+
+

उड्डयन प्राधिकरण नेतृत्व र थापाबीचको लडाइँमा बल्झिरहन्छ अन्नपूर्ण टावरको मुद्दा !

अच्युत पुरी      अच्युत पुरी     
२०८० साउन ३२ गते २०:१८

३२ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सुरक्षा विभागका उपनिर्देशक श्रीहरी भट्टको संयोजकत्वमा विमानस्थलबाट तीन किलोमिटर आसपासका संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ ।

४ सदस्यीय अध्ययन समितिलाई ५४ वटा विमानस्थलमध्ये ३४ वटा विमानस्थलको ३ किलोमिटर आसपास निर्माण भएका सबै व्यक्तिगत तथा संस्थागत संरचनाबाट विमानस्थलमा हुने उडान अवतरणमा पर्न सक्ने असरबारे अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसमध्ये पनि अन्नपूर्ण कर्पोरेट टावर र भाटभटेनी सुपरमार्केट संरचनाबारे भने तोकेरै अध्ययन गर्न भनिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल वरपर रहेका अग्ला संरचनाले कम उचाइमा उड्ने जहाज र हेलिकप्टरको उडान सुरक्षामा असर पर्छ । सोहीकारण यी संरचनाबारे अब अध्ययन गर्न थालिएको उनको भनाइ छ ।

प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ र नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ लाई उद्घृत गर्दै यस्तो बेला अध्ययन गरिएको छ, जतिबेला प्राधिकरणको नेतृत्व र वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाबीचको विवाद सतहमा आएको छ । प्राधिकरणले लिएका केही निर्णयको थापाले आलोचना गरिरहेका छन् ।

उनको यो अभियानमा केही पूर्वमहानिर्देशकहरुले साथ दिएको छनक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पाएका छन् । थापा अन्नपूर्ण टावरका पनि मालिक हुन् । सोहीकारण प्राधिकरणले हवाई र उडान सुरक्षा खल्बलाउने काममा किन लागेको भन्दै थापाविरुद्ध स्पष्टीकरणसमेत सोधेको बताएको छ ।

प्राधिकरणले अघिल्लो साता थापा नेतृत्वमा रहेको सिम्रिक एयरका चारवटै हेलिकप्टर ग्राउण्डेड गरेको थियो । प्राधिकरणलाई सिम्रिकले तिर्न बाँकी ५५ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न पटकपटक ताकेता गर्दा पनि नतिरेको र वित्तीय अडिटबाट कमजोर आर्थिक अवस्था देखिएको बताइएको भन्दै उडान रोकिएको थियो ।

तर, त्यसको केही दिनमै दिनमै सिम्रिकले प्राधिकरणको सबै बक्यौता चुक्ता गर्‍यो । त्यसपछि सिम्रिकले सार्वजनिक वक्तव्य जारी गर्दै भन्यो, ‘विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीलाई विभिन्न बाहनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने गरेको छ ।

यस व्यवसायमा आबद्ध व्यवसायीको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले प्राधिकरणले पटकपटक दुख दिँदै आएकोमा सोको विरुद्ध वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्षका हैसियतमा कम्पनीका अध्यक्षले आवाज उठाएको हुनाले निजलाई व्यक्तिगत रुपमै लक्षित गरी भ्रम सिर्जना गर्न खोजिएको नियति प्रष्ट देखिन्छ ।’

के हो अन्नपूर्ण टावरको मुद्दा ?

अन्नपूर्ण टावरका सम्बन्धमा निकै लामो समयदेखि विवाद छ । विमानस्थल नजिक यत्तिको उचाइको टावरका कारण उडान सुरक्षामा असर पुग्ने गुनासो पाइलटहरुले यसअघि पनि गरेका थिए । एक वरिष्ठ पाइलट भन्छन्, ‘भवन र विमानस्थल निर्जीव वस्तु हुन्, व्यक्तिको लडाई हुँदा यो मुद्दा उठ्ने गरेको छ ।’

विमानस्थल नजिक अग्ला टावर निर्माणको समयदेखि नै नियमन नगर्दा अहिले नेतृत्वबीच लडाइँको बाहना मात्र भएको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास रहेका अग्ला भवनले उडान सुरक्षामा असर पुग्ने उजुरी परेसँगै २५ साउन २०७२ मा संसदीय समितिले विमानस्थल नजिकका ८ तले घर र अन्य संरचना हटाउन निर्देशन दिएका थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल नजिक निर्माण भएका अग्ला भौतिक संरचनाले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण, स्तरोन्नती र गुणस्तरीय सेवा प्रवाहमा असर पुगेको समितिको निष्कर्ष थियो ।

