+
+

६० वर्षे शम्भुको जोश : ड्रागन खेतीबाट वार्षिक १५ लाख कमाइ

सुवास पण्डित सुवास पण्डित
२०८० साउन १६ गते ९:२५

१६ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुर घर भएका शम्भु सुवेदी उमेरले ६० कटे । यो अवधिमा उनको पछाडि संघर्षका अनेकौं कथा छन् । ती संघर्षको प्रतिफलको रुपमा रसिला ड्रागन फल झुलेका छन् उनका बारीमा । यसैबाट हुने मनग्ये आम्दानीले उनका सारा दुःख भुलाइदिएको छ ।

नेपालमा हुर्किएको पछिल्लो पुस्ताले देखेको सपना हो, विदेश । पैसा हुने र पढेकाहरु सम्पन्न मुलुक पुग्छन् भने नहुनेहरू खाडी । खाडीमा महिनाको २० हजार कमाउन कडा श्रम गर्न जान बाध्य छन्, युवाहरु । स्वदेशमा बसेर व्यवसायिक कृषि उत्पादन गर्न सके एक वर्षमै लाखौं रकम कमाउन सकिन्छ भन्ने कयौं उदाहरणमध्येका एक हुन् सुवेदी ।

भरतपुरमा रहेको चितवन भ्याली मोडल अस्पताल तथा चितवन एकेडेमीमा प्रवन्ध निर्देशकसमेत भएर काम गरेका शम्भुले तीन वर्ष अगाडि डेढ बिघा जग्गामा ड्रागन फ्रुटको खेती सुरु गरे । रोपेको पहिलो वर्ष नै ५/६ महिनामा नै कुनै-कुनै बोटमा फल लाग्न थाल्यो । १८ महिनामा त व्यवसायिक रूपमा नै फल्न थाल्यो, ड्रागन । गत वर्ष मात्रै ड्रागन फल र बेर्ना बेचेर १५ लाख कमाएको उनले सुनाए । ‘मैले फल मात्रै बेचेर १० लाख कमाएँ, विरुवा बेचेर ५ लाख जति कमाएँ,’ सुवेदी भन्छन्, ‘मेरो खर्च मोटामोटी ६ लाखको हाराहारीमा भयो होला, ९ लाख जति त बचत गर्न सकियो ।’

ड्रागन फ्रुट प्रतिकिलो ४ सयदेखि ६ सय रुपैयाँसम्ममा र प्रतिबिरूवा दुई सय रुपैयाँमा बिक्री गर्ने गरेको उनी बताउँछन् । सुवेदी आफैंले सानो नर्सरी पनि तयार गरेका छन् । हरेक दिन बिहान र साँझ उनी यहीँ नै रमाउँछन् । झट्ट हेर्दा आकर्षक छ, सुवेदीको ‘सत्सेवेदा साइन्स एण्ड एगि्रकल्चर र्फम’ ।

उनको बारीमा सूर्यमूखी फूल पनि ढकमक्क फुलेका छन् । यहाँ टिकटक भिडियो बनाउने र फोटो खिच्ने भीड लाग्ने गर्दछ । फोटो र भिडियो बनाउनेहरुसँग १ सय रुपैयाँ लिने गरेका छन् । ड्रागन फ्रुट फलेको ठाउँमा पनि फोटो र भिडियो खिच्न पाइन्छ ।

उनीसँग रातो ३ प्रजाति र सेतो एक प्रजातिका ड्रागन फ्रुट छन् । उनका अनुसार एउटा बोटमा वर्षमा १ सय केजीसम्म ड्रागन फल्ने गर्दछ । अहिले चितवनमा लामो खडेरी र गर्मी भएकाले अझै सोचेजस्तो उत्पादन नभएको उनले बताए । ‘गर्मीले कतिपय बोटहरु मरे, तल जमिनमा पानी हाले पनि बाहिरको तापक्रम अत्यधिक हुँदा विरुवाहरू मरे,’ सुवेदी भन्छन्, ‘समयमा नै पानी परेको हुन्थ्यो भने, अहिले धेरै राम्रो उत्पादन हुने थियो ।’

