+
+
दृष्टिविहीनको सामूहिक प्याराग्लाइडिङ अनुभव :

आकाशबाट पोखराको सुन्दरता महसुस गर्‍यौं

विकास रोकामगर विकास रोकामगर
२०८० साउन १५ गते १७:१३

१५ साउन, पोखरा । पाँच वर्षअगाडि पहिलो पटक प्याराग्लाइडिङ गर्दा सृष्टि केसीले जुन अनुभव गरिन्, त्यो शब्दमा वर्णन गर्न सक्दिनन् । ‘दृष्टिविहीनहरु केही गर्न सक्दैनन्’ भन्ने सोचाइ बोकेको समाजमा आकाशमा उड्नु नै उनको विशाल आँट थियो ।

त्यतिबेलामा आकाशमा उड्दा जुन प्रेरणा आफूमा पाइन्, त्यसैदिन उनले सोचेकी थिइन्, ‘म त उडें । कुनै दिन मजस्तै अरु दृष्टिविहीन साथीहरुले पनि आकाशमा उड्नुपर्छ । यो अनभुव लिनुपर्छ ।’

आफूजस्तै साथीहरुलाई आकाशमा उडाउने उपयुक्त समयको पर्खाइमा थिइन् उनी । ‘त्यतिबेला नै म उड्दा जीवनमा जुन किसिमको आत्मविश्वास, सकारात्मक सोच, उत्साह मिलेको थियो’ केसीले भनिन्, ‘त्यो आफूमा मात्रै सीमित गर्न चाहन्नथें । अरुमा पनि बाँड्न चाहन्थें ।’

केसीले ५ वर्षअघि देखेको सपना सोमबार पूरा गरिन् । उनको नेतृत्वको ‘ब्लाइन्ड रक्स’ संस्थाले सोमबार मान्द्रेढुंगाबाट १० जना दृष्टिविहीन सहित १२ जनालाई प्याराग्लाइडिङको मजा लिने अवसर जुराइदियो । उनीबाहेक बाँकी सबै पहिलो पटक प्याराग्लाइडिङ गर्न पाउँदा दंग देखिन्थे ।

बाग्लुङकी २१ वर्षीया चाँदनी शर्माले आकाश नीलो हुन्छ भन्ने सुनेकी छिन् । तर, अहिलेसम्म वास्तविक आकाश देख्नै पाएकी छैनन् । कहिल्यै देख्न नपाएको त्यो आकाशमा उड्दा कस्तो होला ? सोच्थिन् । तर, एकदिन बादल छुँदै उड्छु भन्ने उनको कल्पना बाहिर थियो ।

ब्लाइन्ड रक्सले दृष्टिविहीनलाई प्याराग्लाइडिङ गराउँदै छ भन्ने सुनेकी थिइन् । तर, त्यसमा आफू पर्छु भन्ने लागेकै थिएन । ‘हिजो (आइतबार) साँझ मात्रै प्याराग्लाइडिङ गर्ने टिममा परेको थाहा पाएकी थिएँ’ शर्माले खुसी हुँदै अनुभव सुनाइन्, ‘यसरी म पनि आकाशमा उड्छु भन्ने कहिल्यै सोचेकै थिइनँ । एकदम मेमोरेबल रह्यो ।’

उनीहरुलाई प्याराग्लाइडिङ पाइलटले उडानसँगै ठाउँको वर्णन गरिदिन्थे । विशाल, निलाम्मे फैलिएको फेवाताल, फाँट, हर्पन खोला, निलो आकाश सबै–सबै उनीहरुलाई सुनाइदिन्थे । पाइलटको वर्णन नै आफूहरुले पोखराको सुन्दरता महसुस गरेको उनीहरुले अनुभव सुनाए ।

‘पाइलटले हामीलाई पोखराको हरियाली वर्णन गरिराख्नुभएको थियो । हर्पन खोला, ताल सबै बताइराख्नुभएको थियो । घामको महसुस गरें, शीतल हावाको महसुस गरें’ सृष्टि केसीले सुनाइन्, ‘उहाँले आज हिमालमा बादल लागेर देखिएको छैन भन्नुभयो, मैले छेकिएको हिमाल पनि मनबाट तानीतानी हेरिराखेको थिएँ ।’

