+
+
कृषा चौलागाईंसँग संवाद :

‘फिल्म निर्देशक पुरुष हुनुपर्छ भन्ने मनोविज्ञान रहेछ, हामी तोड्दैछौं’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १२:१४

काठमाडौं । राजनीति र समाजको कथावस्तुमा आधारित फिल्म ‘ऐंचो पैंचो’ भदौ १४ गते प्रदर्शनको तयारीमा छ । यसअघि पाँच फिल्म निर्माण गरेकी कृषा चौलागाईंले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेकी छन् । पछिल्लो समय नेपालमा महिला फिल्ममेकरको संख्यामा उल्लेख्यरुपमा बढ्न थालेको छ ।

यही सन्दर्भमा चौंलागाईंले फिल्ममार्फत परिवार र समाजको अन्तरद्वन्द्वलाई राजनीति लेपन दिंदै कथा भन्ने प्रयास गरेकी छन् । नेपाली फिल्ममा पुरुषवादी सोच हाबी रहेको अनुभव बाँड्दै उनले अब यो तोडिनु जरुरी रहेको बताइन् । प्रस्तुत छ, अनलाइनखबरसँग उनको संक्षिप्त संवाद :

ऐंचोपैंचो’ फिल्मको कथावस्तु र अवधारणाबारे बताइदिनुस न ।

यो फिल्म बनाउँदा राजनीतिक परिवेश भिन्न थियो । नयाँ पुस्ताको छटपटीको सन्दर्भमा हामीले कथा लेखेका थियौं । संयोगवश राजनीतिक सेटअप पनि त्यस्तै भइदियो । ऐंचोपैंचो भनेको यस्तो कुरा हो कि हरेकको जीवनसँग जोडिन्छ । हरेकको जीवनमा माया र आर्थिक स्थितिको लेनदेन हुन्छ । यसको कथावस्तु यही नै हो । राजनीतिले समाज र परिवारमा कसरी असर पारेको छ भन्ने असरको कथा फिल्म हो । किनभने यो वृहत विषय हो । राजनीतिको लेयरभित्र हामीले दुई घण्टाको फिल्मबाट न्याय गर्न सक्छौं जस्तो लाग्दैन । फिल्ममा मल्टिलेयर छ । सबै पात्रसँग नभए पनि धेरै पात्रले कथावस्तुसँग जोडिएको महसुस गर्न सक्नुहुन्छ ।

ऐंचो पैंचो’ फिल्मबाट तपाईंले भन्न खोजेको कुरा के हो ?

सामान्यरुपमा भन्दा केही चीज परिवर्तन भएन भने हामी परिवर्तन होऔं न त । कुनै सेटअप चेन्ज भएको छैन भने हामीले त्यसलाई गाली गरेर बसिराख्या हुन्छौं । किन हामी नहुने ? यो फिल्मबाट मैले भन्न खोजेको कुरा यही नै हो ।

फिल्मको अवधारणाको विकास कसरी भयो ?

लकडाउनको समयमा फुर्सदमा थियौं । छिमेकी पनि के गर्थे भन्ने थाहा हुन्नथ्यो । त्यतिबेला साँच्चिकै देशलाई राजनीतिले असर पारेको छ र युवापुस्ता देश छाड्न लालयित छन् भन्ने कुराले मनमा छोएको थियो । म व्यावसायिक फिल्ममेकर हुँ र यसलाई कमर्सियल रङ दिनुपर्छ भन्ने महसुस गरेर यो कथावस्तुमा फिल्म बनाएकी हुँ ।

पछिल्लो समय नेपालमा राजनीतिक सन्दर्भमा धेरै फिल्म बनिरहेका छन् । तपाईंले राजनीतिक कथावस्तु किन रोज्नुभयो ?

एउटा राम्रो फिल्म बनाउँदा सबै किसिमका विषयवस्तुलाई समावेश गर्नुपर्छ । देशका समसामयिक कथावस्तुमा फिल्म बनाउन मेकरलाई पक्कै पनि लोभ लाग्छ । प्रेमकथा भनेको कहिल्यै नसकिने कुरा हो, फिल्ममा प्रेम पनि भइराखेको हुन्छ । राजनीतिक स्पर्श पनि फिल्ममा भएकै हुन्छ । यसकारण दर्शकलाई राजनीतिक कन्टेन्ट लाग्न सक्छ । तर समसामयिक कथावस्तुमा फिल्म बनाउने रुचि सबैमा हुन्छ ।

राजनीतिक कथावस्तुका फिल्मप्रति दर्शकको मुड कस्तो पाउनुभएको छ अहिले ?