उनले भियतनाम लगायतका देशबाट थप ४/५ प्रजातिका विरुवाहरू मगाएका छन् । अमेरिकाबाट भित्र कालो हुने ड्रागनको विरुवा पनि आउँदै गरेको सुवेदीले जानकारी दिए । उनले ड्रागनका लागि ५५ लाख जति लगानी गरेको बताए । सुरूको लगानी बढी भए पनि पछिल्ला वर्षहरूमा लागत कम हुँदै जाने र ५ वर्षमा सबै लगानी सजिलै उठ्ने उनले बताए ।

उनले एक परिवारलाई महिनाको ४० हजार रुपैयाँ तलब दिएर काम गर्न राखेका छन् । कामदारको परिवारलाई बस्ने खाने व्यवस्था पनि मिलाइदिएका छन् । थप मद्दत चाहिँदा बाहिरबाट कामदारहरू पनि बेलाबखतमा बोलाएर काम गर्ने गरेको शम्भुले बताए ।

आफूले उत्पादन गरेको ड्रागन फ्रुट पूर्णरुपमा अर्गानिक भएको उनको दाबी छ । ‘मैले यस्तो गर्मीमा एक थोपा पनि रासायनिक मल र विषादीको प्रयोग गरिनँ, सबै अर्गानिक बनाएरै राखें’ सुवेदी भन्छन्, ‘एलोभेरा, शीतल चिनी, निम लगायतका पातहरुबाट बनाएको फर्टिलाइजर नै प्रयोग गरेँ, म आफैं उत्पादन गर्ने गर्छु ।’ अर्गानिक उत्पादन गर्न सके दुबई लगायतका ठाउँमा उच्च मात्रामा ड्रागन निर्यात गर्न सकिने उनी बताउँछन् ।

अहिले उत्पादित ड्रागन फ्रूट स्थानीय बजारमा नै बिक्री हुँदै आएको छ । बजारको समस्या अहिलेसम्म नभएको उनी बताउँछन् । उनले असारमा पहिलो ड्रागन फ्रुट  महोत्सवसमेत गरे । ड्रागन खेती, यसको महत्व र उपयोगिता जस्ता विषयमा ध्यानाकृष्ट गर्न यस्तो महोत्सव पहिलोपटक गरेको उनको भनाइ छ ।

‘एक-दुई लाख कमाउन विदेश जानै पर्दैन’

फूल फुलेको ४५ दिनमा फल तयार हुने र यसको फल २५० ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ । यो फल टिपेको पन्ध्र दिनसम्म बिग्रँदैन

काम गर्न सक्ने युवाहरु केही हजार कमाइ गर्नका लागि विदेश जान छाडेर व्यवसायिक खेती उत्पादनमा लागे महिनामा एक/डेढ लाख कमाउन गाह्रो नहुने उनको अनुभव छ । ‘म त बुढो भएँ, काम गर्न त्यति नसकुला, तर एउटा युवकको परिवारले आफैंले डेढ बिघामा यो खेती लगायो भने, उसले वर्षमा २० लाख जति मज्जाले कमाउँछ,’ सुवेदी भन्छन्, ‘जबकी एउटा सरकारी अधिकृतले घुस खाएन भने वर्षमा बढीमा ६ लाख कमाउँछ । अब व्यवसायिक कृषि खेती गर्ने कि जागिर खान ठिक ?’

उनले परिवारसँग छुट्टएिर खाडी देशमा महिनामा २०/३० हजार कमाउनभन्दा महिनामा एक लाख देशभित्रै कमाउन सकिने बताए । उनले बुढालेसमेत खेती गरेर कमाएको देखेपछि युवाहरू पनि आकषिर्त हुन्छन् की भन्ने विश्वास आफूमा जागेको बताए ।

उनले अहिले भएको खेतीको क्षेत्रलाई बढाएर १० हेक्टरमा पुर्याउने लक्ष्य लिएका छन् । विदेशबाट फर्किएका तथा स्वदेशमा नै केही गरौं भन्ने युवाहरुलाई सिकाउँदै अघि बढ्ने योजनासमेत बनाएको उनी बताउँछन् ।

