सुहाउँदो खेल भएकोले एसियन गेम्समा राम्रो प्रतिस्पर्धा गर्न सक्ने बताए ।

‘र्‍याफ्टिङ र क्यानोइङ हाम्रो भू-वनावट अनुसारको खेल हो । यसलाई प्रमोसन गर्ने अवसर छ । र्‍याफ्टिङले अन्तर्राष्ट्रिय इभेन्टहरुमा पनि राम्रो प्रदर्शन गरिरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘नेपाल र्‍याप्टिङ एण्ड क्यानोइङ संघले यो खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सकिन्छ भनेर रिपोर्ट बुझाएको आधारमा परिषदले यस खेललाई सहभागि गराउने निर्णय गरेको हो । खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेको र बाहिर पनि प्रशिक्षण राम्रो भइरहेको संघले जानकारी गराएको छ ।’

क्यानोइङ व्यक्तिगत खेल भएकोले संघले सिफारिस गरेको खेलाडीलाई आफूहरुले प्रतियोगितामा सहभागी गराएको घिसिङले जानकारी दिए ।

पदकको आश

२०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपालले एक मात्र रजत पदक प्याराग्लाइडिङमा जितेको थियो । यसपटक प्याराग्लाइडिङ समावेश छैन ।

नेपालको राष्ट्रिय प्रतियोगिता जितेर आइसल्याण्डमा पुगेका गणेशले स्थानीय प्रतियोगिता सहभागिता जनाउँदै आएका छन् । उनले  केही समयअघि भएको एउटा रेसमा रजत पदक जितेका छन् ।

आइल्याण्डको बार्का रिभरमा भाइकिङ र्‍याफ्टिङ आइसल्याण्डले जुन ३० र जुलाई १ मा आयोजना गरेको  मिडनाइट सन फेस्टिबलमा वाटरफल प्रो कायाक रेसमा गणेश दोस्रो भएका हुन् । हरेक वर्ष हुने उक्त रेसमा विश्वभरका व्यावसायिक कायकरहरु सहाभागी हुने गरेका छन् ।

नेपाल र्‍याप्टिङ एण्ड क्यानोइङ संघका महासचिव सुदिप गौतमले गणेश सेप्टेम्बर पहिलो साता नेपाल आइपुग्ने बताए । ‘उनी सेप्टेम्बर पहिलो साता नेपाल आउनेछन् ।  नेपाल आएर क्लोज क्यापमा बस्नेछन् । यहाँ तयारी गरेपछि चीन जानेछन्,’ गौतमले भने । मिन मगर उनको प्रशिक्षकका रुपमा रहनेछन् ।

१९औं एसियन गेम्समा क्यानोइनिङमा यस पटक कूल १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा स्लालोमतर्फ ४ र स्प्रिन्टतर्फ १२ इभेन्ट छन् । त्यसमध्ये गणेश क्यानोइङ स्लालोम पुरुषतर्फको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । क्नोइङ स्लालोम अक्टोबर ५ देखि ७ सम्म फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा हुनेछ ।

गणेशको व्यावसायिक काम नै र्‍याफ्टिङ भएकोले एसियन गेम्समा फाइदा हुने महासचिव गौतमले बताए । ‘उनको व्यासाय नै यही हो । आइसल्याण्डमा पनि विभिन्न रेसमा सहभागी भइरहेका छन् । गणेश र हामी सबै उत्साहित छौँ, त्यसैले हामीले एसियन गेम्समा मेडल जित्ने आशा राखेका छौँ ।’

तर डुङ्गाको भने केही समस्या हुन सक्ने गौतमले बताए ।  ‘हामीसँग भएको डुङ्गा पुरानो छ । त्यसले फरक पर्न सक्छ । आफ्नै सामान प्रयोग गर्ने हो । तर त्यो पुरानो भएकोले त्यहाँ क्वालिफाइड नहुन सक्छ कि भनेर हामीले अर्को डुङ्गाका लागि चीनमा कुरा गरिरहेका छौँ ।’

गौतमले डुङ्गा फरक हुँदा प्रदर्शनमा केही फरक हुन सक्ने बताए ।

तस्वीरहरू : राखेप र नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?