+
+

कोशीमा सभामुख पद फालाफाल !

हरि अधिकारी हरि अधिकारी
२०८० साउन ३१ गते २०:४५

३१ साउन, विराटनगर । नयाँ सरकार टिकाउन र भत्काउन एक सांसद निर्णायक रहेको कोशी प्रदेशमा सभामुख पद फालाफाल भएको छ ।

उद्धव थापालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न बहुमत पुर्‍याउनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि हाल कोशी प्रदेशसभामा सभामुख पद रिक्त छ ।

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । बहुमतका लागि आवश्यक संख्या ठिक्क मात्रै भएका कारण सत्ता गठबन्धनले फेरि सभामुख पद लिन चाहेको छैन । उसले सभामुख लिएको अवस्थामा बहुमतका लागि चाहिने संख्या भन्दा एक सिट कम हुनपुग्छ ।

त्यस्तै प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा पनि सभामुख लिन तयार छैनन् । उनीहरुलाई थाहा छ अहिले सभामुख लिनु भनेको सत्ता गठबन्धनलाई बहुमत सुरक्षित गर्न सघाउ पुर्‍याउनु हो ।

अर्कोतर्फ सभामुख नलिएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसकेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छ । यसरी सत्तापक्ष र प्रतिपक्ष दुवैले लिन नचाहेका कारण सभामुख पद फालाफाल भएको हो ।

सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला मन्त्री बनेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम ।

यो परिस्थितिलाई नजिकबाट हेरिरहेका राजनीतिक विश्लेषक मणि दाहाल भन्छन्, ‘समस्या सत्ताको हो, मुख्यमन्त्री कार्यालयमा कसले, कति पटक फोटो टाँस्ने भन्ने होडबाजी हो ।’ विश्लेषक दाहालका विचारमा अहिलेको अवस्था टार्ने जिम्मेवारी ठूला दलकै हो । ठूला दलहरु नमिल्दा प्रदेशमा अस्थिरता देखिएको उनले बताए ।

‘सभामुखलाई राजीनामा गराएर गठबन्धनले मन्त्री बनाइसक्यो, १ गतेबाट सदन छ । त्यसदिन उपसभामुखले चलाउलान्, विश्वासको मत लिने दिन उपसभामुखलाई उसको दलले राजीनामा गराउने सम्भावना देखिन्छ’ दाहालले भने, ‘त्यसपछि ज्येष्ठ सदस्यको पालो आउँछ, ज्येष्ठ सदस्यलाई गठबन्धनले मन्त्री बनाइसक्यो । अब क्रमशः अरु ज्येष्ठ सदस्य सांसदहरु जो विपक्षी दलसँग आवद्ध छन् उनीहरुलाई पनि अनुपस्थित गराउने खेल भइरहेको छ । यो अवस्थाले फेरि पनि विश्वासको मत नपाएर अर्काे उपधारा आकर्षित हुने स्थिति छ ।’

कोशीमा हाल उपसभामुख नेकपा एमालेकी सिर्जना दनुवार छिन् । प्रदेशसभामा सभामुख र उपसभामुख दुवै नभएमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । ज्येष्ठ सदस्य गयानन्द मण्डल बुधबार नै राज्यमन्त्री नियुक्त भएका छन् । उनीपछि एमालेका रोहितबहादुर कार्की ज्येष्ठ सदस्य छन् ।

गठबन्धन सरकार टिकाउन सभामुख पद लिइदिन सत्तापक्षले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आग्रह गरेको थियो । तर राप्रपा सभामुख पद लिन तयार भएन । ‘हामीले राप्रपालाई सभामुख लिन प्रस्ताव गरेको हो, तर उहाँहरु मान्नुभएको छैन’, नेपाली कांग्रेसका एक सांसदले भने ।

‘उहाँहरुले लिइदिनुहोस् भनेर प्रस्ताव गरेको अवस्था छैन, त्यसमा उहाँहरुको रणनीतिक कुरा छन्’, राप्रपा नेता भक्तिप्रसाद सिटौला भन्छन्, ‘आज सभामुखको गरिमालाई उहाँहरुले किस्तीमा हालेर बजारमा बिक्रीमा राख्नुभएको छ ।’

राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख दिने भन्दै बाहिरी हल्ला सुने पनि पार्टीलाई औपचारिक प्रस्ताव नआएको बताए ।

९३ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनसँग ४७ मत मात्रै छ । जुन कठिन बहुमत हो । प्रदेश सभाको बैठक भदौ १ गतेबाट सुरु हुँदैछ । सभामुखले राजीनामा दिएका कारण अबको बैठक उपसभामुख सिर्जना दनुवारले चलाउनेछिन् ।

