+
+

चितवनमा सवारी दुर्घटनाबाट हुने मृत्युमा ४४.३ प्रतिशतले कमी, भित्री सडकमा चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १२:०६

२३ साउन, चितवन । चितवनमा गत वर्ष सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिमा ४४.३ प्रतिशतले कमी आएको छ । यसलाई प्रहरी अधिकारीहरुले ठूलो सफलताका रुपमा लिएका छन् ।

सवारी दुर्घटनाका कारणले ज्यान गुमाउनेको संख्यामा अपेक्षाकृतभन्दा धेरै कम क्षति भएको बताउँदै उनीहरुले यसलाई कायम राख्ने चुनौती पनि उत्तिकै भएको बताए ।

गत आर्थिक वर्ष चितवनमा ३०३ वटा सवारी दुर्घटनामा परेर ७८ जनाले ज्यान गुमाए भने, ५८१ जना घाइते भए ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ५३० वटा सवारी दुर्घटनाका घटनामा १४० जनाको मृत्यु भएको थियो भने ९७१ जना घाइते भएका थिए ।

सवारी दुर्घटनाको संख्यामा २२७ ले कमी आउँदा अघिल्लो वर्षभन्दा मानव मृत्यु र घाइते हुनेको संख्या पनि निकै घटेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रहरी उपरीक्षक रविकुमार पौडेलले प्रदेश भरी नै सवारी दुर्घटनाको संख्यामा उल्लेख्य कमी आएको बताए ।

उनले चितवनमा सवारी दुर्घटनाको कमीसँगै मानवीय क्षतिमा समेत कमी आएको रेकर्ड नै भएको बताए । ‘एकैपटक दुर्घटनाको संख्यामा हृवात्तै कमी आउनु हाम्रा लागि निकै सुखद खबर हो,’ एसपी पौडेलले भने, ‘कतिजनाको ज्यान बच्दा उनीहरुको परिवार र आफन्तहरुले प्रियजन गुमाउनु परेन, यसलाई कायम राख्ने र अझै घटाउने प्रयासमा हामी छौं, तर हरेक नागरिक आफैंमा सवारी चलाउँदा सचेत बन्नुपर्छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङका अनुसार चितवनमा प्रहरीले ४ खण्ड गरेर सवारी दुर्घटनाको तथ्यांकको विष्लेषण गर्ने गरेको छ ।

पूर्वपश्चिम राजमार्ग, नारायणण मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग, सहरी सडक र अन्य भित्री सडक भनेर दुर्घटनाको प्रकृति, संख्या कारणको हेर्ने गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख तामाङले बताए ।

गत वर्ष राजमार्गमा भन्दा पनि बढी सवारी दुर्घटना भित्रि सडकमा हुने गरेको देखिएको छ ।

गत वर्ष भित्रि सडकमा भएका १४१ दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ भने २२३ जना घाइते भए । यस्तैं, सहरी सडकखण्डमा भएका १८ दुर्घटनामा तीन जनाको मृत्यु २६ जना घाइते भए ।

पृथ्वी राजमार्गमा -मुग्लिनदेखि फिस्लिङसम्म) २३ दुर्घटनामा ११ को मृत्यु ७४ घाइते भए । नारायणगढ-मुग्लिन सडकखण्डमा भएका ५७ दुर्घटनामा ११ को मृत्यु १५१ घाइते, पूर्वपश्चिम राजमार्गमा भएका ६४ दुर्घटनामा २० जनाको मृत्यु र ५७ जना घाइते भएका थिए ।

पृथ्वी राजमार्गमा बाहेक अन्य सबै सडकखण्डमा अघिल्लो आर्थिक वर्षभन्दा कम मानवीय क्षति सवारी दुर्घटनामा भएको छ ।

राष्ट्रिय राजमार्गभन्दा पनि बढी दुर्घटना र मृत्यु तथा घाइते भित्री सडकमा हुने गरेको ट्राफिक प्रहरी प्रमुख तामाङ बताउँछन् । यो निकै चुनौतीपूर्ण बनेको छ, राजमार्गमा सवारी चलाउँदा सचेत बन्ने तर भित्री सडकहरुमा सवारी चलाउँदा लापरबाही गर्ने, हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने आदि कारणले दुर्घटना बढेका छन् ।

ट्राफिक प्रहरी प्रमुख तामाङ भन्छन्, ‘कतिपयले भरखरै भरखरै सिकेर पनि भित्री सडकमा चलाउँदा दुर्घटना हुने गरेको छ । विगत ५ वर्षको तथ्यांकलाई हेर्दा भित्री सडकमा हुने दुर्घटनाको संख्या, मृत्यु र घाइतेको संख्या अन्य सडकखण्डमा भन्दा बढी देखिएको छ ।’ यसलाई घटाउन घर घरमा सचेतना फैलाउन आवश्यक भएको उनको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुने धेरै पुरुष

दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश पुरुष छन् ।

गत वर्ष सवारी दुर्घटनामा ज्यान गुमाउने ७८ जनामध्ये ६६ जना पुरुष, ७ महिला, २ बालक र ३ बालिका छन् ।

२० देखि ४० बर्ष उमेर समूहका व्यक्ति बढी दुर्घटनामा पर्ने गरेको तथ्याङले देखाउँछ ।

४० हजार सवारी कारबाहीमा, ३ करोड ४५ लाख राजश्व संकलन

चितवनमा गत बर्ष ४० हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४० हजार ६६४ सवारी साधन कारबाहीमा परेका हुन् ।

उनीहरुबाट ३ करोड ४५ लाख ३८ हजार ५ सय राजश्व संकलन गरिएको छ । सबैभन्दा बढी मोटरसाइकलबाट एक करोड ५ लाख १८ हजार ५ सय राजश्व संकलन गरिएको छ ।

ट्रक तथा टिपरबाट ७१ लाख ५४ हजार, बस तथा माइकोबाट ३५ लाख ५४ हजार, जिप कारबाट ६५ लाख ६४ हजार, ट्याक्टरबाट १५ लाख ३७ हजार, टेम्पोबाट ५२ लाख १० हजार राजश्व संकलन गरिएको छ ।

अघिल्लो आर्थिक वर्षभन्दा ६ हजार ९३६ बढी सवारीलाई कारबाही गर्दा राजश्व ३६ लाख ८४ हजार थप भएको छ ।

जिल्लामा मापसे गरेर सवारी चलाउनेहरुको संख्यामा पनि कमि आएको छ । कार्यालयको तथ्यांक अनुसार गत वर्ष ४६१ जनालाई मापसे कारबाही गर्दा ४ लाख ६१ हजार राजश्व संकलन गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष ७३९ जना मापसेको कारबाहीमा परेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा दरबन्दी र काजमा गरेर ८० जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?