+
+

नेपालको महिला क्रिकेट टिमले थाइल्याण्डसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १९:४५

२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले थाइल्याण्डसँग टी-२० खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले अगष्ट २८ मा थाइल्याण्डसँग खेल्ने जनाएको छ ।

नेपाल र थाइल्याण्डबीचको खेल मलेसियाको रोएल रेलांगरटर्फ क्लबमा हुनेछ ।

एसोसिएट राष्ट्रहरुमध्ये बलियो टिमको रुपमा रहेको थाइल्याण्ड विरुद्धको खेलले नेपाली टोलीलाई एसिया क्वालिफायरमा सहयोग पुग्ने क्यानको विश्वास छ ।

हाल नेपाली महिला क्रिकेट टोली एसिया क्वालिफायर र टी-२० सिरिजका लागि तयारी गरिरहेको छ ।

महिला टी-२० विश्वकप एसिया छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै आयोजना हुँदैछ ।

नेपालले थाइल्याण्डसँग खेल्नुअघि मलेसियामा चार राष्ट्र सम्मिलित टी-२० सिरिज पनि खेल्नेछ । अगष्ट २२ देखि २६ सम्म बायुमास ओभलमा हुने सिरिजमा नेपाल र मलेसियासहित हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

चारै टिम टी-२० विश्वकप एसिया क्वालिफायर खेल्दैछन् ।

एसिया क्वालिफायरमा समूह ए मा रहेको नेपालले मलेसियासँग अगष्ट ३१ मा पहिलो खेल खेल्नेछ । नेपाल रहेको समूहमा मलेसियासहित युएई, कतार, भुटान र बहारइन पनि छन् ।

समूह बी मा थाइल्याण्ड, हङकङ, चीन, कुवेत र म्यानमार छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

एसिया छनोटका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?