+
+

कांग्रेस बैठकमा पनि उठ्यो उच्चस्तरीय छानबिन समितिको माग

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन २८ गते २०:४६

२८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर संसद अवरुद्ध गरिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि यो माग उठेको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र प्रदीप पौडेलले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको जस्तै धारणा राखेका हुन् ।

नेता डा. कोइरालाले एमालेले उच्चस्तरीय समिति किन माग गरिरहेको छ भन्नेबारे कांग्रेसले पनि सोच्नुपर्ने बताए । ‘एमालेले किन उच्चस्तरीय समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले’ शेखरले भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’

उनले भारतमा वर्षमा १४०० टन सुन खपत हुने गरेको तर ९०० टन मात्र वैधानिक प्रक्रियाबाट आयात हुने गरेको बताए । ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी छ’ शेखरले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रहेका नवराज ढुङ्गानालाई राजश्व अनुुसन्धान विभागको प्रमुख बनाएकोप्रति पनि उनले आशंका गरे । प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै कोइरालाले भने, ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ?नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सुन तस्करी प्रकरणसहित हाल चर्चामा रहेका अन्य घटनाहरुको छानबिनका लागि पनि उच्चस्तरीय समिति बन्नुपर्ने बताए ।

‘कांग्रेसको संसदीय दलको बैठकले आजसम्मका जतिपनि चर्चित घटनाहरु छन्, ती सबै घटनाहरुको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ । यदि त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने यो सरकारप्रतिको समर्थन हामीले फिर्ता लिनुपर्छ’ पौडेलले भने । उनले सरकारले उच्चस्तरीय समिति गठन गर्न उत्साह नदेखाउनु पनि शंकास्पद भएको बताए ।

‘यो सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन नमिलाइकन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन । एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन’ नेता पौडेलले भने ।

पौडेलले अगाडि भने, ‘राजनीतिक नेतृत्वको संलग्नता छ, छैन योभन्दा अगाडि भन्न सकिदैनथ्यो । तर अब छानविनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ । आज तिनहप्ता भइसक्यो । भरिया मात्रै समातेको छ । भारी बोकाउनेलाई किन समातिएन आजसम्म ?’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएको करिब एक क्विन्टल सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सो प्रकरणमा १८ जना पक्राउ परेका छन् र हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भन्दै उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ ।

कांग्रेस संसदीय दलको बैठकमा शुक्रबारदेखि आइतबारसम्म ५० जनाले आफ्नो विचार व्यक्त गरेका छन् । धेरैले सरकारप्रति असन्तुष्टि र गुनासो राखेका छन्, मन्त्रीबाहेक अरुले सरकारको पक्षमा धारणा राखेका छैनन् ।

सुनिल शर्मा पक्राउको विरोध

नेता शेखर कोइरालाले मोरङ–३ का सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्र छानबिनको आरोपमा पक्राउ गरेकामा विरोध गरे । उनले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । कोइरालाले सरकारले प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको बताए ।

सांसद शर्माले उत्तर कोरियाको कम्युनिष्ट शासनको शैलीमा आफूलाई पक्राउ गरिएको बताए । उनले आफूलाई पक्राउ गर्नु न्यायिक वा गैर न्यायिक के हो भनी संसदीय दलको बैठकले निर्णय गर्नुपर्ने माग राखे ।

सांसद शर्माले सभापति र प्रमुख सचेतकले आफूलाई संसदमा बोल्न नदिएको आरोप लषए । ‘पञ्चायतजस्तो बोल्न दिनुभएन भने म विद्रोह गर्छु । सभामुखसँग समय माग्छु’ उनले भने ।

अर्थमन्त्रीको चुनौती

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती दिए । ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ,’ उनले भने । उनले आफूलाई लठ्ठु र बेकामे भनिएको भन्दै आक्रोशसमेत पोखे ।

नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने, यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्र्याक रेकर्ड र संस्कार दुबै नभएको उनले बताए ।

यदि पार्टीका कुनै साथीलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न सक्ने समेत उनले बताए । ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरुलाई शंका लाग्छ भने भन्नुस्’ डा. महतले भने, ‘यो (बाहिर बोल्दै हिड्नु) ठीक हो ? पार्टीमा अनुशासन छैन ?  त्यसको आधार हुनु पर्दैन ?’

डा. महतले शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन्’ उनले भने ।

सांसद रामहरि खतिवडाले सरकार कांग्रेसप्रति पूर्वाग्रही देखिएको बताए । भेपमा राखेर सुन तस्करीमा संलग्नको आरोप लागेका चिनियाँ नागरिकसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको देखिँदा पनि छानबिन नगरिएकामा उनले आशंका गरे ।

‘उनीहरुलाई नछुने हाम्रा सांसदलाई सिधै थुन्ने काम गरेर छोरी कुटेर बुहारीलाई तर्साए जस्तो सरकारले ग¥यो’, खतिवडाले भने ।

कांग्रेस सांसद सुनिल शर्माले एमाले अध्यक्षको गुणगान गाएको प्रति खतिवडाले आपत्ति जनाए । ‘हाम्रो सांसदले अन्य पार्टीको नेतालाई जयजयकार गरेको अलि बढी भयो,’ खतिवडाले असन्तुष्टि व्यक्त गरे । ल्हारक्याल लामालाई नियुक्त गर्दा अपजस कांग्रेसले भोग्नुपरेको उनले सुनाए ।

सांसद प्रतिमा गौतमले कांग्रेस माओवादीको पिछलग्गुजस्तो देखिएको टिप्पणी गरिन् । ‘कांग्रेस माओवादीको पिछलग्गु बन्यो । कांग्रेसबबाट मन्त्री भएकालाई मात्रै सरकारमा भएको आभास छ’, उनले भनिन्, ‘कार्यकर्ताहरु पार्टी सरकारमा भएको अनुभूति छैन ।’

ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषमा नियुक्त गर्दा कांग्रेसको शीर निहुरिएको उनले बताइन् । सांसद राजेन्द्र बजगाईंले पार्टीभित्र सहिष्णुता नभएको टिप्पणी गरे । ‘कांग्रेसमा हार्मोनी छैन, एकता छैन । एकले अर्कालाई कसरी सक्ने चिन्ता छ’, बजगाईंले भने ।

नेता विमलेन्द्र निधिले मधेसमा पानीको समस्या उठान गरे । उनले भने, ‘मधेश प्रदेशमा खानेपानी र सिँचाइको समस्या छ । यसको दीर्घकालीन समाधान गर्नुपर्छ ।’ जग्गा कित्ताकाटका लागि कानुनी अवरोध भए हटाएर खुला गर्नुपर्ने निधिले बताए ।

केन्द्रीय सदस्य नरहेका सांसद चन्द्र भण्डारीले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे । ‘बैठक लाइभ गरेको मलाइ चित्तबुझ्दो लागेन । यो राम्रो भएन, एक अर्काको कमिकमजोरी अरु पार्टीलाई देखाएर कतै फाइदा भएन ।’ वादविवाद, संवाद, छलफल गर्ने कांग्रेसको संस्कृति भएको उनले बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठकमा सरकार परिवर्तनको विषय नउठेको प्रतिक्रिया दिए । ‘सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन’, लेखकले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?