
२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका बिहीबार मध्याह्न बुढानीलकण्ठ नगरपालिका सिमानानेर पर्ने कपन खोला माथिका संरचना हटाउने भन्दै दुई डोजर, ठूलो संख्यामा प्रहरीसहित गयो ।
काठमाडौं वडा ७ को र बुढानीलकण्ठ नगरपालिका–१० को सिमाना खहरे खोला साततल्ले चोकमा नगर प्रहरी सहित डोजर पुगेपछि स्थिति तनावग्रस्त बन्यो । बुढानीलकण्ठका १० नम्बर वडाध्यक्ष नवराज भट्टराई स्थानीयबासीसहित डोजर रोक्न आइपुगेका थिए । सोही क्रममा काठमाडौं महानगर प्रहरीले भट्टराईलाई छेकेका थिए ।
भट्टराईले आफूमाथि काठमाडौं नगर प्रहरीले बल प्रयोग गरेको बताए । ‘छलफलविना एक्कासी डोजर आएपछि के हो भनेर बुझ्न जाँदा म माथि दुव्र्यवहार भयो । हातपात गर्न खोजे, त्यसपछि स्थानीयले पनि विरोध गर्दा केही समय अवस्था बिग्रिएको हो,’ अनलाइनखबरसँग उनले भने ।
महानगरपालिकाले साँध–सिमानामा पर्ने स्थानमा सम्बन्धित पालिकासँग छलफल नै नगरी सडकपेटीबाट ठेला उठाउँदा गर्ने व्यवहार गरेको भन्दै उनले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ज्यादती गरेको आरोप लगाए ।
‘माथिल्लो तहमा रिपोर्टिङ गर्नुस्, छलफल र समन्वय विना डोजर चलाउन मिल्दैन भन्दा, पाण्डेले एकदम हेपेर बोले । त्यसपछि नगर प्रहरीले दुव्र्यवहार गरे’, भट्टराईले भने ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने वडाध्यक्ष भट्टराईले डोजरको चाबी नै खोस्न आएको दाबी गरे । ‘महानगरको सम्पत्तिमाथि नै हमला गर्ने शैलीमा आउनुभयो, डोजर छेकेर तमासा गरेपछि महानगरले छेकेको मात्रै हो’, पाण्डेले बताए ।
वारिपारी दोहोरो नारा
साततल्ले चोकको खहरेले काठमाडौं र बुढानीलकण्ठको सिमाना छुट्याउँछ । वडाध्यक्ष हित स्थानीयले डोजर रोकेपछि काठमाडौं ७ का स्थानीयले बुढानिलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरे । काठमाडौं महानगर चावहिलतर्फ पर्छ भने बुढानीलकण्ठ कपनतर्फ पर्छ ।
काठमाडौंका स्थानीयले खोला खोल्नुपर्ने माग राखेका थिए । त्यसको काउन्टरमा साततले चोकमा काठमाडौैं महानगर र नगर प्रहरी विरुद्ध बुढानीलकण्ठ नगरपालिकाका बासिन्दाले नारा लगाए । विशाल ट्रेड टावर अगाडि दोहोरो झडपको स्थिति आएपछि नेपाल प्रहरीले सशस्त्र प्रहरी बलले हस्तक्षेप गरेको थियो ।
कपनमा ठूलो संख्यामा स्थानीय जम्मा भएपछि बुढानीलकण्ठ नगरपालिकाका प्रतिनिधि, काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र नेपाल प्रहरीबीच छलफल भएको थियो ।
‘त्यहाँ कुरा गर्ने वातावरण थिएन, नजिकैको एक ठाउँमा गएर त्रिपक्षीय छलफल गरेका थियौं, तर त्यहाँ पनि नगर प्रहरी प्रमुख पाण्डेले झुट बोले’, वडाध्यक्ष भट्टराईले भने । काठमाडौंका मेयर बालेन शाहले बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारीसँग समन्वय गरेर डोजर पठाएको भन्दै झुट बोलेको भट्टराईले बताए ।
‘नगर प्रहरीले प्रमुख अधिकारीसँग छलफल नै नगरी छलफल गरेको र सिडिओले पनि डोजर चलाउन अनुमति दिएको बताए, जबकी त्यस्तो अवस्था नै थिएन’, उनले भने । मेयरहरुले दोहोरो कुरा गरेपछि डोजर तत्कालको लागि रोकिएको थियो ।
मिठाराम सभागृह आएपछि फर्कियो डोजर
विहीबार करिब १२ बजेदेखि दिनभरि दुईवटा डोजर र ठुलो संख्यामा कपनमा जम्मा भएको नगर प्रहरी अपरान्ह भने यत्तिकै बागदरबार फर्केको छ । बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीले काठमाडौंका मेयर बालेनलाई फोन गरेर विना समन्वय सिमानामा डोजर चलाउन नमिल्ने बताएका थिए ।
अधिकारीलाई मेयर बालेनले राष्ट्रिय सभागृहको कार्यकक्षमै छलफल गर्न बोलाएका थिए । त्यहाँ अधिकारीले बालेनलाई समन्वय विना डोजर चलाउन कसरी पाउनुभयो भनी प्रश्न गरेका थिए ।
जवाफमा बालेनले आफूलाई खोलामा डोजर लगाउन सबै क्लियर भइसकेको रिपोर्ट आएकोले डोजर चलाउन अनुमति दिएको बताएका थिए ।
अधिकारीले बुढानीलकण्ठ नगरपालिकालाई नापी विभागले दिएको नक्सामा खोला नै नभएको बताएपछि मेयर बालेन नापजाँच गरेर मात्रै खोला उत्खननको काम अगाडि बढाउने कुरामा सहमत भएका थिए ।
‘भोलि दुवैजना नापी विभाग चाबहिलमा गएर नक्सा हेर्छौं, नक्सा हेरेपछि धोबीखोलादेखि खहरेखोलाको माथिल्लो स्थानसम्म नापजाँच गरेर मात्रै के गर्ने भन्ने कुरामा टुंगो लगाउँछौं,’ मेयर अधिकारीले अनलाइनखबरसँग भने । दुईमेयरको छलफल पछि डोजर र नगर प्रहरी पर्केका थिए ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4