+
+

अण्डा : झटपट तयार, अनेक स्वाद

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० साउन २६ गते १६:३६

काठमाडौं । बच्चाका लागि हतारहतार खाजा नास्ता बनाउनुपर्‍यो के गर्ने ? कोही आगन्तुकलाई केही छिटोमीठो केही खुवाउनुपर्‍यो के गर्ने ? तरकारी पकाउन फुर्सद भएन के गर्ने ?

यी सबैको एकमुष्ठ समाधान हो, अण्डा ।

न मरमसला तयार गर्नुपर्ने झन्झट, न पकाउन लागि समय नै लाग्ने ? झटपट तयार हुने स्वादिलो परिकार हो अण्डा । त्यसो त धेरैजसोलाई अण्डाको स्वाद मनपर्छ । कतिपय मासु नखानेले समेत अण्डा खाने गर्छन् । यसको खास कारण के हो भने अण्डालाई अनेकथरी स्वादमा तयार गर्न सकिन्छ । चाहे उसिनेर होस् वा फ्राइ गरेर, यसमा तपाईंले आफ्नो रुचिअनुसारको स्वाद लिन सक्नुहुनेछ ।

अर्कोतिर शरीरलाई जरुरी प्रोटिनको राम्रो स्रोत पनि हो यो । पोषणविद् सञ्जय महर्जनका अनुसार अण्डामा पाइने अमिनो एसिड निकै लाभदायक मानिन्छ । त्यसबाहेक यसमा भिटामिन बी, बी-१२, आइरन आदि पर्याप्त मात्रामा पाइन्छ । अण्डा कसरी तयार गर्ने ? तपाईंको पाककलामा भर पर्छ । किनभने यसलाई तपाईंले जति पनि स्वादमा तयार गर्न सक्नुहुन्छ ।

अण्डाका अनेकथरी स्वाद

उसिनेर : अक्सर खाना पकाउनमा जाँगर नचलाउने मान्छेहरु ठट्यौली गर्छन्, ‘मलाई अरु कुरा पकाउन त आउँदैन । तर उसिनेको अण्डा पकाउन आउँछ ।’ हुन पनि उसिनेको अण्डा आफैमा तयारी परिकार हो, जसलाई अरु केही नगरे पनि हुन्छ ।

खासगरी बिहानको नास्तामा धेरैले उसिनेको अण्डा समावेश गर्छन् । धेरै शारीरिक श्रम गर्ने, जिम धाउने आदिलाई त अण्डा अनिवार्य जस्तै हुन्छ ।

अमलेट : अन्डाको अमलेट त सर्वप्रिय परिकार नै भयो । यसमा तपाईंले आफ्नो स्वादअनुसार प्याज, खुर्सानी, हरियो धनियाँ, हरियो प्याज, गोलभेडा आदि मिसाउन सक्नुहुन्छ । अदुवा लसुनको पेस्ट मिसाएरसमेत अमलेट बनाउन सकयो । अमलेट नास्ताको रुपमा वा खानाको साथमा खान सकिने सजिलो परिकार हो ।

अण्डाकरी : धेरैको भान्सामा पाक्ने परिकार हो, अण्डाकरी । उसिनेको अण्डालाई ग्रेभी वा सुपमा तयार गर्न सकिन्छ । अदुवा लसुनको पेस्ट, धनियाँको धुलो, खुर्सानी, प्याज आदि मिसाएर तयार गरिएको अण्डाकरी खासगरी खाना, रोटीसँग खान सकिन्छ । अण्डाकरी विशेषत आलुसँग मिसाएर पकाउने चलन छ ।

अण्डा भुजिया : चिउरा वा भुटेको भातसँग खानका लागि अण्डा भुजिया राम्रो विकल्प हो । अण्डालाई टुक्राटुक्रा गरेर तयार गरिने भुजिया खासगरी स्न्याक्सको रुपमा खाने गरिएको छ । यसमा आफ्नो स्वादअनुसार मरिचको धुलो, धनियाँको धुलो मिसाउन सकिन्छ । साथै प्याज, गोलभेंडा, हरियो धनिया आदि मिसाएर पनि अण्डा भुजिया तयार गर्न सकिन्छ ।

अण्डाको पकौडा : उसिनेको अण्डालाई बेसनको लेपमा मिसाएर अण्डा पकौडा तयार गर्न सकिन्छ । खानासँग वा स्न्याक्सको रुपमा पनि अण्डाको पकौडा खान सकिन्छ ।

अण्डा ब्रेड : खासगरी बालबच्चालाई खाजा नास्ता बनाइदिनु परेमा अण्डा ब्रेड राम्रो विकल्प हुन सक्छ । बजारमा उपलब्ध ब्रेडमा अण्डाको लेप लगाएर यस्तो परिकार सजिलै तयार गर्न सकिन्छ । साथै फर्सीको फूल, जरिङ्गोको पात आदिमा अण्डाको लेपन लगाएर यो परिकार तयार गर्न सकिन्छ ।

एग रोल : धेरैले रुचाउने र सजिलै बनाउन सकिने परिकार हो, एग रोल । आटा वा मैदाको पातलो रोटीमा अमलेट राखेर यस्तो परिकार बनाउन सकिन्छ ।

कसले खानु हुँदैन ?       

अण्डा धेरैले मन पराउने परिकार भएपनि यो सबैका लागि खानयोग्य नहुन सक्छ । खासगरी मिगौलाका रोगीले अण्डाको पहेंलो भाग खान नहुने चिकित्सकहरु बताउँछन् । त्यसैगरी उच्च कोलेस्टोरोल, मधुमेह र मुटुसम्बन्धी समस्या भएकाहरुले अण्डा नखाएकै राम्रो हुने बताइन्छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?