+
+

पहिराको जोखिममा धादिङको रिगाउँ, विद्यालय बन्द

रासस रासस
२०८० साउन २९ गते १४:३८

२९ साउन, धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

बस्तीमाथि रहेका बारीका गरा भासिन थालेका र जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए । भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सिधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ ।

वृद्धवृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिनाका साथै अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लान थालिएको छ । अहिले त्यहाँका बासिन्दाले घरायसी सरसामान र बस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको रिगाउँ माविका प्रधानाध्यापक सिटौलाले जानकारी दिए ।

केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् भने केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन् । गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ । करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ । आसपासका करिब ६० घर पनि जोखिममा रहेको गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए ।

कुनै पनि बेला पहिरो झर्नसक्ने जोखिम उच्च भएपछि उक्त विद्यालयको पठनपाठन बन्द गरिएको छ । स्कुलको दुई वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिममा परेको छ । कादुरी भन्ने संस्थाले दुई वर्षअघि निर्माण गरिदिएको खानेपानीको ट्याङकी पनि बगाउन सक्ने सम्भाबना बढेको छ ।

हिजोदेखि लगातार पानी परिरहेको र बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए । सरोकारवाला सबैले गएर गएर हेर्दा थप जोखिम हुने सक्ने भएकाले बस्ती खाली गराइएको हो ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५४ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा प्राय तामाङ समुदायको बसोबास छ । बर्खा लागेपछि यहाँ सवारीसाधन चल्दैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?