+
+

भाग्यमानी मछिन्द्रलाई मौका

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० साउन २२ गते १९:३१
पत्रकार सम्मेलनमा मछिन्द्रका कप्तान विशाल श्रेष्ठ र प्रशिक्षक किशोर केसी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२२ साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोटको प्रारम्भिक चरणमा मंगलबार घरेलु मैदानमा भुटानी क्लब पारो एफसी खेल्दैछ ।

नेपाली क्लबले खेल्ने एएफसीको क्लब लेभलको ठूलो प्रतियोगिता एएफसी कप हो र त्यहाँ पुग्नका लागि मछिन्द्रले प्रारम्भिक चरणमा एफसी पारोलाई प्रतिद्वन्द्वी पाएको छ ।

नेपालको शीर्ष लिग ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड हो । मछिन्द्र लिगमा दोस्रो भएको थियो । तर चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले पारो एफसीसँग खेल्ने अवसर पाएको हो ।

मछिन्द्रसँगै नेपालका त्रिभुवन आर्मी एफसी र नेपाल एपीएफ एफसीसँग मात्रै क्लब लाइसेन्स छ । तीन मध्ये लिगमा अघि रहेकोले मछिन्द्रको भाग्य चम्केको हो ।

२०७६ सालमा शहीद स्मारक ए डिभिजन लिग जितेर पनि एएफसी क्लब लाइसेन्स नभएकैले सन् २०२१ मा  एएफसी कप खेल्न नपाएको मछिन्द्रले यस पटक भने लिग नजिते पनि एएफसी कपको प्रारम्भिक चरण खेल्ने अवसर पाएको हो ।

त्यो अवसरलाई घरेलु मैदानमा सदुपयोग गर्ने लक्ष्य मछिन्द्रको छ ।

कमजोर नआँक्ने

थोरै समयको तयारी र केही खेलाडी थप गर्दै मछिन्द्र पारोसँग खेल्न तयार छ । मछिन्द्रका प्रशिक्षक किशोर केसी पनि यो खेलका लागि उत्साहित छन् । ‘हाम्रो सबै प्रशिक्षण सकिएको छ, भोलिको खेलका लागि तयार छौं’, सोमबारको प्रिम्याच कन्फेरेन्समा उनले सटिक जवाफ दिए ।

केसीले विपक्षी टिमलाई कमजोर नआँक्ने बताए । ‘पारो राम्रो टिम हो र लिग च्याम्पियन हो । हामी उनीहरुलाई सम्मान गर्छौं’, उनले विपक्षीको रणनीति अध्ययन गरेको र त्यही अनुसार मैदानमा उत्रने बताए ।

कप्तान विशाल श्रेष्ठले पनि तयारी राम्रो भएको भन्दै विपक्षीलाई हल्का रुपमा नलिने बताए । ‘कुनै पनि टिम कमजोर हुँदैन । उनीहरु भुटानको च्याम्पियन टिम हो,’ सन् २०१९ मा मनाङ मर्स्याङ्दीबाट एएफसी कपको समूह चरण नै खेलेका विशालले भने ।

मछिन्द्रबाट लगातार दोस्रो पटक र समग्रमा चौथो पटक विशाल एएफसी कपमा खेल्न लागेका हुन् ।

गत वर्ष मछिन्द्रको गोलपोष्ट सम्हालेका विशाल यसपटक कप्तानी पनि गर्दैछन् । उनलाई जिम्मेवारी थपिएको छ । यसका लागि उनी उत्साहित छन् ।

पत्रकार सम्मेलनमा पारोका कप्तान र प्रशिक्षक । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

पारो एफसीले अहिले भुटानको लिग खेलिरहेको छ । मछिन्द्रसँग खेल्न उनीहरु पनि उत्साहित छन् ।

पारोका प्रशिक्षक पुष्पराज शर्माले तयारी राम्रो रहेको र खेलका लागि तयार रहेको बताए । ‘हाम्रो तयारी राम्रो छ । भुटानको लिग भइरहेको छ । हामीले तीन खेल खेलिसकेका छौं, हामी खेलका लागि तयार छौं’, शर्माले भने ।

पारोका प्रशिक्षकले पनि विपक्षीलाई सम्मान गरेर खेल्ने बताए । ‘हामीले विपक्षीलाई कमजोर मान्नु हुन्न । यो एघार भर्सेस एघार हो । मछिन्द्र राम्रो टिम हो’, शर्माले थपे ।

पारोका कप्तान किनले वाङचुकले पनि तयारी राम्रो रहेको र सकरात्मक नतिजाको अपेक्षा राखेको बताए । ‘सकरात्मक नतिजाको अपेक्षा छ । हाम्रो केही खेलाडीले राष्ट्रिय टिमबाट यहाँ खेलिसकेका छन् र त्यसले पनि सहज हुनेछ’, उनले अहिले मछिन्द्रसँगको खेलको बारेमा मात्र सोचेको बताए ।

प्रशिक्षक शर्माले भुटान र नेपालको धेरै कुरा मिल्ने भन्दै यस खेलमा धेरै भुटानी समर्थक आउने अपेक्षा राखेका छन् ।

मछिन्द्रका कप्तान विशालले फुटबल गतिविधि कम भइरहेको बेला पारो विरुद्धको खेलले फुटबलको माहोल पर्काउने विश्वास राखेका छन् ।

‘लिग पछि फुटबल गतिविधि कम छ । त्यसैले दर्शक कम छन् । भोलि बेलुका खेल भएकोले सबै हेर्न आउने अपेक्षा छ । जसले हामीलाई अगाडि बढ्न केही सहयोग गर्छ । हामीले यो खेल जित्यो भने नेपाली फुटबललाई अलिकती भए पनि राम्रो गर्छ जस्तो लाग्छ’, उनले भने ।

