+
+

अर्थ सचिव र प्रहरी प्रमुखमाथि रवि लामिछानेले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १६:३७

२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध गरेको छ ।

नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपा सांसदहरुले संसद भवन परिसरबाटै संसदभित्र जसरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राखे । ‘संसदभित्र राख्न नपाइएको हुनाले संसद भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरु राख्न चाहन्छु’, रास्वपा सभापति रवि लामिछानेले सञ्चारकर्मीहरुसँग भने ।

उनले मंगलबारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि केही प्रश्न उठाएका छन् । गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुन टेकेर राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा पठाएको भनेर प्रश्न गरे ।

उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले अगाडि भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको संलग्नता छ कि छैन भन्ने शंकाको विषय भयो ।’

सीआईबी ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शंका नगर्ने उनले बताए । तर अहिले जिम्मेवारीमा भएका मानिसहरुलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने भन्दै उनले भने, ‘भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?