उनी अनुपस्थित भएको खण्डमा सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभा सञ्चालन गर्न बनाइएको अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्नेछ । अध्यक्ष मण्डलमा राप्रपाबाट अम्बरबहादुर विष्ट, एमालेबाट मालती सुब्बा, कांग्रेसबाट इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना सदस्य छन् ।

एमाले र राप्रपाबाट अध्यक्ष मण्डलमा बसेका सांसद बैठक सञ्चालनको जिम्मेवारी लिन चाहँदैनन् । सत्ता पक्षका सांसदले बैठक सञ्चालनको जिम्मेवारी लिए मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउँदैनन् ।

भदौ १ गतेबाट सुरु हुने बैठकले पहिले बजेट अध्यादेश टुङ्गो लगाउनेछ । बजेट अध्यादेश टुङ्गो लगाएर उपयुक्त समयमा विश्वासको मत लिने मुख्यमन्त्री उद्धव थापाले बताए । तर बजेट अध्यादेश पास गरेपछि उपसभामुख सिर्जना दनुवार विदामा बस्ने तयारी रहेको एमाले स्रोतको भनाइ छ ।

‘विश्वासको मत लिन दुई दिनअघि सदनलाई जानकारी दिनुपर्छ’ एमाले स्रोतले भन्यो, ‘जानकारी दिएपछि उपसभामुख विदामा बस्नुहुन्छ, परिस्थिति आयो भने राजीनामा पनि दिनुहुन्छ ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइने बैठक उपसभामुखले नै चलाउने बताउँछन् । रिक्त रहेको सभामुख प्रतिपक्षलाई दिने विषयमा अनौपचारिक छलफल भएको उनले बताए । औपचारिक छलफलको तयारी भइरहेको उनको भनाइ छ ।

सभामुखको पहिलो हकदार माओवादी केन्द्र रहेको बताउँदै उनले अन्य दललाई दिने विषयमा पनि छलफल गर्ने गठबन्धन दलले निर्णय गरेको बताए । ‘हामीले छलफल गर्दैछौं, तर उहाँहरुलाई (प्रतिपक्षीलाई) औपचारिक प्रस्ताव राखेका छैनौं’ उनले भने, ‘सबै विषयमा छलफल गर्न हामी खुला छौं ।’

नेपाली कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राई प्रतिपक्षी दललाई सभामुख दिनका लागि गठबन्धन तयार रहेको बताउँछन् ।गठबन्धनसँग सरकार रहेका कारण प्रतिपक्षलाई सभामुख लिन आग्रह गरेको उनले बताए ।

‘राप्रपालाई हामीले सरकारमा आउन प्रस्ताव नै गरेका छौं, तर अहिले त्यो कुरा अगाडि बढेको छैन’ उनले भने, ‘हामीले सरकार चलाइसके पश्चात सभामुख चाहिं नेकपा एमाले र राप्रपा कसले लिने भन्नेमा छलफल गर्छाैं ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।

सभामुख पद बिक्रीमा राखियो : सिटौला

राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौला सत्तारुढ गठबन्धनबाट सभामुख लिनका लागि औपचारिक प्रस्ताव नआएको बताउँछन् । राप्रपालाई सभामुख दिने बारेमा बाहिरी हल्ला मात्रै सुनेको उनले बताए ।

‘उहाँहरुले लिइदिनुहोस् भनेर प्रस्ताव गरेको अवस्था छैन, त्यसमा उहाँहरुको रणनीतिक कुरा छन्’ उनले भने, ‘आज सभामुखको गरिमालाई उहाँहरुले किस्तीमा हालेर बजारमा बिक्रीमा राख्नुभएको छ ।’ सत्ता लिप्साका लागि सत्तारुढ गठबन्धनले सभामुखको गरिमा घटाएको उनले बताए ।

‘जसलाई सबैले सम्मान गर्छन् त्यो (सभामुख पदको) गरिमालाई, महत्वलाई घटाउनुभएको छ’ उनले भने, ‘अहिले बजारु बिक्रीको माल जस्तो भएको छ सभामुख पद ।’ सत्ता गठबन्धनले सभामुख पद लिनका लागि प्रस्ताव गरे छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए ।

‘पहिला उहाँहरुको प्रस्ताव आओस्, उहाँहरुको नियत त हामीले बुझेकै छौं’ राप्रपा नेता सिटौलाले भने, ‘उहाँहरुले प्रस्ताव गर्नुभयो भने हामी मूल्याङ्कन गर्छौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?