८ खेलाडी थप

नियमित कप्तान सुजल श्रेष्ठ देखि अनुभवी खेलाडीहरु विदेशिँदा मछिन्द्रले एएफसी कपको प्रारम्भिक चरण खेल्नका लागि ८ खेलाडी थपेको छ ।

अन्य क्लबबाट ए डिभिजन लिग खेलेका राम्रा खेलाडीलाई भित्र्याउँदै मछिन्द्रले राम्रो टिम बनाएको छ ।

जसमा लिग च्याम्पियन चर्च ब्वाइजका आशिष चौधरी र एरिक विष्टसहित संकटाका आयुष घलान, थ्री स्टार क्लबका लकेन लिम्बु, एपीएफका सनिष श्रेष्ठ तथा एफसी खुमलटारका रेजिन सुब्बा, रोहित सुब्बार विदेशी खेलाडी मेसुके ओलोमोउ छन् । तर मछिन्द्रले अनुबन्ध गरे पनि मेसुके भने भारतमा स्थानीय प्रतियोगिता खेल्न गएका थिए ।

अहिलेसम्म उनको कागजी प्रक्रिया मिलाउन प्रयास गरिरहेको केसीले बताए । कागजी प्रकिया मिलेमा मेसुकलेलाई मंगलबार खेलाउन सकिने उनको भनाइ थियो । ‘मेसुके स्तरीय खेलाडी हुन् । काजगी प्रक्रिया मिले उनलाई भोलि खेलाउन सकिन्छ’, केसीले भने ।

कमजोर देखिएको पोजिसनमा खेलाडी थपेर मछिन्द्रले टिम सन्तुलित बनाउने प्रयास गरेको छ । अग्रपंक्तिमा धेरै खेलाडी थपेको मछिन्द्रको अट्याक हेभी देखिएको छ ।

‘हामीसँग धेरै फरवार्ड छन् । तर खेलमा चाहिने तीन जना हो । लिगमा हामी कमजोर रहेको पोजिसनमा हामी नयाँ खेलाडी प्रयोग गर्छौं’, प्रशिक्षक केसीले योजना सुनाए ।

फरवार्डहरु विमल घर्ती मगर, आफिज ओलावाले, विजय भुजेलले मछिन्द्रबाट लिग खेलेका थिए । त्यसका आशिष चौधरी, रेजिन सुब्बा, मेसुके ओलोमोउ, आयुष घलान जस्ता खेलाडी थप भएको छ । यस्तै मिडफिल्डमा एरिक र लकेन थपिएका छन् ।

‘हामीले कमजोर रहेको पोजिसनमा खेलाडी अनुबन्ध गरेका छौं र टिम राम्रो बनेको छ’, कप्तान विशालले टिमबारे भने ।

मिडफिल्डमा विदेशी आन्द्रे नियासँगै उत्सव राई र दिपेश घलेले पनि छन् ।

मछिन्द्रले अनुबन्ध गरेका आशिष, एरिक, आयुष, लेकन र सनिष राष्ट्रिय टिमका खेलाडी हुन् । उनीहरुले भारतमा साफ च्याम्पियनसिप समेत खेलेका थिए ।

आशिष र एरिकले चर्च ब्वाइजबाट लिग जितेका थिए । एएपसी क्लब लाइसेन्स नहुँदा चर्च ब्वाइजले खेल्न नपाए पनि यी दुई खेलाडी भाग्यमानी बन्दैछन् । उनीहरुले मछिन्द्रबाट एएफसी कप खेल्ने अवसर पाएका छन् ।

किनले वाङ्गछुकको कप्तानीमा रहेको पारो एफसीमा राम्रा ४ जना विदेशी खेलाडी छन् । जसमा नेपालमा खेलिसकेका फ्लोरेन्ट कोरा समेत छन् । हाल मछिन्द्रका प्रशिक्षक रहेका किशोर केसीको प्रशिक्षणमा फ्लोरेन्टले जावलाखेल युथ क्लबबाट खेलेका थिए । फ्लोरेन्टसँगै पारोमा चार विदेशी खेलाडी छन् र उनीहरुलाई रोक्ने रणनीति बनाएको केसीले बताए ।

समूह चरण पुग्न तीन खेल जित्नुपर्ने

साउथ जोनको क्वालिफाइङ प्लेअफ अन्तर्गत मछिन्द्र र पारोले प्रारम्भिक चरण खेल्न लागेका हुन् ।

एएफसी कपको समूह चरणमा पुग्ने होडमा रहेका मछिन्द्र र पारोका लागि यात्रा सहज भने छैन । प्लेअफको प्रारम्भिक चरण खेल्न लागेको दुवैले समूह चरण पुग्न तीन खेल जित्नुपर्छ ।

मछिन्द्रले एएफसी कपको समूह चरणमा पुग्ने हो भने पहिलो खुड्किलो चढ्न पारोको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

यस खेलको विजेताले दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग १६ अगष्टमा खेल्नेछ र त्यसको विजेता प्लेअफमा पुग्नेछ ।

बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको खेलबाट प्लेअफ पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । प्लेअफ खेल अगष्ट २२ मा हुनेछ र त्यसको विजेता साउथ जोनबाट एएपसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।

मछिन्द्रले गत वर्ष पनि प्रारम्भिक चरण खेलेको थियो । तर श्रीलंकन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएपछि यात्रा अघि बढ्न सकेन । त्यसबाट पाठ सिकेको मछिन्द्रले यस पटक घरेलु मैदानमा जितसहित अगाडि बढ्ने लक्ष्य राखेको छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?