आकाशमाथि उड्दै शीतल बादल छुन पाउँदा आफूलाई निकै खुसी लागेको सृष्टि सुनाउँछिन् । ‘पाइलटले मलाई बादल छुवाउन लैजानुभयो, मैले बादल छोइराखेकी थिएँ । एउटा सपना हुन्छ नि, जीवनमा बादलमाथि उचाइमा पुग्ने ! आज त्यो पूरा गरें’, खुसी हुँदै उनले उडान अनुभव सुनाइन् ।

काठमाडौंबाट प्याराग्लाइडिङ गर्न आइतबार पोखरा आएकी सुनिता दवाडी बिग्रिएको मौसमले तनावमा थिइन् । मौसम खुलेन भने प्याराग्लाइडिङ गर्न पाइँदैन भन्ने डर थियो । तर, दुई दिन लगातार पानी परेर सोमबार मौसम एकाएक छ्यांगियो ।

‘पहिलो पटक उड्न लागेको पाइएला कि नपाइएला भन्ने लागिराखेको थियो । एक मनले फेरि पाइन्छ भन्ने नै थियो’ काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरमा कार्यरत दवाडीले सुनाइन्, ‘मौसमले पनि एकदमै राम्रोसँग साथ दियो । उड्न पाइयो ।’

अस्ट्रियादेखि दोस्रो पटक नेपाल आएका थोमस पनि प्याराग्लाइडिङ गर्ने समूहमा थिए । पहिलो पटक प्याराग्लाइडिङ गरेका उनले आँखा नदेखे पनि महसुस गरेरै पोखरा चिनेको सुनाए । ‘पहिलो पटक म उडें । यो मेरो जीवनकै सबैभन्दा राम्रो दिन रह्यो । म अरुजस्तो आँखा देख्दिनँ । हामीले गर्ने अनुभव महसुस नै हो’, उनले भने ।

ब्लाइन्ड रक्स अध्यक्ष केसीले समावेशी पर्यटनको प्रवर्द्धनका लागि पनि दृष्टिविहीनलाई प्याराग्लाइडिङ गराइएको जानकारी दिइन् । उनले जीवनमा सफलता हासिल गर्न शारीरिक अपांगता, दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश आफूहरुले दिन खोजेको सुनाइन् ।

सफलता हासिल गर्न आँखा होइन, आत्मबल चाहिन्छ

आज हामी उडेको समावेशी पर्यटनको प्रवर्द्धन पनि हो । जीवनको उचाइ, जीवनको सफलतामा पुग्नका लागि अपांगता, दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देशका साथ हामी उडेका थियौं ।

मलाई कतिबेला खुसी लाग्यो भन्दा पाइलटले बादल छुवाउन लैजानुभयो । मैले बादल छोइराखेको थिएँ । एउटा सपना हुन्छ नि, जीवनमा बादलमाथि उचाइमा पुग्ने । आज त्यो पूरा गरें ।

उहाँ (प्यारापाइलट)ले हामीलाई पोखराको हरियाली वर्णन गरिराख्नुभएको थियो । हर्पन खोला, ताल सबै बताइराख्नुभएको थियो । घामको महसुस गरें, शीतल हावाको महसुस गरें । पोखराको सुन्दरतालाई मनबाट महसुस गरें । उहाँले आज हिमालमा बादल लागेको छ भन्नुभयो, मैले छेकिएको हिमाल पनि मनबाट तानीतानी हेरिराखेको थिएँ ।

प्याराग्लाइडिङमा व्यक्तिगत रुपमा मेरो दोस्रो अनुभव हो । ५ वर्ष अगाडि पहिलो पटक उडेकी थिएँ । त्यतिबेला नै म दृष्टिविहीन उड्दा जीवनमा जुन किसिमको आत्मविश्वास, सकारात्मक सोच, उत्साह मिलेको थियो । त्यो आफूमा मात्रै सीमित गर्न चाहन्नथें । यही सन्देश म अरुमा पनि बाँड्न चाहन्थें । आज त्यो सपना पूरा भयो ।

ब्लाइन्ड रक्सको मुख्य उद्देश्य नै एड्भेन्चर हो । योभन्दा अगाडि हामीले रिभर र्‍याफ्टिङ, रक क्लाइमिङ गरिसकेका छौं । जीवनमा उचाइमा पुग्न, सफलतामा पुग्न हाम्रो दृष्टिविहीनताले छेक्दैन । जीवनमा सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ । अरुलाई पनि यही सन्देश दिन चाहन्छु ।

– सृष्टि केसीसँगको कुराकानीमा आधारित

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?