समितिले ३ महिनाभित्र निर्देशन पालना गरी कार्यान्वयन गर्न पर्यटन मन्त्रालय, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो । सो बेला अन्नपूर्ण टावरको विषय धेरै उठेको थियो ।

त्यसपछि व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले एक अध्ययन समिति बनायो । यो समितिले ९ भदौ २०७२ मा प्रतिवेदन बुझायो । यो समितिले समेत आईकाओ तथा नेपालको सिभिल एभिएसन स्टाण्र्डर्डलाई मिचेर उडान तथा अवतरण रुटमा बनाइएका अग्ला घर, रेडियो, एफएम एण्टेना, टेलिभिजन टावर, हाइट्रान्समिसन लाइनलगायत भौतिक संरचना नियन्त्रण गर्नुपर्ने बताएको थियो ।

काठमाडौंभित्र उडान सुरक्षामा असर गर्ने ऐन मिचेर बनाइएका अग्ला घरमा तत्काल बढी उचाइका तला घटाउन समेत सो समितिले सुझाव दिएको थियो । त्यसपछि उडान सुरक्षाका सन्दर्भमा मन्त्री तथा महानिर्देशकहरुले बेला बेला अन्नपूर्ण टावरको विषय उठाए पनि कारवाही अगाडि बढाउन भने सकेनन् ।

थापा र अधिकारीबीच विवादको चूरो के हो ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारी लामो समय प्राधिकरण माहतका राष्ट्रिय गौरवका आयोजनाहरुको नेतृत्व गरेर आएका इन्जिनियर हुन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष थापा पनि एभिएशन उद्योगका खेलाडी मानिन्छन् । महानिर्देशक अधिकारीमाथि पनि शक्तिको चलखेल गर्ने आरोप लाग्दै आएको छ ।

सोहीकारण अधिकारी र थापाबीच लामो समयदेखि शक्तिसंघर्ष चल्दै आएको प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् । ‘अहिले त सतहमा केही बाछिटा मात्र आएका हुन्, उनी भन्छन्, ‘यो शृङ्खला नागरिक उड्डयनको क्षेत्रमा को शक्तिशाली बन्ने नै लडाइँ हो ।’

२६ जेठमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिनाप्रतिस्पर्धा थापाको सिम्रिक एयरलाई काभ्रेको राउत गाउँमा हेलिपोर्ट बनाउन सैद्धान्तिक सहमति दिएका थिए । यो निर्णयलाई प्राधिकरणले कार्यान्वयन नगर्ने निर्णय गर्‍यो । त्यसपछि थापा र महानिर्देशक अधिकारी बीचको विवाद सतहमा देखियो ।

प्राधिकरणले ७ असार २०७९ बाट आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमति पत्रमा तोकिएको विमानस्थलमै सार्नुपर्ने सर्कुलर जारी गर्‍यो । त्यसको विरोधमा ७ असार २०७९ मा थापा नेतृत्वको वायुसेवा सञ्चालक संघले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

यसबाट सिम्रिक एयरका कम्तिमा २ वटा हेलिकप्टर नेपालगन्जमा रात्री विसान गर्नुपर्ने अवस्था आयो । त्यसपछि यी दुई नेतृत्वबीच लडाइँ सुरु भएको बताइन्छ । सो बेला बुद्ध एयर, यति एयरलाइन्स जस्ता ठूला वायुसेवा कम्पनीले साथ नदिएपछि आन्दोलन कमजोर बन्यो । त्यसपछि सुरु भएको तिक्तता अहिले व्यक्तिगत स्तरमै आइपुगेको हो ।

व्यक्तिगत इगोका कारण आफूले पछिल्ला कदम नचालेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘प्राधिकरण संस्था हो, संस्थाले समग्र हवाई उद्योगको हितमा काम गर्नुपर्छ ।

हवाई सुरक्षा र उडान सुरक्षा अभिवृद्धि मेरो प्राथमिककतामा पर्छ । सोहीकारण म कुनै अमुक कम्पनीलाई हेरेर निर्णय गर्दिन, मेरो जिम्मेवारीले यो गर्न पनि दिँदैन,’ उनको दाबी छ । यस विषयमा कुरा गर्न खोज्दा वायुसेवा सञ्चालक संघका अध्यक्षसमेत रहेका थापासँग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?