+
+

फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी

रासस रासस
२०८० साउन १६ गते १९:२५

१६ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताएका छन् ।

फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज ललितपुरमा आयोजित छलफल तथा अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले भने, ‘फोहरबाट कसरी मोहर निकल्ने, यसलाई पुनः प्रयोगमा ल्याएर कसरी बहुउपयोगी बनाउने भन्ने सन्दर्भमा पनि हामीले ध्यान दिनुपर्छ । फोहरलाई व्यवस्थापन गर्दै पुनः प्रयोगका लागि ल्याउन उद्योगको रूपमा समेत कसरी विकास गर्ने भन्नेतिर ध्यान दिएर काम गर्न जरुरी छ ।’

उनले फोहरमैला व्यवस्थापनमा प्रभावकारी कानून निर्माणका लागि मन्त्रालयले मस्यौदा तयारीको काम अन्तिम चरणमा पुर्‍याएकाले मौजुदा कानूनमा उचित सुझाव दिनसमेत आग्रह गरे । सबैका सुझावलाई समेटेर नै कानून निर्माण गर्ने आफ्नो र मन्त्रालयको सोच रहेको उनको भनाइ थियो ।

मन्त्री मोदीले प्रशासनिक क्षेत्रको सुधारदेखि ऐन निर्माणसम्मका काममा मन्त्रालयले ध्यान दिइरहेको बताए। मन्त्रालयले सङ्घीय निजामती सेवा ऐन, फोहरमैला व्यवस्थापनसम्बन्धी कानून, ढुङ्गा गिट्टी बालुवासम्बन्धी कानून निर्माणलाई अन्तिम चरणमा पुर्‍याएकोसमेत उनले बताए ।

संघीय मामिला मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले फोहरमैला व्यवस्थापनका विषयमा सङ्घीय ऐनमा नपरेका कुरा प्रदेश र स्थानीय तहले कानून बनाएर सम्बोधन गर्नसक्ने बताए ।

‘नेपाल सरकारको कार्य विभाजनअनुसार फोहरमैला व्यवस्थापन, नीति निर्माण, कानून बनाउने काम सङ्घीय मामिला मन्त्रालय र स्थानीय तहको हो । मन्त्रालयले समन्वय र सहजीकरण गर्नसक्छ, नेतृत्व गर्नुपर्ने संवैधानिक र कानूनी दायित्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई  छ’, उनले भने ।

प्रधानमन्त्रीका सरसफाइविज्ञ खेम शर्माले पालिका र पालिकाअन्तर्गतका निकायको सरसफाइको गुणस्तरमा वृद्धि गर्दै सरसफाइमा आधुनिक सामान र उचित रसायन अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने, सुरक्षासहितको पोसाक प्रयोग गर्नुपर्ने, सरसफाइ अडिट गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभएको थियो।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?