+
+

पोखरा विमानस्थल र लम्पी स्किनबारे गण्डकीमा एमालेको जरुरी महत्वको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १७:२७

२५ साउन, पोखरा । नेकपा एमाले संसदीय दल गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा फैलिएको महामारी नियन्त्रणको माग गर्दै गण्डकी संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

बिहीबारबाट सुरु हुने भनिएको संसद बैठकमै छलफल गर्ने गरी एमालेले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न गण्डकी सरकारमार्फत ध्यानाकर्षण गराउन र गाईवस्तुमा देखिएको लम्पी स्किन नियमन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

बिजनेस नभएपछि बिहीबार बोलाइएको बैठक भने २९ गतेसम्मका लागि स्थगित भएको छ । एमाले सचेतक देवका पहारीको प्रस्तावमा सांसद कृष्ण पाठक र यशोदा रिमालको समर्थनमा संसदमा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल आवश्यक रहेको भन्दै प्रस्ताव दर्ता भएको हो ।

जग्गा अधिग्रहण भएको ४७ वर्षपछि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएमात्र ऋणको किस्ता तिर्न सक्ने अवस्था आउने सचेतक पहारीको भनाइ छ । जनवरी १ मा उडान सुरु भएको विमानस्थलबाट अहिलेसम्म एकपटक चार्टर उडानबाहेक अन्तरिक उडानमात्रै हुँदै आएको छ ।

‘हालसम्म भारत हुँदै उडान बाहिरिने पाँच वटा रुट खुला भए पनि नेपाल भित्रिने केवल सिमराको एउटा मात्र रुट खुल्ला छ । नेपालले कम्तिमा पनि नेपालगञ्ज, महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने नयाँ रुट लिन सकेमा पश्चिम भारत र पश्चिमतिरबाट नेपाल आउने जहाजका लागि पोखरा अन्तरराष्ट्रिय बिमान स्थल उपयुक्त हुन्छ,’ महत्वको प्रस्तावमा भनिएको छ ।

यसका लागि भारतसँग प्रधानमन्त्रीकै तहबाट कुरा गर्नुपर्ने देखिएको हुनाले संघीय सरकारलाई गम्भीर बनाउन प्रस्ताव दर्ता गराएको पहारीले बताइन् ।

जम्मा २० वर्षमा चुक्ता गर्नुपर्ने कर्जा र ब्याजको किस्तामध्ये ७ वर्ष निर्माण समयको ग्रेस पाएको हुनाले अब ६–६ महिनामा गरी २६ किस्तामा सो कर्जा तथा ब्याज तिर्नु पर्ने अवस्था रहेको एमालेको भनाइ छ ।

हाल कतार, भुटान लगायका कतिपय देशबाट पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलमा उडान भर्ना चाहना राख्दा पनि नेपालको सम्बन्धित निकायबाट नै बेवास्ता गरिएको समाचार आउने गरेको हुनाले सत्य तथ्य पत्ता लगाई विभिन्न गन्तव्यसँग यथाशीघ्र एयर सर्भिर एग्रिमेन्ट गर्नुपर्ने एमालेको माग छ ।

यसैगरी एमाले गण्डकीले गाईवस्तुमा देखिएको लम्पी स्किन महामारी नियन्त्रण गर्न छलफल गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

सांसद भीम कार्कीको प्रस्तावमा राप्रपाकी सचेतक विन्दु पौडेल र एमाले सांसद राजकुमारी भुजेलको समर्थनमा लम्पी स्किन रोग नियन्त्रणका लागि प्रस्ताव दर्ता भएको हो ।

लम्पीस्किन नियमन्त्रणका लागि प्रदेश सरकारलाई प्रभावकारी बनाउन, लम्पीस्किन फैलिन नदिन जनचेतना बढाउन, खोपको व्यवस्था गर्न, किसानलाई क्षतिपूर्ती दिलाइ राहत उपलब्ध गराउन, विमा कम्पनीलाई समयमै रकम उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइएको प्रस्तावक सांसद कार्कीले जानकारी दिए ।

गण्डकीका ८५ स्थानीय तहमध्ये ८२ वटामा यो रोग फैलिइसकेको छ । प्रारम्भिक प्राप्त तथ्यांकअनुसार २ हजार २८४ गाइबस्तु मरिसकेका छन् । अहिले पनि ३१ हजार ८६४ अहिले पनि बिरामी अवस्थामै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?