+
+

लडाकु शिविर घोटालाको पनि छानबिन हुनुपर्छ : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १४:१८

२६ साउन, बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटाला सहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।

‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठूला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’ भट्टराईले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए ।

‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललितानिवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, उनले भने ।

१०० केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको भट्टराईले बताए ।

पत्रकारको प्रश्नमा नेता भट्टराईले लुम्बिनी विकास कोषमा चरम विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गर्नु ठीक नभएको बताए ।

दलका मुख्य नेताले नियुक्ति हुने व्यक्ति छान्ने विधि समेत ठीक नहुँदा लामा जस्ता विवादित व्यक्ति लुम्बिनी विकास कोषमा नियुक्त हुन पुगेको उनले बताए ।

नेपालमा अहिले पनि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको दोहोर्‍याउँदै भट्टराईले विगतमा आफूले हतारिएर अरुको चिह्न लिएर चुनावमा जानु र सबै मुद्दा नमिल्दै पार्टी एकीकरण गरेर गल्ती गरेको स्वीकारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?