राजनीतिलाई लिएर अहिले मानिस निराश छन् । भोगाइ, हेराइ त्यही हुने भएकाले फ्रस्टेड भएको हुन सक्छ । राजनीतिक कथावस्तु मिसाएर फिल्म बनाउँदा दर्शकले इन्जोय गर्न सक्छन् । ‘छक्कापञ्जा ४’ ले राजनीतिक कथावस्तु उठाएर सफलता प्राप्त गरेको थियो । फिल्म बनाउँदा निर्माताले के कुरा ध्यानमा राख्नुपर्‍यो भने दर्शकलाई मीठो तरकारी बनाएर दिएजस्तै हो । कतिपयले उसिनेको रुचाउँछन्, कतिले नुन खाँदैनन्, कतिले नुन खोज्छन् भन्याजस्तै हो । मिश्रण चाहिं राम्रो हुनुपर्‍यो ।

निर्देशनमा आउनुको उद्देश्य के छ ?

म फिल्म क्षेत्रमा आउनुको उद्देश्य नै आफ्नो कथा भन्नु थियो । निर्मात्रीको रुपमा पोस्टमा काम गर्दा अझै निर्देशकको रुपमा रुचि जाग्यो । मेकिङमा लाग्दा भावनात्मक रुपमा फिल्मप्रति अट्याचमेन्ट हुँदो रहेछ । त्यसपछि छोटा फिल्म निर्देशनतिर लागें । यसले मलाई अवार्ड पनि दियो । क्रिटिक्सकै अवार्ड पाएपछि मैले फिचर फिल्ममा लाग्ने निधो गरें ।

फिल्म मेकिङमा पछिल्लो समय बढ्दो महिला सहभागितालाई लिएर सन्तुष्ट हुनुहुन्छ ?

निर्देशकको रुपमा मैले महसुस गरेको कुरा, निर्देशक पुरुष हुनुपर्छ भन्ने मनोविज्ञान हामीकहाँ रहेछ । मैले सट् लिइरहँदा, एक्सन–कट लिइरहँदा पब्लिक पनि ट्वाँ पर्ने रहेछन् । यो त केटी होइन भनेर सेटमा कतिले कुरा गरेको सुनें । मेरो प्रमुख निर्देशक सहायकलाई निर्देशक भनेको सुनें । कतिपय ठाउँमा मेरो क्यामेराम्यानलाई ठान्दा रहेछन् । केटीले कट् भनेर निर्देशक पनि कराइरहेका थिए । अहिलेको समयमा पनि हामी जेन्डरको कुरा गरिराख्या छौं । यो त क्यानभास हो, विचार हो । त्यसलाई चित्रण गर्ने माध्यम हो फिल्म । यसमा पनि मेल र फिमेल भनेर जेन्डरले काम गरिराख्या छ । निर्देशक भनेको एकदम मच्योर्ड हुनुपर्छ । पुरुष हुनुपर्छ भन्ने सोच रहेछ । निर्देशक भएर फेसनबेल किन हुनु, यस्तै कुराहरु आए ।

सुटिङ सेटमा पनि गाडी चलाउँदा केटी थियो ड्राइभर भन्ने गरिएको थियो । महिला निर्देशक अझै बढ्नुपर्छ । रुचि भएका मान्छे केटी हुँदैमा डराउनु हुँदैन । यो नचाहिने कुरा हो । यस्तो सोच तोडिन जरुरी छ । हामीले प्रयास गर्दैछौं ।

हामीले कस्ता कथाहरुमा अझै काम गर्नुपर्ने देख्नुहुन्छ ?

फिल्म मनोरञ्जनसँगै समाजलाई चित्रण गर्ने माध्यम हो । अघिल्लो पटक यति राम्रो कथावस्तु आएकी समाजका घटनालाई पनि व्यावसायिक फिल्म बनाउन सकिन्छ जस्तो लाग्यो । कहिले पब्लिकले थाहा नपाएका कुरा पनि देखिनुपर्‍यो, कहिले लार्जर द्यान लाइफ पनि हुनुपर्‍यो । सबैको भावनालाई समेट्ने खालका फिल्म बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?