+
+

नेपालको झन् नजिक सर्‍यो न्यूनचापीय रेखा, भोलिदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

वर्षाबारे विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते ९:३६

२६ साउन, काठमाडौं । एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ ।

त्यसको विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ ।

एरिया कभरेजको हिसाबले र मात्राको हिसाबले पनि धेरै पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद महर्जनले जानकारी दिइन् । ‘हिजो र आज अलिकति कम पानी परेको देखिएको छ, भोलिदेखि मनसुन सक्रिय हुने भएकाले पानी पर्ने क्रम फेरि बढ्ने छ’ उनले भनिन् । उनका अनुसार सोमबारसम्मै मनसुन सक्रिय रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने कोशी र मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना छ । तर पूरै प्रदेशभर नभई एक–दुई स्थानमा मात्र भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

भोलि (शनिबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । शनिबार राति भने सुदूरपश्चिम प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

भोलिदेखि अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिदेखि देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । पर्सि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

आज कोशी, महाकाली, नारायणी, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह सामान्य बढे पनि सतर्कता तहभन्दा तलै रहने छ ।

नेपालमा यस वर्षको मनसुन १४ जुनमा भित्रिएको थियो । मनसुन मित्रिएको पहिलो साता पूर्वी नेपालमा अत्यधिक वर्षा भएको थियो भने तराई मधेश र पश्चिम नेपाल सुक्खा थियो । लामो समयसम्म खण्ड खण्डमा मात्र वर्षा भए पनि गत सोमबार र मंगलबार देशका अधिकांश भूभाग ओगट्ने गरी पहिलो पटक वर्षा भएको थियो । सामान्य वर्षा हुँदा पनि काठमाडौं र भक्तपुरका केही वस्ती जलमग्न भएका थिए । नदी र खोला किनारका घरमा लेदो माटोसहितको बाढी पसेको थियो ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जलमग्न भएका वस्तीका बासिन्दा अझै पनि सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?