सुवेदीकै चितवन एकेडेमी फर टेक्निकल एजुकेशनले कृषि र भेटनरी विषय पढाउने गरेको छ । त्यहाँ पढ्ने विद्यार्थीलाई सिकाउन आफ्नै फार्म प्रयोग गरेको उनले बताए ।

ग्रामिण भेगमा ५/७ रोपनी जग्गामा ड्रागन लगाएर होमस्टे बनाए, एग्रो टुरिज्मको विकास हुने शम्भु बताउँछन् । यो खेतीको बीचमा साग, तोरी, गाँजर, कुरिलो, सयपत्री, लसुन, प्याज जस्ता खेती पनि गर्न सकिने उनी बताउँछन् । एक बोटबाट अर्को बोटको दूरी दुई मिटर र एक प्लटबाट अर्को प्लटको दूरी तीन मिटर छ । यहीँ खाली रहने जमिनमा गज्जबसँग अन्तरबाली लगाएर फाइदा लिन सक्ने सुवेदीले बताए । ड्रागन फ्रुट खेती गर्न चाहाने युवाहरुलाई फार्म डिजाइन, प्राविधिक सहयोग, तालिमलगायतका सबै सहयोग गर्ने उनले बताए ।

ड्रागन खेतीबारे शम्भुका अनुभव

ड्रागनखेती एक पटक लगाएपछि झण्डै २०/२५ वर्षसम्म मजासँग फल्छ । प्रत्येक हाँगाका जोइन्टबाट कि पात उमि्रन्छ कि फल फल्छ ।

यसलाई थप अतिरिक्त केही लगानी खासै गर्न पर्दैन । चैतदेखि कार्तिकसम्म मजासँग फूल्छ, फल्छ । वर्षमा ३ महिना जति मात्रै फल्दैन ।

जाडोमा बिरुवाको वृद्धिदर गर्मीको बेलामा भन्दा कम हुन्छ । ड्रागन फ्रुटका प्रत्येक बिरुवालाई साना-साना सिमेन्टका पिलरको सहायतामा उभ्याउने गरिन्छ । पिलर माथि टायर राखिन्छ । यसै खेर जाने टायरको प्रयोग ड्रागन फ्रुट  खेतीमा हुन्छ ।

विरूवालाई पोलसँगै बाँधेर राखिन्छ । एउटा पोलमा चारतिरबाट चारवटा बिरुवा रोप्न सकिन्छ । ड्रागन फ्रुटको विरुवा टायर भित्रबाट निस्किएर भुइँतिर लत्रिन्छ । टायर नराख्दा फलले बिरुवा नै भाँच्ने खतरा रहन्छ ।

यो खेतीमा त्यति साह्रै रोग किराले दुःख दिदैन । पानी कम जम्ने र जाडो बढी नहुने ठाउँमा हुने ड्रागनमा कहिलेकाहीँ फंगसको समस्या आउँछ । अरू रोग भने त्यति लाग्दैन ।

फूल फुलेको ४५ दिनमा फल तयार हुने र यसको फल २५० ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ । यो फल टिपेको पन्ध्र दिनसम्म बिग्रँदैन ।

ड्रागन फ्रुट रसिलो, गुलियो र स्वादिलो फल मानिन्छ । यस फलमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन, क्रिम आदि बनाउन सकिन्छ ।

यसको मुन्टाको पनि गजबको तरकारीहुन्छ । यसमा बहुऔषधीय गुण हुन्छ । सिउँडी प्रजातिको फल भएकाले सिउँडी हुने ठाउँमा उष्णप्रदेशीय क्षेत्रमा यसलाई लगाउन सकिन्छ । समुद्री सतहबाट १५/१६ सय मिटरको उचाइसम्म यसको खेती हुँदै आएको भए पनि ८/९ सय मिटरसम्म पनि गरेको खेती राम्रो हुन्छ ।

ड्रागनका लागि १० डिग्री सेन्टिग्रेडभन्दा कम र ३५ डिग्रीभन्दा बढी तापक्रम राम्रो मानिँदैन । नेपालको मध्यपहाडी रेन्जमा ४/५ रोपनी जग्गामा यो खेती लगाउन सके अझ राम्रो हुन्छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?